site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन बन्दैछन् अष्ट्रेलियामा नेपाली विद्यार्थीहरू डिप्रेशनको सिकार !

सिड्नी, अष्ट्रेलिया । उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरूमध्ये बसाइँ, पढाइ र खर्चबारे पहिल्यै जानकार भएका कमै मात्र भेटिन्छन् ।  विदेश भन्नेबित्तिक्कै खुट्टा उचाली हाल्ने हाम्रो नयाँ पुस्ता, त्यसपछिका समस्या र चुनौतीबारे भने अनभिज्ञ देखिन्छन् ।

पढाइ खर्च, बसाइँ खर्च र कामका लागि जोहो अनि परिवारको आशा, सबैतिर ध्यान पुर्‍याउनुपर्छ ।  तर विदेश अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरू आर्थिक व्यवस्थापन गर्न नसक्दा समस्यामा पर्ने गर्छन् र डिप्रेशन अनि अनेकन मानसिक रोगको सिकार भएको पाइन्छ । 

त्यतिमात्र होइन, पछिल्ला वर्ष कम्तिमा पनि ६ जना नेपाली विद्यार्थीहरूले यस्तै समस्याका कारण आत्महत्याको बाटो रोजेको पीडादायक तथ्यांक पनि भेटिन्छन् । अष्ट्रेलिया भौतिक सम्पन्नता र आर्थिक विकासले नेपाली विद्यार्थीलाई आकर्षित गर्छ । 

त्यसैले त अष्ट्रेलियामा मात्र ७० हजारको हाराहारीमा नेपाली विद्यार्थी उच्च अध्ययनमा छन् । यतिखेरको नेपाली युवा पुस्ताको ‘ट्रेन्ड’ बनेको छ, अध्ययनका लागि विदेश जाने विषय ।

अभिभावकको चाहना विदेश जाओस्, भविष्य बनाओस् भन्ने छ । त्यही चाहनाका कारण विद्यार्थीका रूपमा विदेशिने क्रम निरन्तर छ । तर विदेशको वास्तविकता नेपालबाट देखिनेभन्दा बिल्कुल फरक र अलग छ ।

अष्ट्रेलिया अध्ययनका लागि आउने विद्यार्थीले आउनुअघि नै केही विषयमा स्पष्ट हुनु जरुरी हुन्छ ।  क्षेत्रफलका हिसाबले नेपालभन्दा ५४ गुणा ठूलो भए पनि त्यहाँको जनसंख्या नेपालको भन्दा कम छ । अष्ट्रेलियामा विश्वका करिब एक सय साठी मुलुकका मानिस बस्छन् ।

समग्रमा ज्ञान, सीप र व्यवसायिकताको अभिवृद्धिका लागि अष्ट्रेलिया उत्कृष्ट गन्तव्यका रूपमा चिनिन्छ । ठ्याक्कै उल्टो भए पनि जाडो र गर्मीका हिसाबले नेपाल र अष्ट्रेलियाका हावापानी केही हदसम्म मिल्ने गर्छ । नेपाली विद्यार्थीले आफ्नै देश पुगे जस्तो अनुभव गर्न सक्ने वातावरण अष्ट्रेलियामा छ । 

यहाँका सबै सहरहरूमा नेपाली भेटिन्छन् भने खानपिनमा पनि नेपालीपन जताततै पाइन्छ । अन्य देशको तुलनामा अष्ट्रेलियामा स्थापित हुन सजिलो छ । त्यहीकारण नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया उत्कृष्ट गन्तव्यका रूपमा पनि चिनिएको हो । 

अष्ट्रेलियाको आम्दानीको महत्वपूर्ण श्रोत पनि हो शैक्षिक उद्योग । १५.६ विलियन अष्ट्रेलियन डलर अन्तर्राष्ट्रिय शैक्षिक व्यापारबाट कमाउने गर्छ ।

अष्ट्रेलियामा कलेज अनुसार, शिक्षण शुल्क पनि फरक फरक हुन्छ ।  कलेजको ब्रान्ड, गुणस्तर जस्ता कुराले शुल्क फरक पर्न जान्छ ।  यहाँ साना कोठे डिप्लोमा कलेजदेखि विश्वविख्यात विश्वविद्यालय पनि छन् ।  अष्ट्रेलिया पढ्न १२ लाखदेखि ३५ लाखसम्म वार्षिक खर्च हुन्छ । 

हस्पिटालिटी, नर्सिङ, आईटी, इन्जिनियर, विजनेश, पब्लिक हेल्थ, प्रोजेक्ट म्यानेजमेन्टजस्ता विषय अष्ट्रेलियामा राम्रो मानिन्छ । नेपाली विद्यार्थीहरू विदेश जाने कुरा मात्र प्राथमिकतामा राख्छन् ।  त्यहाँ गएपछिको पढाई, बसाइँ र कामलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गम्भीर भएको पाइँदैन ।

त्यहाँ गएर कहाँ बस्ने, के गर्ने र पैसाको व्यवस्थापन कसरी गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ ।  छ महिना वा एक वर्षको शिक्षण शुल्क तिरेर आएका बाँकी समयको शुल्क कसरी तिर्ने भन्नेसम्मका विषयमा विद्यार्थी अनभिज्ञ पाइन्छन् । 

पढ्न गएका विद्यार्थी काम र दाम कमाउने विषयमा बढी केन्द्रित भएका कारण स्थापित हुन नसकेका कैयन उदाहरण छन् । 

पढाई छाडेर काम र दामका पछाडि हिँड्न थालेपछि कलेजको निष्कासन पर्छन् । त्यसले कैयन नेपाली विद्यार्थीहरू समस्यामा परेका देखिन्छन् । नेपालबाट आएका कम उमेरका युवाहरू हप्ताको हजार, १५ सय कमाउन थालेपछि पढाइभन्दा फेसनतिर ढल्किन पुग्दा समस्या निम्तिने गरेको यहाँ बसोबास गरिरहेका पुराना नेपाली व्यवसायी बताउँछन् ।

जुवा, ड्रिंक्स र ड्रग्सले पनि कैयन नेपाली युवाहरू अष्ट्रेलियामा समस्याग्रस्त भएको पाइन्छ । 

टोलैपिच्छे खोलिएका जुवाघर र खुला समाजले पनि कैयन विद्यार्थीहरूलाई नराम्ररी गिजोलेको छ । पारिवारिक वातावरणमा बसेका कैयन युवायुवती यहाँ आउनेबित्तिकै स्वतन्त्र र स्वच्छन्द रूपमा बहकिने हुँदा जुवा र रक्सीको लतमा नराम्ररी फसेका देखिन्छन् । 

त्यसले न उनीहरू उद्देश्य पूरा गर्न सक्छन् न त नेपाल नै फिर्न सक्छन् नै । अष्ट्रेलिया आउँदै गर्दा विद्यार्थीले यहाँको अवस्था र ब्यवस्था बुझेर दीर्घकालीन तयारी र योजना बनाएमा मात्र उनीहरू सफल हुने देखिन्छ । अभिभावकले पनि छोराछोरीले विदेश पठाउँदै गर्दा के गरिरहेको छ, कसरी बसेको छ र के काम गर्छ भन्ने विषयमा चनाखो हुन जरुरी देखिन्छ । 

एक सेमिस्टरको पैसा तिरेर पठाएको छोराछोरीलाई दोस्रो सेमेस्टरदेखि कसरी तिर्छन् वा कमाइ छ कि छैन भन्ने सोच अभिभावकले राख्नु जरुरी छ । विदेश जाने बित्तिकै डलर कमाउँछ र पठाउँछ भन्ने यहाँको अवस्था नबुझ्ने सोचका कारण पनि विद्यार्थीहरू डिप्रेशनमा गएको पाइन्छ ।

अन्य मुलुकको तुलनामा अष्ट्रेलियामा कम छात्रवृत्ति पाइन्छ ।  त्यसैले त्यहाँ अध्ययन गर्न आर्थिक रूपमा खर्चिलो हुन्छ र यसमा विद्यार्थी चनाखो हुनु जरुरी देखिन्छ । 

कुरोको चुरो भनेको तपाईँ अष्ट्रेलिया उच्च अध्ययनका लागि आउँदै हुनुहुन्छ भने यहाँको अवस्था र व्यवस्थाका बारेमा विस्तृत अध्ययनको जरुरी देखिन्छ । विदेशको रहर र पहेँलो डलरको सोचमा अष्ट्रेलियामा कैयन नेपाली विद्यार्थीहरू मानसिक रोगी बन्दैछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro