सुर्यनारायण एच पेलीस
अघाएका मान्छेहरू नै भोकाएपछि
भोकाएकाहरू त बोल्नै सकेनन्
बोल्न खोज्नेहरू चुप लागे
र, चुपचाप बसेकाहरू बोल्न चाहेनन्
चकमन्न रातको सन्नाटामा
झ्याउँकिरीहरू कराइरहे
असल बीजहरू
सायद पानी र हुरीले बढारे
नचाहेका वर्णशंकर बीजहरू
फस्टाउने कुरै भएन
अनि, भोकाएकाहरू यत्रतत्र लागे
अगेनामा आगो बलेन
बुढाबुढीहरू हरिओम भन्दै जागिरहे
सिरेटोले काँडा उमारिरह्यो
फुस्रो भीरमा खनिएको
पहरामुनिको सडक
लथ्रक्क सुतेको छ
रोगाएको बुढो बाघझैँ
छोडी जानेहरूको यादमा
रित्तिएको बैँस सम्झेर यसै लडेको छ
जो नबोली गए
तिनीहरूको भोक
उदांगो पहाडले चिच्याइरहेछ
कसले बुझिदेला कुन्नि
पशुपतिनाथबाहेक सायद
कोही जान्दैन
तर, अफसोस
पशुपतिनाथमै किचलो छ रे !
खै, अब त
आवाजबिनाको भोक
आफैँ मरिदिन्छ कि क्या हो ?
आत्मघात गरेर !
(म्याग्दे–६, तनहुँ)