site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गप्टिलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

काठमाडौं । ओपनर ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाएपछि नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्स्ले जनकपुर बोल्ट्सविरुद्ध १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रनको योगफल खडा गरेको हो ।


विराटनगरका ओपनर गप्टिलले ५५ रन बनाए । एनपीएलमा अर्धशतक बनाउने पहिलो ब्याटर बनेका गप्टिलले ४३ बलमा सात चौका र एक छक्का प्रहार गरे । अकिब इल्सासले १५ रन थपे । 

यसबाहेक विराटनगरका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विराटनगरको खातामा निकोलस किर्टोनले नौ, बसिर अहमेद, कप्तान सन्दीप लामिछाने र अनिल खरेलले समान सात रन बनाए । क्रिस सोलले चार र प्रतिश जिसीले दुई, राजेश पुलामी एक रनमै पभेलियन फर्किए । विराटनगरका जितेन्द्र मुखिया गोल्डेन डक भए ।

विराटनगरलाई सस्तैमा समेट्न जनकपुरका ललितनारायण राजवंशीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका ललितले २८ रन खर्चिए । किशोर महतो र हर्ष थाकेरले समान दुई विकेट लिए । मोहमद मोहसिन र बेन माइकको नाममा एक विकेट रह्यो ।

ललितले पहिलो विकेट लिएका थिए । उनले दोस्रो ओभरको पहिलो बलमा लोकेश बमलाई बोल्ड गरे । दोस्रो विकेट मोहसिनले लिए । उनले ८.२ ओभरमा अकिब इल्यासलाई एलबीडब्ल्यूको धरापमा पारे ।

जनकपुरले तेस्रो विकेट १२औँ ओभरको अन्तिम बलमा लिएको थियो । थाकेरले निकालेस किर्टोनलाई बोल्ड गरे । चौथो विकेट पनि थाकेरले नै लिए । उनले १४औँ ओभरको अन्तिम बलमा मार्टिन गप्टिललाई अनिल साहबाट क्याच गराए । 

विराटनगरले पाँचौँ विकेटका रूपमा राजेश पुलामीलाई १५.३ ओभरमा गुमाएको थियो । पुलामीलाई जनकपुरका लहिरु मिलान्थाले रनआउट गरे ।

छैटौँ विकेट ललितले लिए । ललितले प्रतिश जिसीलाई १६.१ ओभरमा बोल्ड गरे । सातौँ विकेट पनि ललितले नै लिए । ललितले सोही ओभरको तेस्रो बलमा बसिर अहमेदलाई अनिल साहबाट क्याच गराए ।

आठौँ विकेट विराटनगरले १७.३ ओभरमा गुमाएको थियो । विराटनगरका कप्तान सन्दीप लामिछानेलाई किशोर महतोले अरनिको यादवबाट क्याच गराए । सोही ओभरको चौथो बलमा किशोरले जितेन्द्र मुखियालाई बोल्ड गरे ।

विराटनगरले अन्तिम विकेट १९औँ ओभरको अन्तिम बलमा गुमाएको हो । विराटनगरका क्रिस सोललाई जनकपुरका बेन माइकले मोहमद मोहसिनबाट क्याच गराए । 

आजको खेलमा जनकपुर अनिल साह र विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro