site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिमा लागेको ५३ वर्षपछि निर्विरोध जिसस प्रमुख बनेका टेकराज

काठमाडौं । ओखलढुंगाको जिल्ला समन्वय समिति (जिसस) प्रमुखमा नेपाली कांग्रेसका नेता टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । मंसिर १६ गते हुने चुनावका लागि आइतबार उमेदवारी दर्ताको तालिका थियो । तर, ओखलढुंगा जिसस प्रमुखमा टेकराजको मात्र उमेदवारी पर्‍यो । नेकपा (एमाले)ले विज्ञप्ति नै निकालेर टेकराजलाई समर्थन गर्‍यो । अन्य पार्टीले उमेदवारी नदिएर मौन समर्थन गरे । निर्वाचनको १४ दिन अगावै टेकराज निर्विरोध भए ।

साझा पदका लागि जुटेको सर्वपक्षीय समर्थनले आफू अनुगृहीत रहेको बताए । “यो पद निर्वाचित भएकै क्षणदेखि साझा पद हो । आखिर सबैसँग समन्वयमै काम गर्नुपर्ने हुँदा सहकार्य आवश्यक हुन्छ,” टेकराजले बाह्रखरीसँग भने, “एमालेले विज्ञप्ति नै जारी गरेर समर्थन जनायो । अन्य पार्टीहरूले उमेदवारी नदिएर समर्थन जनाए । म खुसी त छु नै, उहाँहरूप्रति अनुगृहीत पनि छु ।”

Tekraj५-1731938340.jpg
२०२८ सालमा संस्कृति माविको युनियनमा सचिव भएर राजनीति सुरु गरेका टेकराज त्यसको २१ वर्षपछि ०४९ सालमा जिल्ला विकास समिति सदस्य निर्वाचित भएका थिए । त्यसपछिका ३२ वर्षपछि उनले पाएको यो पहिलो सार्वजनिक लाभको पद हो ।

“अब राजनीतिबाट लाभका पदमा जान पाउँदिनँ भनेर करिब माया मारेको अवस्था थियो,” टेकराज भन्छन्, “नसोचेको र अपेक्षा नगरेको जिम्मेवारी प्राप्त भयो । खुसी नहुने त कुरै भएन ।”

०७९ सालको स्थानीय तहको निर्वाचनपछि टेकराजका मित्र डिल्लिराज खनाल जिल्ला समन्वय समितिको प्रमुख थिए । मस्तिष्कको क्यान्सरबाट पीडित खनाल 'मृत्यु शय्या'बाट फर्किए । तर, कार्यकाल पूरा गर्न नभ्याउँदै डिल्लिराजको निधन भयो । करिब डेढ वर्ष रिक्त रहेको पद अब टेकराजले मंसिर १७ गतेदेखि कार्यभार सम्हाल्दै छन् ।

कांगेसभित्र एउटा पुरानो भनाइ छ– देशभरको राजनीति एक खालको हुन्छ । ओखलढुंगा र तनहुँ कांग्रेसको राजनीति अर्कै खालको ।

Tekraj4-1731938328.jpg
नेता धेरै भएर अस्वस्थ प्रतिस्पर्धा हुने भएकाले देशभर चलेका वैचारिक राजनीतिक लाइन र गुटहरूको प्रभाव यी जिल्लामा भिन्नै हुन्छ । तर, जब केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू पुग्छन्, केन्द्रमा उनीहरूका आआफ्ना गुट हुन्छन् ।

यस्तो प्रभाव रहेको ओखलढुंगामा उमेदवार चयन जहिले फलामे चिउरा चपाउनुसरह हुन्छ । संघीय संसद्का लागि ०७९ सालमा पनि उमेदवाहरू अन्य पार्टीले जिल्लामा उमेदवारी दर्ता सुरु गर्दासम्म बालुवाटारमै टिकट कुरिरहेका थिए । ढिला गरी उमेदवार चयन भएपछि प्रतिनिधिसभामा रामहरि खतिवडा र प्रदेशसभामा प्रदीपकुमार सुनुवार टिकट लिएर निर्वाचन अधिकृतलाई कुर्न आग्रह गर्दै जिल्ला पुगेका थिए । प्रदेशसभाको अर्को सिट भने कांग्रेसले गठबन्धनको दल माअ‍ोवादी केन्द्रलाई दिएको थियो ।

त्यस्तो खिचातनीको राजनीति हुने ओखलढुंगामा यसपटक टेकराज सर्वसम्मत उमेदवार बने । उनकै पालामा जुरेको कांग्रेसभित्रको संयोगलाई अन्य दलले पनि साथ दिएर टेकरलाई थप प्रफुल्लित बनाइदिए ।

Tekraj2-1731938328.jpg
टेकराजको विगत 

०२८ सालमा संस्कृत माविको युनियनमा साहित्य सचिव भएका टेकराज त्यसयता लगातार नेपाली कांग्रेससँग जोडिएर राजनीतिमा सक्रिय छन् । कक्षा ५ सम्म ओखलढुंगामा अध्ययन गरेपछि थप अध्ययनका लागि काठमाडौं आएका टेकराज संस्कृत माविमा भर्ना भए । त्यही अध्ययनका क्रममा उनी युनियनको राजनीतिमा जोडिए । युनियनको त्यही आबद्धता उनको जीवनको बाटो बन्यो । 

त्यसबेलाको प्रतिबन्धित कांग्रेससँग निकट गराउने आधार बनेको उनको आबद्धता भने ०३३ सालपछि कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट भयो । क्याम्पस पढ्न धरान गएका टेकराज पिण्डेश्वर संस्कृत क्याम्पसमा भर्ना भए । त्यही उनी नेपाल विद्यार्थी संघमा आबद्धमात्र भएनन्, नेता बनेर उदाए । त्यही क्रममा सुनसरी जिल्लाको सचिव भएर काम गरेका उनी ०३७ सालमा स्नातक सक्दैगर्दा सुनसरीबाटै केन्द्रीय प्रतिनिधि चुनिए ।

अहिलेका कांग्रेस नेता विमलेन्द्र निधिलाई अध्यक्ष बनाएर फर्किएपछि टेकराजले नेविसंघ राजनीतिमा त्यही पूर्णविराम लगाए ।

०३९ साल देखि ०४३ सालसम्म उनी शिक्षणमा सक्रिय भए । तर, उनले छाडेको नेविसंघको आबद्धताले उनलाई छोडेन । पञ्चायतका नजरमा उनी ‘अराष्ट्रिय तत्व’मै गनिए । पढाउने वातावरण नभएपछि उनी शिक्षण पेसालाई पनि बिट मारेर कांग्रेसकै राजनीतिमा होमिए । ०४५ सालदेखि उनी पूर्णरूपमा कांग्रेसको राजनीतिमा सक्रिय भए ।

Tekraj1-1731938329.jpg
 

बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका उनी पहिलोपटक ०४९ सालमा जिल्ला विकास समितिको सदस्य भए । उनी कुनै आयोग, समिति वा नियुक्तिमा परेन् । कांग्रेस निकट नेपाल किसासन संघको सभापति भएर जिल्लामा काम गरेका उनले निष्ठाको राजनीति गर्ने पात्रको पहिचान बनाएका छन् ।

जिल्ला समन्वय समिति प्रमुख भएपछि उनले सबैसँग समन्वय गरेर अगाडि बढ्ने बताए । “अहिले प्रप्त गर्दै गरेको यो पद अवसर र जिम्मेवारी दुवै हो,” उनले भने, “जीवनको उत्तरार्धमा पाएको यो जिम्मेवारीलाई सकेको न्याय गर्ने छु । सबै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूबाट समन्वयको अपेक्षा गर्दै सहकार्यका लागि आह्वान पनि गर्दछु ।”

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro