मोबाइल बज्यो । यताबाट सम्बोधन गएपछि उताबाट भनाइ आयो, ‘तपाईंलाई सम्मान गर्न चाहन्छौँ ।’
उसलाई आश्चर्य लाग्यो । उसले त्यस्तो सम्मान गर्न लायक गरेकै के छ र सम्मान गर्ने ? मुलुक यै हो ।
तैपनि, सज्जनतावश सोध्यो, कुरो सम्मानको पनि थियो, ‘केका लागि ?’ उसले सम्मानका लागि आग्रह गरिरहेको संस्था हो वा व्यक्ति त्यो पनि सोधेन । मन प्रसन्न भइसकेको थियो । जीवनमा एउटा सम्मान बल्लतल्ल पाइँदै थियो ।
‘हाम्रो संस्थाले धेरै अनुसन्धानपछि तपाईंलाई सम्मान गर्ने निर्णय लिएको हो ।’
‘म कृतज्ञ छु । तर, किन सम्मान गर्ने मजस्तो अकिञ्चनलाई ?’
उसले आफूलाई अकिञ्चन भनेर हास्यभाव उत्पन्न गर्न चाहेको थियो । तर, उताबट हाँसो आएन । गम्भीर स्वरमा भनियो, ‘त्यही त, तपाईंको विनम्रता देखेर त हाम्रो संस्था उत्साहित भएको हो यहाँलाई सम्मान गर्न । आफूलाई अकिञ्चन भन्नु नै तपाईंको सज्जनता हो ।’
‘यो सब त ठिक छ, तर किन सम्मान ?’ उसले आफूलाई झन् विनम्र पार्दै लयपूर्ण स्वरमा भन्यो, त्यताबाट विनम्र र सज्जन भन्ने विभूषण पाइएको छ ।
उताकाले समस्वरमा भन्यो, ‘तपाईंको आग्रह टार्न नसकेर भनिरहेछु । यो हामो टप सिक्रेट निर्णय हो । हाम्रो संस्थाको समितिले यी आधारमा तपाईंलाई सम्मान गर्ने निर्णय गरेको हो, सुन्नुहोस् र नोट गर्नोस्—
१. तपाईं सिधासोझो हुनुहुन्छ ।
उसले धेरै पसलेको उधारो र सहकर्मीहरूबाट लिएको सापटी तिर्न सकेको छैन । आजभोलि आजभोलि भनेर खुसामद गर्दै टार्दै आएको छ । एकदमसित ठाडो जवाफ दिन सकिरहेको छैन, म पैसा खाएर भाग्ने मानिस होइन भनेर ।
२. तपाईं मिष्टभाषी हुनुहुन्छ ।
उसलाई मिठो नबोली सुखै छैन, घरमा पनि र बाहिर पनि । कड्केर बोल्न उसलाई हिम्मत हुँदैन । उसलाई लाग्छ, अरू सबै ऊभन्दा बलिया छन् र सोर्सफोर्सवाला छन् । घरमा पत्नी र केटाकेटीले समेत हुर्मत लिन्छन्, मौकाको फाइदा उठाउन नसक्ने भनेर ।
मतलब—
३. तपाईंले अरूबाट अनुचित फाइदा लिनुभएको छैन, मतलब घुस खानुभएको छैन । अभ्रष्ट र इमानदार व्यक्ति हुनुहुन्छ ।
घुस खाने मालदार अड्डामा परेको छैन । नेताहरूको चाकरीमा जाँदा उसको नाम बोलाएर नेतालाई भेट गराउने बेलामा नेता जहिले पनि जरुरी मिटिङ वा मुलुकमा संकट आइपरेछ भनेर सरकारी गाडी चढेर हिँड्ने गर्छन् ।
४. यो बुँदा अन्तिम होइन, चिठीमा विस्तृत खुलासा गरिएको छ – तपाईंलाई सम्मान गर्नुपर्ने कारण थप बुँदाहरूका रूपमा । तर, तपाईं सडकमा हिँड्दा पेटीको छेउछेउ लागेर हिँड्नुहुन्छ । महिलाहरूलाई बाटो छाडिदिनुहुन्छ । अँ, अनि एउटा नभनी नहुने कुरो, तपाईं जुलुसमा सामेल भएर नारा लाउँदै हिँडेको देखिनु हुन्न ।
यी सब गर्न नसक्नुका कारण ऊसँग छन् । पेटीको छेउछेउ नहिँडेर के गर्नु ? उसलाई खुराकको कमीले निर्धोपनले छोपेको हुन्छ । बीचपेटीमा हिँड्दा मानिसहरूले घचेटेर उताको भित्तामा पुर्याइदिन्छन् वा सडकतिर पेल्छन् ।
महिलाहरूबारे उसको धारणा स्पष्ट छैन । के हुन्छ के हुन्छ महिला अगाडिबाट आएको देखेपछि ऊ झस्किन्छ । बाटो छोडिदिँदा ठिक हुन्छ भन्ने लाग्छ । ठोक्किएर हिँडेमा केही अप्रिय टिप्पणी सुनिने भय लाग्छ उसलाई । घरमा पत्नीबाट पनि बेलाबेला खस्रा टिप्पणी सुन्दै आएको छ । एउटा डर छ उसमा नारीदेखि ।
जुलुसमा प्लेकार्ड उचाल्दै हिँड्न उसले छाडेको हो । तात्तो न छारो नारा लाउँदै हिँड्यो, अन्त्यमा नेता माथि जान्छ, पछि नेताले न चिन्दछ न उसको अवस्था सुधारिने गरी केही काम हुन्छ । सबै पार्टी त्यस्तै छन् भन्ने उसले अनुभव गर्न लागेको छ ।
तर, एउटा कुरा उसले सोध्न चाहेको थियो, सम्मान मात्रै कि केही नगद पैसा पनि छ त्यसमा । सोधेन । तर फेरि मनले मानेन, सम्मान गर्ने केले हो त्यो त जानिराख्नुपर्यो । घरमा पनि र उसलाई बधाई दिन तयार इष्टमित्रले सोधे भने के भन्ने ?
‘खै, सम्मान त भनेका हुन्, तर कसरी, केले मैले सोधिनँ । कति दिने हुन् ? सम्मान मात्र भनेका छन्, पुरस्कार भनेका छैनन् । पुरस्कार र सम्मानमा फरक छ कि ! डर लाग्यो ।’
केको डर ? प्रश्न गरेमा अर्को कुनैलाई सम्मान गर्ने पो हुन् कि !
‘तपाईंलाई हामी प्रश्न नगर्ने सिधा र सरल व्यक्ति भनेको त प्रश्नैप्रश्न सोधेर हैरान पार्नु भो । हाम्रो संस्थाले तपाईंंलाई सम्मान गर्ने निर्णय फिर्ता लिन्छु’ भने भने ?
तर, सोधिहाल्यो — पैसाको लोभ थियो, केही त दिऊन् । सोधेपछि दिनैपर्ने हुन् कि !
‘सम्मान कसरी नि ?’
‘एउटा सम्मानपत्र, एउटा सल र फूलको माला । मञ्चमा एकजना नेताजी पनि उपस्थित रहनुहुन्छ । उहाँले अबिर दलेर तपाईंको सम्मानलाई गौरवान्वित गर्नुहुनेछ ।’
नेता भनेपछि नुनजस्तै जताततै, नुनबिना सबैथोक खल्लो । तर, फ्रेम गरिएको सम्मानपत्रका साथ दशपन्ध्र हजार मात्रैको भए पनि खामभित्र घुसारेको चेक भनिएन अथवा शिष्टतासाथ भन्दा केही नगद वा थोरै पत्रम्पुष्पम् भनिएन ।
नभेपछि खल्लो भइगो । निस्तो सम्मान मात्र थामेर छिमेकी हँसाउनु छैन । छिमेकीले भनिहाल्ने हुन्, ‘सम्मानित भइयो, भोज जाओस् ।’
अनि, केले केको भोज ? दालभात खुवाउने हैसियत छैन । छैन हैन, अवस्था कमजोर छ ।
उसलाई खल्लो त लागिसकेको थियो । मुद्राविहीन सम्मान पनि के सम्मान ! लास्टमा केही जलपानको कार्यक्रम होला । लाइन लागेर त्यो मात्रै खाएपछि सल दोबारेर झोलामा हाल्ने वा ओढेरै सम्मानपत्र कोखिलोमा च्यापेर र सयपत्रीको माला र गाला अनि निधारभरि अबिर पोतिएर, घरबाटै लगाएर गएको टोपी ढल्काएर फर्कंदा घरकाले नै के भन्लान् ? खाम झिकेर पत्नीको हातमा राख्न नपाइने भो । खल्लो त लागिहाल्ने भो ।
उताबाट अर्को थप जानकारी आयो ।
‘तपाईंसँगै तिनै नेतालाई पनि सम्मनि गर्ने भइएको छ । उनलाई विशेष सम्मानको कार्यक्रम छ ।’
‘कस्तो विशेष ?’ यताबाट उसले सोध्यो । जिज्ञासा पैदा भयो । नेतासँगै सम्मानित भइने भो । अखबारमा, टीभीमा देखापर्ने अवसर जुर्यो ।
ला खा, अब झन् फसाद ! सम्मानित मात्र हुने भइयो, पुरस्कृत हुने भइएन । टाउकोभित्र रित्तो बजेको ठङठङको आवाज आयो ।
‘विशेष कस्तो भने उहाँलाई पाँच लाख एक सय एक रुपैयाँको थैली र अरू सबै उस्तै सम्मान भए पनि अलि फरक के भने सय किलोको रङबिरंगी माला पहिर्याइदिने । सय किलोको माला व्यापारी, उद्योगपतिहरूको तर्फबाट र रकमचाहिँ हाम्रै संस्थाले अर्पण गर्ने । उहाँको अनुदान रकमले त यो संस्था यति अग्लो ठाउँमा पुगेको हो । योचाहिँ टप सिक्रेट है ! तपाईं सम्मानित हुने भएकोले चुहाएको ।’
सुरुमा नेतासँगै सम्मानित हुने ठूलै अवसर पाइयो भनेर ऊ बडो उत्साहित हुन चाहेको थियो । तर, सूचनाको विस्तार हुँदै गएपछि उसले भन्न चाह्यो, ‘म सम्मानित हुन चाहन्नँ । भो, घरैमा बस्छु ।’
उसलाई घरभित्र छिर्न डर लाग्यो, बिनापैसोको सम्मान थापेर के नै बहादुरी ?
उसले पेटीछेउको पर्खालको आड लिएर स्वगत भन्यो, ‘भो, सम्मान नलिऊँ । झमेला हुन्छ । रकमसकम केही छैन । खाई न पाई छालाको टोपी लाई ।’