site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिहार बिदामा चन्द्रागिरि पुगे ओली, फेरि पोखे काव्यिक भावना !

काठमाडौं । तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्याह्न परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरिका जंगललाई हुस्सुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको थिएन । स्वदेशी र विदेशी यात्रीहरू आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए । 

यही बीचमा त्यहाँ पुगेका प्रधानमन्त्री ओलीले भालेश्वर महादेवको दर्शन र केही यात्रुको आग्रहमा तस्बिर खिचाएपछि काठमाडौं उपत्यका देखिने छेउतिर राखिएको कुर्सी र टेबलमा बसेर डायरी र कलम समाए । नजिकै रहेका सुरक्षाकर्मी र सहभागीले आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्न लागेको ठाने पनि प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्किए ।

“चन्द्रागिरि प्रेमको प्रतीक
सतीदेवी भाल पतन
सर्वाेत्तम प्रेमकथा !’’

साथमै रहेकी ओली पत्नी राधिका शाक्य र सचिवालयको टोलीलाई प्रधानमन्त्री ओलीले यही रचनालाई वाचन गरेर सुनाए । चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्कालै प्रतिक्रिया दिए, “सम्माननीयज्यूू प्रायः चन्द्रागिरि आउँदा केही न केही लेख्नुहुन्छ । हामी धन्य छौँ ।”

राजनीतिका साथै कला, साहित्य र संगीतलाई सक्दो समय दिने र अध्ययनमा त्यत्तिकै रुचि राख्ने नेताका रूपमा परिचित प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले धेरैपटक सार्वजनिकरूपमा भन्ने गर्छन्– “म कवि/साहित्यकार होइन ।”

तर, उनलाई गहिराइका साथ बुुझ्नेहरू भन्छन्– “उहाँमा सिर्जनात्मक चेत उच्च छ । समय मिल्ने हो भने उहाँको लेखनी जम्न सक्छ । उहाँका अभिव्यक्तिमा दार्शनिकता, साहित्यिक भाव र असिमित हास्यरस पाइन्छ ।”

सायद त्यही भएर होला, समय मिल्ने बित्तिकै प्रधानमन्त्री ओलीलाई रचनागर्भको हुटहुटीले तानिहाल्छ ।

यसअघि, तत्कालीन समयमा पनि प्रधानमन्त्री रहेका ओलीले २०७५ असार ३० गते चन्द्रागिरिमा मदन भण्डारी फाउन्डेसनअन्तर्गतको कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीनदिने हिमवतखण्ड कला साहित्य सम्मेलनको समापनका अवसरमा सोही स्थलमा बसेर बिना शीषर्कको कविता लेखेका थिए–

“परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ?
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदै छ ।
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाऊँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लह–लह खेत बारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाऊँ
चन्द्रागिरिको डाँडामा आएर सपनामा
भावी सन्तती मुस्कुराएको देख्न पाऊँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाऊँ
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाऊँ ।”

त्यतिमात्र होइन, त्यसपछि २०७८ भदौ ४ गते  ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सवमा चन्द्रागिरि पुगेर एमाले अध्यक्ष ओलीले लेखेको अर्काे कविताका अंशहरू यस्ता थिए–

“कतै इतिहास, कतै परम्परा
गौरव कतै, कतै पौरख
यहीँ चन्द्रागिरिका डाँडाहरूतिर
सतिदेवी बोकेर  काँधमा शोकमग्न शिवजी
यहीँ बाटो भौँतारिएका थिए
जहाँ सतिदेवीको बाल अर्थात् निधार खस्यो
यहीँ चन्द्रागिरि हुँदै ३२ सय वर्ष अगाडि
चित्लाङबाट गोपालीहरू उपत्यका पसेका थिए
त्यहाँ आवाद गर्न, थानकोट मातातीर्थ
यहीँ पृथ्वीनारायणले जुँगामा ताउ लगाएका थिए
लोभिँदै नजर फ्याँकेर उपत्यकातिर
नजिकै फाखेलको गाउँमा देवकोटाले
मानवताको बिगुल फुकेका थिए...।”

प्रधानमन्त्री ओलीले फर्कने समयमा चन्द्रागिरि हिल्स रिसोर्टको आगन्तुक पुस्तकमा पनि आफ्ना भावनाहरू अभिव्यक्त गरेका थिए । उनले लेखेका छन्, “काम गर्नेलाई नेपालमा अवसर छ । काम नगरेर कुरा मात्र गर्नेहरूलाई झन् अवसरै अवसर छ । गर्नेलाई अवसर छ भन्ने कुराको दृष्टान्तमध्ये एउटा गतिलो उदाहरण चन्द्रागिरि हिल्स र चन्द्रप्रसाद ढकाल । चन्द्रागिरि हिल्स आइयो । हेर्नसम्म हेरियो । फुर्सदले मनोरञ्जन लिइयो ।”

अध्यक्ष ढकालले राज्य र अन्य निकायको सहयोग पाएमा यस्ता पर्यटकीय पूर्वाधार मुलुकका साथै प्रदेशमा बनाउने योजना प्रधानमन्त्री ओलीलाई सुनाएका थिए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro