साहित्य
बहावको वेगमा खोलाले
भन्छ किनारालाई–
तिमी भाग्यमानी छौ
हरपल मेरो सौन्दर्यमा मुग्ध छौ
कलकल आवाजमा हराउँछौ ।
सहमत हुन्छ खोलासँग
अनि भन्छ किनाराले खोलालाई–
निश्चय नै भाग्यमानी छु
तिम्रो सौन्दर्यमा डुब्न पाएको छु
कलकल आवाजमा झुम्न पाएको छु ।
सँगसँगै,
तिम्रो धारमा
प्रतिपल खिइँदै गएको पनि छु
झन्झन् टाढा सर्दै गएको छु
खिइनुको,
टाढा सर्नुको भय होइन
तिमी झन्झन् फैलिँदै छौ
तिमी फैलिनुको पनि भय होइन
भय त मात्र के हो भने
खिइँदा खिइँदै म ‘किनारा’ नै
मेटिएँ भने कुनै दिन
तिम्रो बहावको के होला,
तिम्रो सौन्दर्यको के होला,
तिम्रो कलकल आवाजको के होला !
(बर्लिन, जर्मनी ।)
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१ ११:५९
प्रतिक्रिया दिनुहोस्