site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मान्छेका मनहरू मरेपछि

ज्ञानेन्द्र विवश
मान्छेका मनहरू मरेपछि सौन्दर्यले पनि नेटो काट्दोरहेछ । मिठो बोलीमा पनि तीतो आभास हुँदोरहेछ । मायालु हेराइ पनि विशालु लाग्दोरहेछ । रमाइलो मौसम पनि बेमोजको हुँदोरहेछ । हिँडिरहेको सजिलो बाटोमा पनि ठेस लाग्दोरहेछ ।

राम्रै कुरा बोलिरहँदा पनि सुन्नेले अर्कै अर्थ लगाउने रहेछ । आखिर मान्छेका मानवीय मनहरू मरेपछि नसोँचेको कुरा हुने रहेछ । हार्दिक भावनाको अन्त्य भएपछि दुर्भावनाहरूले स्थान पाउन थाल्ने रहेछ ।

मान्छेका मनहरू यहाँ अनायासै अर्कै भएको पनि देखियो । मान्छेहरू बदलिएर यहाँ मान्छेकै अस्तित्व समाप्त पार्न उद्यत रहेको पनि भेटियो । बन्धन तोडेर र अनुशासन भ‌ंग गरेर मान्छेले दानवको स्वरूप प्रस्तुत गरेको पनि देखियो ।

Dabur Nepal
NIC Asia

मान्छेले यहाँ निर्माण कला मात्रै होइन । सिर्जनात्मक प्रस्तुतिहरू मात्र पनि होइन । विध्वंस र विनाशको मञ्चन गरेको अप्रिय दृश्य पनि देख्न पाइयो ।

अचम्मकै छ, यो संसारमा मायालुहरूको भीड त्यत्तिकै । ईक्ष्यालुहरूको शंकालु नजरको आक्रमण उत्तिकै । सुख र सन्तुष्टिको आभास महसुस गर्दानगर्दै फेरि भित्रिने रहेछ, अर्को सकसको स्वरूप सुटुक्कै ।

हाँसो खोसेर आँशु दिनेहरू यहीँ छन् । मैत्रीपूर्ण सम्बन्ध तोडेर बैमनस्य कायम गर्नेहरू छन् । कतिलाई खुसी पार्नु, कतिलाई दुःख दिनु ? सकिँदैन रहेछ सबैलाई बराबरी खुशीले चकलेट बाँड्नु । गुलियो पारेको मन छिनभरमै अमिलिएको कसरी थाहा हुनु र !

मन र मुटुभित्रै पसेर जति नै खोजतलास गरे पनि मान्छेको खास रूप भेट्टाउन सकिँदैन रहेछ । दिनदिनै, छिनछिनै हेरे पनि । गहिरिएर नियाले पनि । मान्छेलाई चिन्न हम्मे–हैरानी नै हुने रहेछ ।

कति कपटी मन मान्छेको । कति कठोर हृदय मान्छेको । मान्छेको मन पगाल्नु भनेको फलामको चिउरा चपाउनु जत्तिकै कठिन रहेछ ।

यहाँ अलिकति पनि ‘गुनको बदला गुन’ होइन बरु बैगुनकै बढोत्तरी छ । बदमासीकै बहुमत छ । ज्ञानीध्यानी, सोझासिधाले तडकभडक नगरे हुन्छ । छलछामकै रजाँइ छ । आफन्तवादकै हालिमुहाली छ । यस्तोमा योग्यताको कदर सपनामा पनि नचिताए हुन्छ ।

भेटेको मान्छे कहिलेकाहीँ प्रेरणादायी हुने रहेछ । नभेटेको मान्छे पनि कहिलेकाहीँ यादहरूमा जीवन्त आउँदो रहेछ । मान्छेले मान्छेलाई चिनेपछि आफन्तै हुनु पर्दैन रहेछ । मान्छेले मान्छेलाई नचिनेपछि आफन्त नै भएपनि त्यो सदा पराइ नै भइरहँदोरहेछ ।

मानिसले मानिसलाई असाध्यै माया गरेको पनि देखियो । बाटोबाटै मानिसले मानिसलाई फँसाएर, फकाएर, मन पराएर, मन मिलेर घरसम्मै ल्याएको पनि देखियो । मानिसले मानिसलाई घृणा गरेर घरबाटै निकालेको पनि देखियो ।

मानिसको मनको कुरा न हो ! मानिसको चाहनाको सीमा न हो । मानिसको मनले इच्छाएपछि के मात्र हुन सक्दैन रहेछ र यहाँ ! त्यसैले मानिसको मन सानो र अति सूक्ष्म पनि ठान्नु हुन्न रहेछ ।

मानिसको मन त आकाशभन्दा विशाल हुँदोरहेछ । कहिलेकाहीँ त्यही ठूलो मन यति सानो र सङ्कीर्ण पनि बन्न सक्दोरहेछ ।

अचम्मको जात यो मान्छेको । रहस्यको जात यो मान्छेको । कहिले जातभातको लडाइँमा सामेल । कहिले धनी र गरिबको खाडलमा जाकिन पुग्ने । कहिले पद, प्रतिष्ठाको कुरा ।

कहिले पुरस्कार र तिरस्कारको कुरामा अल्झिँदै, बल्झिँदै । यही मेसोमा कसैलाई पछार्दै, कसैलाई उठाउँदै । मानिसले यहाँ के मात्र गर्न बाँकी छ र अब !?

सोचेको कुरा मात्रै यथार्थ हुँदोरहेन छ यहाँ । बोलेको कुरा मात्रै वास्तविक नहुँदोरहेछ यहाँ । देखेको कुरा मात्रै सत्य साबित नहुँदोरहेछ यहाँ ।

मानिस हामी आफैं हौँ । आफूले आफैंलाई चिन्न सकेका छैनौँ । बुझ्न सकेका छैनौँ । मानिसको महत्त्वलाई बुझ्न नसक्दा, चिन्न नजान्दा मानिसको जीवन निरुद्देश्य र निरर्थक व्यतीत भइरहेछ ।

विश्वासको संकटमा मानिसका मनहरू आफैंसँग सशंकित छन् यहाँ । प्रथमतः आफैंसँग अविश्वास बढ्न थालेपछि विश्वासको संकट थपिँदै जानु स्वाभाविक हो । रुने रोइरहेका छन्, हाँस्नेहरू हाँसिरहेका छन् । मर्ने मरिरहेका छन् । बाँच्नेहरू मस्तले बाँचिरहेका छन् । रमिता हेर्नेहरू हेरिरहेका छन् ।

विश्वास कसको, कसरी गर्ने ? माया कसलाई, कसरी गर्ने ? दया र घृणा अनि आस्था र आराधना कसलाई, कसरी र कहिले गर्ने !? चिन्न सकिँदैन । बुझ्न जानिँदैन । पत्याउनै सकिँदैन आजका आधुनिक मानिसहरूका आनीबानीहरू ।

हाँस्छु भनेर रुनेहरू यहीँ छन् । हाँस्दा–हाँस्दै रोएर रुनै नसक्ने मनहरू पनि यहीँ छन् । अर्कालाई रुवाएर आफू मात्रै हाँस्नेहरू पनि छन् यहाँ । आफू रोएर अरूका लागि खुशी बाँड्नेहरू पनि छन् यहाँ ।

वास्तवमा मान्छेका मनहरू मरेपछि जे पनि हुँदोरहेछ । दया र माया चटक्कै भाग्दोरहेछ । निष्ठुरीपन मौलाएपछि हलक्कै हुर्किएको सम्बन्धमा तुषारापात पर्दोरहेछ । अनि मान्छे अर्कै रङ–रूपमा रूपान्तरित हुन पुग्दोरहेछ ।

अन्ततः माया गरेजस्तो गरेर प्रेमको बाहानामा, नजिकिएको अवसरमा मौकाको फाइदा लिनेहरू यहाँ कति छन् कति !? कसैले पनि कसैलाई, बुझ्न नसकिने आजका मानिसहरू ज्यादै नै ज्याद्रो र ज्यान खाने स्वभावका छन् ।

विश्वास कसैको नगरे हुन्छ । भरोसा कसैसँग नलिए हुन्छ । धेरै ब्याजको लोभमा फँसाउने सहकारीका ठगहरू जस्तै चोचोमोचो मिलाएर तेल घस्नेहरूसँग टाढै बस्नु बेश हुने रहेछ ।

आखिर मानिसलाई फसाउन बाघभालु आउने होइन रहेछ । मानिसले मानिसलाई नै फसाउने रहेछ यहाँ । मानिसले मानिसलाई नै फकाउने रहेछ यहाँ । मानिसभन्दा नजिकको आफन्त कोही छैन यहाँ ।

त्यही मानिसभन्दा परको दुष्ट पनि कोही हुँदैन रहेछ यहाँ । एउटा मानिसका लागि अर्को मानिस नै कति प्यारो यहाँ । माया, ममताका कति असीम हार्दिक खुसीहरू यहाँ ।

परन्तु त्यही मानिस, त्यही आफन्त र त्यही प्रिय मान्छे नै यहाँ जीवन र मरणको दोसाँधमा ज्यानमारा जीवन भएर उपस्थित हुँदो रहेछ । केही मान्छे कहिले जीवनदानको पूण्यकर्ममा भगवान बनेर साक्षात्कार बन्दोरहेछ ।

कतै, कहिल्यै नदेखेको, नभेटेको र नबोलेको मानिस पनि एक पटकको, एकैछिनको भेटमा उहिल्यै चिनिएको जस्तो, पहिले नै भेटिसकिएको जस्तो । कति प्यारो–प्यारो, कति हार्दिक–हार्दिक पवित्र भावनाका भेलहरू बग्दोरहेछ ।

जहाँ अपरिचित मान्छेका मनहरू परिचित पहिचानमा तत्कालै मित्रताको साइनोले घनिष्ट बन्दोरहेछ ।
बुझिनसक्नुको मायाजाल । बुझिनसक्नुको भ्रमको संसार । बिना उब्जनीको खेतीपाती हुन्छ । बिना काम र बिना योगदानका लागि सम्मान र पुरस्कार दिइन्छ ।

विश्वास र अविश्वासका बीचमा मानिसको बोलीचालीहरू कति सत्य, कति झुट !? सबैजना आफू चोखो र इमान्दार तथा इज्जतदार नै भएको ठान्दा रहेछन्, मान्दा रहेछन् ।

तर देख्छु आफूसँग आफैं इमान्दार छैनन् मान्छेहरू । आफूसँग आफैं विश्वस्त छैनन् कोही पनि मान्छेहरू । आफूले आफैंलाई ढाट्न नसकेर, आफूले आफैंलाई अनुशासनमा राख्न नसकेर मानिस जथाभावी जे पनि गरिरहेका छन् ।

तथापि, मानिसहरू यहाँ आफ्नै स्वार्थमा रमाउँदा रहेछन् । आफ्नै स्वार्थका लागि मरिमेट्दा रहेछन् । निःस्वार्थीपन, सर्वहितायको मन कसैको देखिनँ मैले कतै पनि ।

यो संसारमा मानिस सर्वश्रेष्ठ र सचेत बुद्धिमान प्राणी हो । तर, यही मान्छे कतिसम्म हिंस्रक, निष्ठुरी, निर्दयी र कठोर स्वभावको हुन्छ भन्ने कुरा प्रत्येक मान्छेका आनीबानीले प्रष्ट पार्दै आएका छन् ।

मान्छेको यही अमानवीय स्वभावकै कारण पनि हुनुपर्छ, पुलिस, प्रशासन, ऐननियम, न्यायालयहरू आदि स्थापना गरिएका ।

मान्छेको यही स्वभावलाई सपार्नका लागि नै अनेक तहका सरकार बनेका छन् । केन्द्रदेखि तल्लो स्थानीय स्तरसम्मका अनेक–अनेक सरकारका निकायहरूले समाजमा, व्यक्तिमा र त्यो क्षेत्रमा अमनचयन कायम राख्नका लागि काम गर्छन् ।

यसरी हेर्दा समग्रमा जंगलका जंगली पशुपक्षीहरूका लागि सरकार बनेका होइनन् । अड्डाअदालतहरू स्थापना भएका होइनन् । नियम कानूनहरू, अनुशासन, मर्यादाका कुराहरू बनेका होइनन् । मान्छेले मान्छेकै लागि बनाएका हुन् यस्ता नीतिनियमहरू ।

यिनैको परिपालन नगरिँदा यी निर्माण भएका हुन् । उहिले–उहिले केही थिएनन् यस्ता कानून, अनुशासन, मान मर्यादा, इज्जत, इमानका कुराहरू । तर हिजोआज मान्छेमा मर्दै गएको मानवीय संस्कार त्यसकै जगेर्नाका निम्ति पनि यस्ता अनेकौँ न्यायालय, कार्यालयहरू बनेका छन् ।

घरजग्गाको सिमाना, बलियो झ्यालढोका, सुरक्षित पर्खाल, गेट यी सबै–सबै मान्छेले मान्छेकै लागि आत्मसुरक्षार्थ निर्माण गरेका हुन् । सम्भवतः मान्छेको डरलाग्दो स्वभावबाट बच्नका लागि यसरी मान्छेले उपाय गरेर बस्ने कोसिस गरेको छ ।

यतिले पनि चित्त नबुझी मान्छेले आफ्नै घरमा ताला लगाउने गर्छ । बाकस, दराज, सन्दुक, घर्रा आदि जताततै साँचो लगाएर राख्छ । सायद आफ्नै घरका मान्छेसँग पनि विश्वास छैन मान्छेलाई ।

मान्छेका मनहरू मरेपछि यहाँ कहिल्यै नसोचेको घटना घटित हुन्छ । यसलाई अस्वाभाविक होइन स्वाभाविकै ठान्नुपर्ने हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro