केही वर्षअघि साथी श्रीओम (रोदन)ले फेसबुकमा एउटा तस्बिर पोस्ट गरे । त्यो एउटा पत्रिकामा छापिएको विज्ञापन थियो ।
यसमा ‘गुड नाइट एफएम’को प्रसारण सुरु भएको जानकारी उल्लेख थियो । तत्कालीन एक चल्तीको साप्ताहिक पत्रिका (संभवतः साप्ताहिक विमर्श)मा छापिएको यस विज्ञापनमा एफएमसँग आवद्ध केही व्यक्तिहरूको दस्तखतसहित नयाँ काममा जुटेको जानकारी थियो ।
नयाँ वर्ष २०५३ सालको शुभकामना पनि दिइएको विज्ञापनले ‘लेट—बट लेटेस्ट’ स्लोगनसहित गुड नाइट एफएमको प्रचार गरेको थियो । यो विज्ञापन छापिएको थियो, २०५२ चैत अन्तिम दिन । त्यसै दिन राती १० बजेदेखि कार्यक्रम अन एयर हुँदै थियो ।
आज २८ वर्ष कटिसकेको छ, एफएम रेडियोमा आवद्ध रहेर आवाज बेच्न थालेको । बेचेकै त भन्नु पर्ला ! सुरुमै बोल्दा मासिक तलब लिएर बोलेपछि ।
०००
रेडियो नेपालको एफएम १०० मेगाहर्जको अन एयर स्टुडियोको ढोका अघिल्तिर उभिएको थिएँ । स्टुडियोमा नपस्दै मुटुको चाल तेज भइसकेको थियो । अझै स्टुडियोभित्र छिरेर ‘फेडर अन’ गर्दै करिब १० मिनेटको खबर वाचन गर्न बाँकी नै थियो ।
हातमा कागजको मुठो समाएर अनुभव गर्दै थिएँ, हातमा रहेको समाचार लिखित कागज पसिनाले निर्थुक्क भइरहेको छ । मुख सुक्खा तर, निधारमा लफ्रक्कै पसिना !
त्यतिखेर दिमागले काम त गरिरहेको थियो । तथापि, लाग्दै थियो दिमाग शून्य छ ।
श्रीओम ‘पार्टी टाइम म्युजिक’लाई बिट मारेर बाहिरिएका थिए । अबको पालो समाचारमूलक कार्यक्रम ‘साङ्ग्रिला काठमाडौं काठमाडौं’को थियो ।
म छिरेँ स्टुडियोभित्र । कुल १० मिनेटको यो न्युज स्लटमा मनोरञ्जन, खेलकुद, सामाजिक घटना–परिघटनाका खबर छोटकरीमा प्रस्तुत गर्नु पथ्र्यो । राजनीतिक विषयवस्तु वर्जित थियो, समाचार प्रसारणमा ।
स्टुडियोमा पसेर माइक अगाडि बसेपछि ‘मैले के गर्दैछु भन्ने पनि बिर्सने हुँ कि !’, यो कामै नलाग्ने सवाल मेरो मनमा उब्जियो । तनाव झनै बढ्यो ।
टाउकोमा अडेस लगाएर कान ढपक्क ढाकेको हेडफोनबाट थाहा लाग्यो प्रोग्राम आइडी सकिँदैछ । लगत्तै अगाडि रहेको बत्ती बल्यो । यो बत्ती माइक अन गरेर बोल्ने संकेत थियो ।
बत्ती बल्नासाथ फेडर अन गरेर बोल्नु पर्ने शिक्षा अघिल्ला केही दिनहरूमा दिइएको थियो । चर्चित उद्घोषक र बुलन्द आवाजका धनी रविन शर्माबाट बितेको १५ दिनदेखि हामी सबै उद्घोषण शिल्पको तालिम लिँदै थियौँ ।
अभ्यासका क्रममा सिकाए जसरी नै मैले पनि फेडर अन गरेँ । त्यसपछिको दस मिनेट बोलेँ मात्रै कागजमा लेखिएका किरिङमिरिङ अक्षरहरूको थुप्रो । कसरी बोलेँ, कस्तो सुनियो, कतिको बिग्रियो, गलत बोलेँ या सही, केही अनुभव गर्न सकिनँ ।
म शल्यक्रिया गर्न स्ट्रेचरमा सुताइएको बिरामी जस्तै भएको थिएँ कि, अर्धचेत !
बाहिर निस्किएपछि राजेन्द्र शलभ दाइ, श्रीओम, प्रभा, प्रभासलगायतले ‘राम्रो’ भनेर हौसला दिए । अनि मात्रै लाग्यो ‘ए, म अचेत रहेनछु !’
०००
विक्रमाब्द २०५३ सालको बैशाख १ गते । राती १०.३० बजेदेखि १०.४० सम्मको समाचार स्लट ‘साङ्ग्रिला काठमाडौं काठमाडौं’मा मैले पहिलो पटक उद्घोषण गरेको थिएँ ।
ज्ञानेश्वरस्थित नेशनल स्टुडियोले रेडियो नेपाल एफएम १०० मेगाहर्जमा दुई घण्टाको समय (रातको १० देखि १२ बजेसम्म) रेडियो प्रसारणका लागि समय किनेको थियो । (त्यसबेला बिहानदेखि बेलुकीसम्मै धेरै एफएमहरू भाडामै चलेका थिए ।)
त्यही दुई घण्टाभित्रको १० मिनेट, सामाजिक खबरहरूको समय मेरो भागमा परेको थियो । र, यो गहन जिम्मेवारी दिएका थिए वरिष्ठ चलचित्रकर्मी नीर शाहले, जो नेशनल स्टुडियोका अध्यक्ष थिए ।
तिनताक हाते फोनको चलन थिएन । मसंग सम्पर्क गर्न कि त घरधनीको ल्याण्डलाइन फोनमा कि त मैले काम गर्ने कार्यालयमा फोन गर्नु पर्दथ्यो ।
२०५२, चैत्र महिनाको पहिलो साताको एक दिन । कार्यालयमा पुगेको केही समयपछि नै मलाई श्रीओमले फोन गरेर नीर दाइले भेट्न खोजेको बताए ।
कुनै काम पर्यो होला भन्ने ठानेर दिउँसो ज्ञानेश्वरस्थित साङ्ग्रिला च्यानलको कार्यालय पुगेँ ।
नीर दाइसँग भेटेँ । त्यही भेटमा उनले गुड नाइट एफएम प्रसार हुने विषयमा बताए । अनि एउटा कार्यक्रम संचालन गर्नुपर्ने कुरा खोले ।
सायद, श्रीओमले नै मेरो कुरो उठाएका थिए । नीर शाहसँग मेरो सम्बन्ध राम्रो रहेकोले होला, उनले पनि भेट गर्न पठाइदिनु भनेका होलान् ।
हठात् यसरी जोडिएको गुड नाइट एफएममा शलभ दाइ, श्रीओम र मलगायत अरू पनि केही साथीहरू थिए ।
र, थिए हामीजस्ता सिकारु उद्घोषकलाई प्रेरणा दिन आदरणीय किरण खरेलजस्ता भेट्रान आवाजकर्मी । जोे गुड नाइट एफएममा साताको एक दिन ‘नेबिको सम्झना’ शीर्षकमा पुराना गीतहरूको कार्यक्रम प्रस्तुत गर्दथे ।
०००
रेडियोमा उद्घोषण, मनमा कहीँ कतै थिएन । सुनिन्थ्यो मात्रै प्रविण गिरी, कमल प्रधानदेखि कृष्णा ताम्राकार, तीर्थ भण्डारी, किरण खरेल, मीठा पराजुली, पुरुषोत्तम सापकोटा, लोकमणि सापकोटा, निरोध पाण्डे, सूर्यकुमारी पन्त, धन लामा, दामोदर अधिकारी, वासुदेव मुनाल, पाण्डव सुनुवार, विश्ववल्लभहरूलाई ।
जलेश्वर हुँदा मैले धेरै सुन्ने भनेको सिलौन रेडियोमा बज्ने ‘विनाका गीतमाला’ र त्यसका संचालक अमिन सायानीलाई हो । गीतमालाको नियमित श्रोता थिएँ म ।
बुधबार साँझ विनाका गीतमाला सुन्नैका लागि रेडियो भएको साथी वा आफन्तको घरमा पुग्थेँ । घरमा त्यसबेलासम्म ट्रान्जिस्टर रेडियो भित्रिसकेको थिएन ।
अमिन सायानीको सांगीतिक काउण्टडाउनको शैली र प्रस्तुतिको प्रशंसक लाखौँं थिए । जसमा एउटा बबुरो म पनि थिएँ ।
गीत गाउँदै, नाटक खेल्दै, पत्रिकामा लेख्ने काममा लागे पनि कुनै दिन रेडियोकर्ममा आवद्ध हुन्छु भन्ने अन्तरकुन्तरमै थिएन । तर, सोच्दै नसोचेको पनि हुँदो रहेछ । अनि त्यसैमा दशक बढीको समय पनि बित्दो रहेछ ! आखिर जे पनि त हुँदो रहेछ !
त्यसबेला अनेक साप्ताहिक पत्रिकाहरूमा काम गरेँ । पत्रिकाहरूमा लेख्दै जाने क्रममा नै नीर शाहसँग मेरो परिचय भएको थियो, २०४३ सालमा ।
त्यसको दश वर्षपछि उनै नीर शाहले उद्घोषण कलामा लाग्ने मौका दिए २०५३ सालमा । जुन विधामा मेरो साँढे दुई दशकको समय बित्यो । बेलाबखत आज पनि बोल्ने काम भइरहेको छ ।
यो यात्रा अप्ठेरो नै थियो । नयाँ काम । केही गल्ती पो भइहाल्छ कि भन्ने डर पनि थियो । बोल्दै जाँदा बेलाबखत गल्ती पनि गरियो । फेरि लाग्यो, घोडा चढ्ने नै त लड्छन् नि । लडिन्छ भन्ने डर मान्ने हो भने त घोडा चढ्नै भएन ।
जे होस्, अग्रज व्यक्तित्वहरू नीर शाह, किरण खरेल, शम्भुजीत बास्कोटाहरूबाट सल्लाह, सुझाव पाइरहियोे ।
एफएम रेडियो सञ्चालनको काम पनि सहज थिएन । नेशनल स्टुडियोले विज्ञापनको व्यवस्थापनदेखि कार्यक्रम सञ्चालनका लागि आवश्यक सारा व्यवस्था मिलाउनु, उद्घोषक मात्र नभएर बजाउनु पर्ने गीतहरूको व्यवस्था गर्नु, यस्ता थुप्रै काममा ध्यान पुर्याउनु पथ्र्यो ।
राती प्रसारण भए पनि स्रोता मनग्य थिए । तथापि, एफएमले धेरै कर्मचारी धान्न नसक्ने अवस्था सिर्जना हुँदै गएको हामीलाई पनि अनुभव हुँदै गयो ।
यही अप्ठेरोबिच एउटा मासिक पत्रिका प्रकाशन गर्ने कुरा पनि उठेको थियो । पत्रकारितामा लागिरहेका हामी तीन (शलभ, श्रीओम र म) लाई पत्रिकाको जिम्मा दिने कुरो पनि चलेको थियो । तर, त्यो सम्भव भएन ।
अन्ततः साउनको एक मध्यरात १२ बजेपछि रेडियो नेपालको परिसरमै केही साथी (श्रीओम, प्रभा, किराँती जेबी राईलगायत)लाई गुड नाइट एफएमबाट विदा दिइएको पत्र थमाइयो ।
त्यस रात म रेडियो नगएकोले मेरो नामको पत्र भोलिपल्ट दिउँसो अफिसमै पुगेर बुझेँ ।
हामी हटेको केही महिनापछि शलभ दाइहरूले पनि विदा लिए । त्यसपछि गुड नाइट एफएमले नेपाल भाषाको कार्यक्रम मात्रै संचालन गर्दै आएको मैले सुनेको हुँ ।
एफएमबाट बाहिरिएको केही दिनपछिको एक भेटमा नीर दाइले भनेको मेरो सम्झनामा छ– “राजेश बाबु, अब अर्को कुनै काममा सहकार्य गर्नुपर्छ ।”
त्यसबेला साङ्ग्रिला च्यानल (टीभी च्यानल) सुरु हुने चर्चा थियो । त्यसका लागि हामीले सात दिने तालिम पनि लिएका थियौँ । तर, आफूलाई टीभी कार्यक्रम (अडियो भिजुअल)मा त्यति रुचि नै भएन ! त्यसैले होला, नीर दाइले यसो भनिरहँदा पनि म ‘हस्’ मात्रै भनेर हिँडेँ ।
यसरी साँढे तीन महिना नपुग्दै, जसरी अचानक सुरु भएको थियो मेरो रेडियो यात्रा, त्यसरी नै रोकियो पनि !
०००
त्यसको दुई वर्षपछि, एउटा शुक्रबार । अचानक नीर शाहले सम्झिए झैँ मेरा मित्र भरत शाक्यले मलाई सम्झिए । म बागबजारतिर टन्डेली मार्दै थिएँ । साँझको एकाध घन्टा बागबजारतिरै बित्थ्यो मेरो ।
सुन्दर श्रेष्ठको आइडियल डिजाइनर्समा फोन गरेर उनले मलाई तत्काल इमेज च्यानल केएटीएच एफएम ९७.९ को पाकोस्थित कार्यालयमा बोलाए । त्यसबखत भरत केएटीएच एफएमको स्टेशन म्यानेजर थिए ।
भरत, श्रीओम, विमल पाण्डे र म, त्यसैबेला पाक्षिक रूपमा एउटा पत्रिका प्रकाशन गर्ने कि भन्ने छलफलमा थियौँ । यसै विषयमा कुराकानी होला भन्ने सोचेर म न्युरोड तिर लम्किएँ ।
इमेजको ६ तलामाथि भरतको अफिस थियो । भेटमा भरतले कुनै भूमिका नबाँधी भने, “एफएममा गजलको कार्यक्रम ‘साम–ए–गजल’ चलाउनु पर्यो, राजेश ।”
भरतको यो भनाइले मलाई फेरि २०५३ बैशाख १ गतेकै अवस्थामा पुर्यायो । मंसिर महिना भएकाले पसिना त छुटेन, तर मुटुको धडकनले गति समायो ।
‘साम–ए–गजल’ कार्यक्रम त्यसअघि मित्र प्रकाश सायमीले संचालन गर्थे । र, केही दिनअघि मात्रै उनले एफएम छाडेका थिए । त्यसैबेला भरतले मलाई सम्झिए ।
त्यो शुक्रबारको दिन थियो । भरतसँग भएको कुराकानीपछि म कोठा फर्किन पाइनँ । त्यस साँझ राती १० बजेसम्मै एफएममा बसेँ ।
त्यो साता नाइट सिफ्ट इन्चार्ज नरेश मल्लले नै गजलको कार्यक्रम संचालन गरे । यसरी तीन रात (शुक्रबार, शनिबार र आइतबार) साँझ ९ बजेदेखि १० बजेसम्मै स्टुडियोमा नरेश, प्राविधिक मित्र प्रकाश महर्जन र रमेश महर्जनका क्रियाकलाप हेर्दै रमाएर बसेँ ।
एकअर्थमा केएटीएचको स्टुडियोसँग घुलमिल भएर बसेँ । तीन दिनै नरेशले हिन्दी गजलहरू बजाउँदै एकएक घन्टाको समय बिताए ।
अर्को सातादेखि सुरु भयो फेरि उद्घोषणकर्मको अर्को इनिङ । यसरी दोस्रो पटक पनि म अचानक जोडिएँ रेडियोसँग, २०५६ साल मंसिर १६ गतेदेखि ।
इमेज एफएम (सुरुमा केएटीएच ९७.९ एफएम)मा काम गर्दै लामो समय बिताएँ । २०५६ मंसिरदेखि सुरु गरेको इमेज यात्रा ०६७ जेठमा आएर टुंगियो । त्यस अवधिमा कार्यक्रम साम–ए–गजल मात्रै नभएर अनेक कार्यक्रम संचालन गरेँ ।
सरकारी, गैरसरकारी संस्थाहरूका विभिन्न प्रवद्र्धनात्मक कार्यक्रममा मैले आवाज दिएँ । जनस्वास्थ्य, वातावरण, जनसंख्या, विद्युत, भूसंरक्षणजस्ता धेरै विषयवस्तु लिएर रेडियोमा प्रस्तुत भएँ ।
सामान्यतया फोन–इन कार्यक्रमहरूमा रमाइलो गफगाफसँगै कार्यक्रम सञ्चालन गर्ने अरू साथीहरू मेरो भागमा परेजस्तो सुक्खा कार्यक्रम चलाउन त्यति निको मान्थेनन् । फलतः यस्ता प्रायोजित कार्यक्रमहरूको कुरा उठ्दा ती सबै मेरो पोल्टामा आउँथ्यो ।
इमेजमै रहँदा रेडियो नाटक पनि गरियो । सुरज श्रेष्ठको सक्रियतामा श्रीओम, उषा, संगीता, म सहित अरू केही साथीहरूले पाँच सात वटा नाटक गर्यौँ ।
२०६५ साल भदौदेखि इमेज एफएममा फुल टाइमर जागिरे भएँ । त्यसबेला इमेज न्युज एफएम १०३.६ को प्रसारण सुरु भएको थियो ।
न्युज एफएम भएकाले न्युजमा ध्यान दिनु त पथ्र्यो नै । बेलाबेला ज्योतिष गुरुहरूका साथ सहयोगी भूमिकामा रहेर ज्योतिष ज्ञान पनि प्राप्त गर्ने अवसर मिल्यो ।
यसका अतिरिक्त साहित्य, सिनेमा, अर्थ र बजारसँग जोडिएको कार्यक्रम पनि बेलाबखत मेरो जिम्मा आइपर्यो ।
तर, मलाई चिनाउने कार्यक्रम बन्यो ‘गीत गुञ्जन’, जुन इमेज एफएम ९७.९मा रातको ११ बजेदेखि १ बजेसम्म प्रसारित हुन्थ्यो । पुराना हिन्दी गीत र गजलहरूको यो प्रस्तुति धेरै लोकप्रिय भएको थियो ।
त्यसबेला मेरो उच्चारणलाई लिएर टिप्पणी नभएको होइन । म मधेसको मान्छे । मधेसको शैली मेरो लवजमा झल्किनु स्वाभाविक थियो । अनि ‘श’ र ‘स’ को उच्चारण प्रायःजसो बिग्रिन्थ्यो । स्वागत गर्दा पनि ‘श्वागत’ छ मित्र भन्थेँ सायद ।
यसैलाई लिएर कतिले आलोचना गरे । गल्ती गरेपछि नस्वीकार्ने कुरै भएन । गल्ती स्वीकार्दै उच्चारण सच्याउने प्रयास पनि गर्दै गएँ ।
‘गीत गुञ्जन’को प्रस्तुतिमा भने श्रोताले मलाई मलाई माया गरेकै हुन् । त्यसबेलाका कैयन श्रोता मसँग आज पनि ठोकिन्छन् । भन्छन्, “तिमी गीत गुञ्जन चलाउने राजेश होइनौ ?”
इमेजबाट बाहिरिएपछि सिटिजन एफएम ९४ मेगाहर्जसँग गाँसिन पुगेँ । भरत त्यहीँ थिए । सिटिजन एफएममा रहँदा कलाकर्मी र रंगकर्मीहरूको रंगयात्राका पुराना दिन सम्झना गराउने गरी कार्यक्रम ‘नेपथ्य’को थालनी गरेँ ।
कार्यक्रममा यादव खरेल, प्रचण्ड मल्ल, रामेश, अशेष मल्ल, लक्ष्मीनाथ शर्मा, मदनदास श्रेष्ठ, तुलसी घिमिरेजस्ता पुराना र स्थापित कलाकर्मीहरूको पुरानो संघर्षशील समय खोतल्ने काम गरियो ।
त्यहाँ रहँदा केही समय ग्रामिण विकासमा आधारित कार्यक्रम पनि सञ्चालन गर्नु परेको यतिखेर सम्झना आउँछ ।
त्यसैताका एक पटक संविधानविद् डा. विपिन अधिकारीले मलाई, ‘रुल अफ ल’ कार्यक्रमको सञ्चालन गर्न भने ।
कुरा भएअनुसार त्यो कार्यक्रमको सारा काम सकिएको थियो । कार्यक्रम ‘रुल अफ ल’को प्रोमो पनि तयार भइसकेको थियो । अब कार्यक्रम रेकर्ड गर्न मात्रै बाँकी थियो ।
तर, कार्यक्रम रेकर्ड हुने वातावरण बनेन !
एफएमको व्यवस्थापनमा किचलो सुरु भयो । समाचार संयोजक र एफएमका सीइओबिचमा भनाभन भयो । मालिकहरूले समाचार संयोजकलाई हटाउन मानेनन् । तत्कालै सीइओ भरतले एफएमबाट बिदा लिए ।
समाचार संयोजकप्रति मालिकहरू किन दयनीय भए, त्यसको कारण थाहा पाउन सकिएन । भरतको समर्थनमा रहेका अध्यक्षले पनि आफ्नो जिम्मेवारी छोडे । सँगसँगै करिब २० जनाको एउटा समूह एकैसाथ एफएमबाट बाहिरियो ।
त्यसपछि पनि एफएमसँग जोडिने क्रम भने रोकिएन । यो घटनाले ‘रेडियोमा अब काम गर्दिनँ’ भन्ने मलाई लागेको थियो । तर, केही वर्ष निरन्तर रेडियोसँग मात्रै जोडिएकोले कता जाने भन्ने सोच्न सकिरहेको थिइनँ । अलमल अलमलमै रहेँ ।
सिटिजन एफएम छोडेको केही दिनमै रेडियो राजधानीसँग जोडिने तारतम्य मिल्यो । र, केही वर्ष त्यहाँ बिताएँ ।
त्यहाँको व्यवस्थापन पनि ‘जुनै जोगी आए पनि...’ भनेजस्तै देखियो । अन्ततः त्यहाँबाट पनि बाहिरिएँ ।
यस्ता एफएम रेडियोहरूबाट बाहिरिए पनि आवाजको खेतीमा कुनै न कुनै रूपमा जोडिँदै गएँ । कुनै एफएममा साताको एउटा कार्यक्रम संचालन गरेँ त कुनैमा साताको तीन वटासम्म भ्याएँ ।
यसरी आधा दर्जन बढी एफएम रेडियोहरूमा करिब २५ वर्षसम्म बोलिरहेँ । जुन क्रम अहिले रोकिएको छ ।
०००
यतिखेर एउटा प्रसंगको सम्झना भइरहेछ । एकताका रेडियो अन्नपुर्ण नेपाल ९४ मेगाहर्जमा कार्यक्रम संचालन गर्ने कुरो चल्यो । त्यसबेला एफएमका प्रमुख थिए पत्रकार राजाराम गौतम ।
कुराकानीका क्रममा पुरानो प्रस्तुति ‘नेपथ्य’को प्रसंग उठ्यो । र, यही कार्यक्रमलाई निरन्तरता दिने कुरो भयो ।
त्यसको पहिलो अंकका लागि मैले वरिष्ठ चलचित्रकर्मी नीर शाहसँग समय लिएँ । दिन थियो, २०७१ सालको चैत्र मसान्त ।
बुढानिलकण्ठ जानेबाटोमा पर्ने इटालीटार हाइटस्थित नीर दाइको घरमा पुगेर करिब एक घण्टा नेपथ्यका लागि कार्यक्रम रेकर्ड गरेँ । र, छुट्टिने बेलामा भनेँ, “दाइ, तपाईंले रेडियोमा उद्घोषण गर्न लगाउनु भएको पनि १९ वर्ष बितेछ ।”
यसो भनिरहँदा नीर दाइ नोेस्टाल्जिक भए र भने, “हो त राजेशबाबु, चैत्र मसान्तदेखि नै त हो हामी हन्ड्रेड मेगाहर्जमा अन एयर गएको !”