site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजारमा लगानी गर्नुभन्दा पहिले के कुरामा ध्यान दिने ?

काठमाडौं । ‘सेयर बजार समुन्द्र हो । समुन्द्रमा जत्रो भाँडो डुबाएर पानी निकाल्न सक्यो त्यति नै निस्किन्छ,’ यो भनाइ सेयर बजारसम्बन्धी लेखक रवीन्द्र भट्टराईको किताबमा उल्लेख छ । हुन पनि यो भनाइ यथार्थ नै हो । जसले जति बढी जोखिम लिएर सेयर बजारमा लगानी गर्छ, त्यहीअनुसार उसले नाफा आर्जन गर्न सक्छ । तर, लगानीकर्ताले कम्पनी छनोटमा ध्यान दिनुपर्ने हुन्छ । कुनै कम्पनीको सेयर मूल्य सस्तो छ भनेर आँखा चिम्लिएर लगानी गर्नु हुँदैन ।

लगानीकर्ताले कुनै कम्पनीको सेयर किन्नुभन्दा पहिले त्यो कम्पनीको बारेमा अध्ययन गर्नुपर्छ । सेयर खेलाडीले कुनै कम्पनीको सेयर मूल्यलाई उचालिरहेका हुन्छन् । उनीहरूले सर्वसाधारण लगानीकर्तालाई आकर्षित गर्न सामाजिक सञ्जालमा त्यो कम्पनीको बारेमा सकारात्मक सूचना प्रवाह गरिरहेका हुन सक्छन् ।  

तर, लगानीमा जोखिम लिने भन्दैमा जुन पायो त्यही कम्पनीको सेयर खरिद गर्नु हुँदैन । कम्पनीको नाफा, विगत ५/६ वर्षदेखिको लाभांश क्षमता, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, कम्पनीले गर्ने व्यवसाय लगायतका पक्ष हेर्नु आवश्यक छ । कम्पनीले यस्ता विवरण नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नियमित बुझाएका हुन्छन् । ती कम्पनीको बारेमा बुझ्न मन लागे नेप्सेको वेबसाइटबाट पनि केही आधारभूत कुरा हेर्न र बुझ्न सकिन्छ ।

Dabur Nepal
NIC Asia

कम्पनीको व्यवसाय कुन किसिमको हो, त्यो दिगो छ वा छैन भनेर अध्ययन गर्नुपर्छ । नत्र सेयर बजारमा सूचीकृत भएका धेरै कम्पनीहरू बन्द हुनुका साथै बजारमा कारोबारमा पनि छैनन् ।

सेयरमा लगानी गर्नेले बुझ्नै पर्ने आधारभूत कुरा
कम्पनीको बारेमा थाहा पाउनुपर्ने

कम्पनी छनोट गर्दा सञ्चालक समितिमा को–को छन् ? तिनीहरूको यसअघिको पृष्ठभूमि के हो ? यो व्यवसायमा लागेको कति वर्ष भयो । सामाजिक रूपमा कति परिचित छन् ? व्यावसायिक छवि कस्तो छ ? भनेर पनि हेर्नुपर्छ । किन भने दोस्रो बजारबाट सेयर किन्नु कम्पनीको घाटा–नाफा वा भोलि कम्पनीमाथि भैपरी आएको सबै स्वीकार्छु भनिएको हो ।

कम्पनी र सञ्चालकको पृष्ठभूमि थाहा पाउन अहिले सजिलो छ । पुराना कम्पनीहरू भए तिनको विवरण फेला पार्न नसकिएला, तर चार/पाँच वर्षदेखि धितोपत्र दोस्रो बजारमा आएका कम्पनीको विवरण पाउन सहज छ । नेपाल धितोपत्र बोर्डको वेबसाइटमा विवरणपत्र राखिएको हुन्छ । त्यस विवरणपत्रमा कम्पनीको बारेमा वितृत दिइएको हुन्छ । त्यो पढेर पनि कम्पनीको बारेमा थाहा पाउन सकिन्छ ।  

राम्रो व्यावसायिक पृष्ठभूमि भएको व्यक्तिले समूहिक रूपमा सञ्चालन गरेको कम्पनीको सेयर खरिद गर्ने प्रयास गर्नुपर्छ । साथीको लहैलहै र भनाइमा लागेर कम्पनीको सेयर किन्नु हुँदैन ।

त्यस्तै सेयर किनेर प्रतिफल खाइराख्ने वा सेयरको व्यापार गर्ने लगानीकर्ता स्वयंम् स्पष्ट हुनुपर्छ । जहिले पनि सेयर बजार घटेको बेलामा किन्ने र बढेको बेलामा बेच्ने रणनीति बनाउनुपर्छ । यसलाई ‘अरू निराश भएको बेला आफू उत्साहित भएकार किन्ने र अरु उत्साहित भइरहेको बेला आफ्नो नाफा बुक’ गर्नतर्फ लाग्नुपर्छ । यो नै सेयर बजारको मन्त्र हो । रवीन्द्र भट्टराईद्वारा लिखित किताबहरूको सार पनि यही नै हो ।

आम्दानीमा नाफाको प्रतिशत
खुद नाफालाई कुल आम्दानीले भाग गरेर कुल आम्दानीमा नाफाको अनुपात निकालिन्छ । यो अनुपात जति बढी भयो त्यति राम्रो हो । आम्दानीमा नाफाको प्रतिशत बढी भए कम्पनीले आम्दानीमा धेरै नाफाको मार्जिन राखेर बिक्री गर्न तथा खर्च नियन्त्रण गर्न सफल भएको भन्ने बुझाउँछ ।

आम्दानीमा नाफाको प्रतिशत बढ्दो क्रममा छ भने कम्पनी राम्रो मानिन्छ । प्रतिस्पर्धी कम्पनीहरूबीच तुलना गर्दा नाफाको मार्जिन बढी भएको कम्पनी राम्रो हो । यसलाई सेयर बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गर्नुभन्दा अगाडि हेर्नुपर्ने आधारभूत पक्षको रूपमा लिइन्छ ।

प्रतिसेयर आम्दानी
करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । प्रतिसेयर आम्दानी र सेयर मूल्यसम्बन्धी धनात्मक हुन्छ । प्रतिसेयर आम्दानी बढ्यो भने सेयर मूल्य पनि बढ्छ, घट्यो भने घट्छ । प्रतिसेयर आम्दानी कम्पनीको वास्तविक नाफा विश्लेषण गर्ने एउटा औजार हो । सेयरको संख्या बढ्दै गयो भने प्रतिसेयर आम्दानी घट्छ । बोनस तथा हकप्रद सेयर जारी गर्दा पनि कम्पनीको प्रतिसेयर आम्दानी घट्छ । प्रतिसेयर आम्दानी बढ्दै गएको कम्पनी धितोपत्र बाजरमा राम्रो मानिन्छ । सेयर खरिद गर्नुभन्दा पहिले बढी प्रतिसेयर नाफा भएका कम्पनी छनोट गर्नुपर्छ ।

प्रतिसेयर नेटवर्थ
कम्पनीको सम्पूर्ण सम्पत्तिबाट तिर्नुपर्ने दायित्व घटाएपछि बाँकी रहने रकमलाई नेटवर्थ भनिन्छ । यसलाई किताबी मूल्य पनि भनिन्छ । कुल नेटवर्थलाई सेयर संख्याले भाग गरेर प्रतिसेयर नेटवर्थ अर्थात् प्रतिसेयर किताबी मूल्य निकालिन्छ ।

प्रतिसेयर नेटवर्थ धनात्मक वा ऋणात्मक जुनसुकै हुन सक्छ । धनात्मक प्रतिसेयर नेटवर्थ भएका कम्पनी तत्काल बन्द भए पनि सेयरधनीले किताबी मूल्यमा भएको मूल्य बराबरको पैसा फिर्ता पाउँछन् । तर, ऋणत्मक नेटवर्थ भएका कम्पनीहरूमा लगानी गर्नेले कम्पनी बन्द भएको खण्डमा आफ्नो लगानी फिर्ता पाउँदैनन् ।

प्रतिसेयर नेटवर्थले लगानीकर्ताले कम्पनीमा गरेको एक सेयरको मूल्यलाई पनि जनाउँछ । उदाहरणका लागि कुनै कम्पनीको प्रतिसेयर नेटवर्थ १५० छ भने त्यो कम्पनीको असली मूल्य त्यति मात्र हो । तर, १५० रुपैयाँ प्रतिसेयर नेटवर्थ भएका कम्पनीको बजार मूल्य ५०० हुन पनि सक्छ । नेप्सेका अनुसार नेटवर्थको तीन गुणासम्म बराज मूल्य स्वभाविक हो । तर, यो कम्पनीमा लगानी गर्ने लगानीकर्ताले ३५० रुपैयाँको जोखिम लिएको छ भन्ने बुझिनछ ।

सेयरको संख्या बढ्दै गए प्रतिसेयर नेटवर्थ घट्न जान्छ । नेटवर्थ जति धेरै भयो कम्पनी पनि त्यति नै सुरक्षित मानिन्छ । नेटवर्थ धनात्मक र बढी भएका कम्पनी छनोट गरेर ती कम्पनीको सेयर खरिद गर्नु नै लगानीकर्ताका लािग उपयुक्त मानिन्छ ।

मूल्य आम्दानी अनुपात
कम्पनीको सेयर मूल्यलाई पछिल्लो प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै मूल्य आम्दानी अनुपात हो । यसलाई गुणामा मापन गरिन्छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत र नाफामा गएका कम्पनीको मात्र मूल्य आम्दानी अनुपात निकालिन्छ । मूल्य आम्दानी अनुपातले कम्पनीले कमाएको एक रूपैयाँ बराबर आम्दानीका लागि लगानीकर्ता कति तिर्न तयार हुन्छन् भन्ने देखाउँछ । उदाहरणका लागि कुनै कम्पनीको मूल्य आम्दानी अनुपात २० गुणा छ भने यो कम्पनीलाई एक रूपैयाँ आम्दानी गर्न सेयरधनीको २० रुपैयाँ खर्च भएको छ । सेयर बजारमा खरिदकर्ताले तुलनात्मक रूपमा कम मूल्य आम्दानी अनुपात भएको कम्पनी छनोट गर्नुपर्छ । तर, बिक्रेताले भने बढी मूल्य आम्दानी अनुपात भएका कम्पनी बिक्री गर्नुपर्छ । यसले फाइदा हुन्छ ।

सम्पत्तिमा प्रतिफल
खुद नाफालाई कुल सम्पत्तिले भाग गरेर कुुल सम्पत्तिमा प्रतिफल निकालिन्छ । यसलाई अंग्रेजीमा ‘रिटर्न अन एसेर्स्’ भनिन्छ । नाफा आर्जनमा कम्पनीले सम्पत्तिको प्रभावकारी उपयोग गरेको छ वा छैन भनेर यो अनुपात गणना गरिन्छ । यो अनुपात जति बढी भयो त्यति नै कम्पनीको कार्य सम्पादन राम्रो मानिन्छ । सेयर खरिद गर्दा यो अनुपात बढी भएको कम्पनी छनोट गर्नुपर्दछ ।

इक्विटीमा प्रतिफल
सेयरधनीसँग सम्बन्धित पुँजी जस्तै सेयर पुँजी, जगेडा कोष र सेयर प्रिमियमको योगलाई कुल इक्विटी भनिन्छ । खुद नाफालाई कुल इक्विटीले भाग गर्दा आउने परिणाम इक्विटीमा प्रतिफल हो । इक्विटीमा प्रतिफल कम्पनीले कमाएको वास्तविक नाफाको मूल्यांकन गर्ने अन्तिम औजार पनि हो । यसले सेयरधनीले कम्पनीमा गरेको लगानीमा प्राप्त प्रतिफलको मूल्यांकन गर्न सकिन्छ । यो अनुपात जति बढी भयो त्यति कम्पनीको कार्य सम्पादन राम्रो मानिन्छ । सेयर बजारमा लगानी गर्दा इक्विटीमा उच्च प्रतिफल भएका कम्पनी छनोट गर्नु राम्रो मानिन्छ ।

त्यसैगरी बैंक वित्तीय संस्था भए खराब कर्जा कम भएको हेर्नुपर्छ । खराब कर्जा पाँच प्रतिशतभन्दा बढी भएका बैंक तथा वित्तीय संस्थाका सेयरमा लगानी गर्नु बढी जोखिम हुन सक्छ । यसका साथै कम्पनीको लाभांशमा प्रतिफल तथा ऋण अनुपात पनि सेयर खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरू हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro