मान्नुहुन्छ–
पत्रकार अँध्यारोभित्र उड्ने जुनकिरी हो !
अझ
निस्पट्ट समयको छातीमा नाच्ने आगोको फिलिंगो हो !
पत्रकार त
निहत्था समयको मनमा
विस्तारै बहने शीतल हावा हो !
घनघोर बादलभित्र पसेको
साँझको यात्रामा अलमलिएका युवाहरूको
आँखामा उदाउने जून हो !
शासकहरूका लागि
आँधीबेहरी हो
अँध्यारोमा जाग्राम बसेर
देशको मन हल्लाउनेहरूका लागि
अनियन्त्रित डढेलो पनि हो !
सबै जुनकिरी निरोगी हुन्छन्
र अँध्यारोमा टल्किन्छन् भन्ने छैन
तर मान्नुहोस्–
हरेक मानिसको अँध्यारो मगजमा
दीप बाल्ने काम पत्रकारले मात्रै गर्न सक्छ !
यत्ति हो,
निर्लज्ज अड्डाअदालत
र निरंकुश सरकारका लागि पत्रकार प्राणरहित फाल्तु प्राणी लाग्छ !
अन्ततः
त्यही फाल्तु प्राणीले
तिनीहरूका कर्तुतको पहाड ढालिदिन्छ !
र, आफ्नै अपराधका पहाडले थिचिन्छन् !
श्रीमान्,
आगोलाई थुनेर
कहिलेसम्म उज्यालोको कुरा गर्नुहुन्छ !
उज्यालोलाई हतकडी लगाएर
कहिलेसम्म न्यायको वकालत गर्नुहुन्छ !
पत्रकार
उज्यालोको हुलाकी हो
सलाईका काँटी हो
समय सन्दर्भमा ऊ पड्किनुपर्छ !
पत्रकारले नै देखाइदिन्छ
शासकका मनमा जन्मिएको हुँडार
अनि, पत्रकारले नै त देखाइदिन्छ
न्यायाधीशको मनभित्र भाँचिएको न्यायको तराजु !
श्रीमान्,
पत्रकारले लेख्ने समाचारभित्र
सडकको मन
कुवामा जमेको पानीको गीत
र अँध्यारोको हर्कत
कहिल्यै पढ्नुभएको छ ?
पत्रकार कदापि व्यक्ति होइन !
ऊ त
अलिकति माटो
अलिकति ढुंगा
अलिकति पानी हो
पत्रकार
अलिकति बाटोको किनारा
अलिकति बाढीपहिरो
अलिकति हाँस्न नजाजेका ओठका डिल
अलिकति दृष्टि र दृश्य पनि !
अनि, देशको आत्मा हो !
अझ बढी त
जनताको गन्ध बोकिउड्ने वन चरी हो !
सरकार,
चरालाई कैदी बनाएर
आकाशको के कुरा गर्छौ ?
देशको आत्मालाई थुनेर
देशको के कुरा गर्छौ ?
सडकको किनारा भत्काएर
स्वतन्त्र यात्राको के भाषण गर्छौ ?
देशको आत्मासँग
जिस्किनुपूर्व
सोच्न जरुरी छ–
जनताको पसिनाले बनेका पर्खाल
भत्किन कुनै विशेष समय चाहिन्न !