site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपहिरोबाट १७ अर्बको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?

काठमाडौं । प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । तरकारी नष्ट भयो । 

सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए । बस्ती बगे । थातथलो बग्यो । पशुचौपायाले अकालमा ज्यान गुमाए । बाढीकै कारण कैयौँको लगानी क्षणभरमा नष्ट भयो । 

नेपाली समाजमा एउटा भनाइ लोकप्रिय छ, “विपत्ति बाजा बजाएर आउँदैन । तर यस पटकको अविरल वर्षापछिको बाढीपहिरो नेपालीका लागि बाजा बजाएर आएभन्दा पनि चर्को भयो । चाडबाडको सम्मुखमै क्षतिग्रस्त भएको वीपी राजमार्ग पूर्ववत् अवस्थामा कहिले सञ्चालनमा आउने हो ठेगान छैन । पृथ्वी र त्रिभुवन राजमार्गको अवस्था उस्तै छ । 

राजधानीको खाद्यान्न गोदाम भनेर चिनिएको कालीमाटी र बल्खु बजार अझै नियमित सञ्चालनमा आउन सकेको छैन । राजमार्गमा नियमित सवारी नचल्दा भोकभोकै यात्रु पैदलयात्रा गर्न बाध्य छन् । 

जल तथा मौसम विज्ञान विभागले जानकारी दिँदा पनि कैयौँ नागरिकले अकालमा ज्यान गुमाएका छन् । 

काठमाडौंको बल्खु, नख्खु, वाग्मतीका किनार तथा भक्तपुरको हनुमन्तेलगायतका खोला र नदी किनार पूर्ववत् अवस्थामा फर्कन अझै धेरै दिन लाग्ने स्पष्ट छ । बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार १७ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको विवरण संकलनका क्रममा रहेकाले यो अझै बढ्नसक्ने स्पष्ट छ । 

सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेषगरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ । 

कुलेखानी जलाशयको पानी खोल्दा गएको बाढी र पहिरोका कारण मकवानपुरको इन्द्रसरोवर–३ मा रहेको वत्सलादेवी माविमा सञ्चालित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीमा अध्ययनरत ६ जना विद्यार्थीको ज्यान गएको छ । पहिरोले पुरिँदा मकवानपुरका तीन र अन्य जिल्लाका तीन गरी बालकले ज्यान गुमाए ।

बाढीका कारण सबैभन्दा बढी समस्यामा वीपी राजमार्ग परेको छ । रोशी खोला किनारका बस्ती क्षतविक्षत भएको छ । हालसम्मको विवरणअनुसार बाढीपहिरोबाट सडक र पुलमा मात्रै दुई अर्ब ५२ करोड बराबरको क्षति भएको छ । बाढीले पाँचवटा पक्की पुल र दुईवटा बेलिब्रिजमा क्षति पुगेको छ । 
    
पछिल्लो पटकको बाढीपहिरोमा परी हालसम्म २२४ जनाको निधन भएको छ । २४ जना बेपत्ता छन् । १५८ जना घाइते छन् । 

उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको मुख्यसचिव अर्यालको भनाइ छ । कृषि क्षेत्रमा करिब ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्यांक छ । 

कूल ५८ हजार ४७६ हेक्टरमा लगाइएको तीन अर्ब ५० करोड बराबरको धानबालीमा क्षति पुगेको छ । किसानका २६ हजार २०५ वटा पशुपन्छीमा क्षति पुगेको छ । 

भौतिक क्षतितर्फ खानेपानी संरचनामा तीन अर्ब ५५ करोड, सडक पूर्वाधारमा दुई अर्ब ५२ करोड, ऊर्जातर्फ चार अर्ब र जलस्रोत तथा सिँचाइतर्फ एक अर्ब ३५ करोड बराबरको क्षति भएको छ । 

बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकामा नौवटा सञ्चालन आइसकेका छन् ।  ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण सडक विभागअन्तर्गतका झण्डै २२ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ । त्यसमा सडकतर्फ एक अर्ब ५० करोड ५० लाख, पुलतर्फ ८२ करोड र बेलीब्रिजतर्फ २० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण छ ।  

मन्त्रालयका अनुसार १४ वटा सडकको ४२ स्थानमा बाढीपहिरोका कारण क्षति पुगेको छ ।

बाढीपहिरोका कारण अरनिको राजमार्ग, वीपी राजमार्ग कान्ति राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग मदन भण्डारी राजमार्ग र कालिगण्डकी कोरिडोरमा क्षति पुगेको छ । 

सुनकोसी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सींटारको पुल पूर्णरूपमा क्षति पुगेको छ । अरनिको राजमार्गअन्तर्गत लिपिङ पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाउँदा यातायात सञ्चालनमा असुविधा उत्पन्न भएको छ । 

लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज बाढीले बगाएको छ । सुनकोसी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङटारको पुल पूर्णरूपमा क्षति भएको विवरण छ । 

अरनिको राजमार्गअन्तरगत लिपिंग पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाएको छ । लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज समेत बाढीले बगाएको छ । 

ऊर्जा र जलस्रोततर्फ समग्रमा चार अर्ब ३५ करोड बराबरको क्षति भएको छ । नदी नियन्त्रणका लागि बनाइका तटबन्धमा करिब एक अर्ब १६ करोड २० लाख बराबरको क्षति पुगेको छ । 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा निर्माणाधिन ‘कफर ड्याम’ पानीमुनी परेको छ । त्यसमा के कति क्षति भयो भन्ने कुराको मूल्यांकन भइरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले जानकारी दिए ।  

यस्तै, खानेपानी आयोजनामा तीन अर्ब ५५ करोड ७० लाख बराबरको क्षति पुगेको छ । नेपाल खानेपानी निगम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र खानेपानी मन्त्रालयअन्तर्गत साना–ठूला आयोजनामा बाढीले समस्या पैदा गरेको छ । 

काभ्रेपलाञ्चोक, भक्तपुर र रामेछापका खानेपानी आयोजनामा क्षति पुगेको छ । कूल ६६ जिल्लाका खानेपानी आयोजनामा क्षति भएको छ । अविरल वर्षापछिको बाढीपहिरोले खानेपानीको पाइपलाइन, बोरिङ प्रशोधन केन्द्र, ट्यांकलगायत संरचनामा क्षति पुगेको छ ।

सरकारले खोज तथा उद्धारमा ३० हजार ७३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका नागरिकका घरपरिवारलाई राहत वितरण सुरु भइसकेको सरकारको भनाइ छ । 

बाढीपहिरोबाट अवरुद्ध भएका सडकलाई थप तदारुकताका साथ सञ्चालनमा ल्याउने, पहिरोबाट अवरुद्ध सडक खोल्ने, बेलिब्रिज जडान गर्ने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यमबाट सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।  

विपद्लाई देखाएर अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी नियन्त्रणका लागि सरकारले कडा नीति अख्तियार गर्ने स्पष्ट पारिसकेको छ । 

विभिन्न स्थानमा अवरुद्ध टेलिफोन सेवा र विद्युत् सेवा नियमित गराउन आवश्यक जनशक्ति परिचालन गरी पुनःनिर्माण र पुनःस्थापनाको काम भइरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro