site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘हिजबुल्लाहका अर्का शीर्ष अधिकारी मारिए’

जेरुसेलम । लेबनानी सशस्त्र समूह हिजबुल्लाह उसको समग्र नेता हसनल नसरल्लाहको हत्या र अरू विनाशकारी आघातबाट लडखडाइरहेका बेला हवाई आक्रमणमा अर्का एक शीर्ष अधिकारीलाई मारिएको इजरायली सेनाले आइतबार जनाएको छ । इजरायली सेनाले हिजबुल्लाहको केन्द्रीय परिषद्का उपप्रमुख नबिल काउकलाई शनिबार मारिएको जनाएको छ ।

हिजबुल्लाहका तर्फबाट यसबारे तत्काल कुनै टिप्पणी गरिएको छैन । साथै, आक्रमण कहाँ गरिएको थियो भन्नेबारे पनि जानकारी भएको छैन ।

काउक सन् १९८० को दशकदेखि नै हिजबुल्लाहका अनुभवी सदस्य थिए । उनले सन् २००६ मा इजरायलसँगको युद्धमा दक्षिणी लेबनानमा हिजबुल्लाहको सैन्य कमान्डरका रूपमा सेवा गरेका थिए । उनी प्रायः स्थानीय सञ्चारमाध्यममा देखा पर्थे र राजनीति तथा सुरक्षा विकासमा टिप्पणी गर्थे । साथै, वरिष्ठ लडाकुको अन्त्येष्टिमा श्रद्धाञ्जली दिन्थे । अमेरिकाले सन् २०२० मा उनीविरुद्ध प्रतिबन्ध घोषणा गरेको थियो ।

हालैका सातामा इजरायली आक्रमणमा दशकौँसम्म मृत्यु र पक्राउबाट बच्दै आएका हिजबुल्लाहका संस्थापक सदस्यलगायत धेरै वरिष्ठ कमान्डर मारिएका छन् । मारिनेमा नसरल्लाहका नजिकका व्यक्तिहरू पनि छन् ।

हिजबुल्लाहलाई उसका पेजर र वाकीटकीहरूमा गरिएको परिष्कृत आक्रमणको निसाना बनाइएको थियो । उक्त आक्रमणका निम्ति व्यापक रूपमा इजरायलमाथि दोष लगाइएको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, लेबनानका ठूला क्षेत्रमा गरिएको इजरायली हवाई आक्रमणबाट दुई साताभन्दा कम समयमा १५६ महिला र ८७ बालबालिकासहित एक हजार ३० जनाको ज्यान गएको छ ।

पछिल्ला आक्रमणका कारण लेबनानमा लाखौँ मानिस आफ्नो घरबाट भाग्न बाध्य भएका छन् । वातावरणमन्त्री नासिर यासिनले करिब दुई लाख ५० हजार मानिस आश्रयस्थलमा रहेका सरकारले अनुमान गरेको बताए । त्यसको तीनदेखि चार गुणा मानिस साथी वा आफन्तकहाँ बसिरहेका छन् वा सडकमा शिविर बनाएर बसेका छन् ।

हिजबुल्लाहले पनि उत्तरी इजरायलमा रकेट र मिसाइलहरू प्रहार गरेको छ । तर, अधिकांशलाई रोकिएको छ वा खुला क्षेत्रमा खसेका छन् । यसबाट उत्तरी इजरायलमा केही हताहत र सामान्य क्षति भएको छ ।

प्यालेस्टाइनी लडाकु समूह हमासले अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणले गाजामा युद्ध सुरु भएपछि हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट, मिसाइल र ड्रोनहरू प्रहार गर्न थालेको थियो । हिजबुल्लाह र हमास दुवै इजरायलविरुद्ध इरान समर्थित ‘प्रतिरोधको धुरी’का हिस्सा मान्ने सहयोगी हुन् ।

इजरायलले हवाई आक्रमणमार्फत जवाफ दिएको छ । र, क्षेत्रव्यापी द्वन्द्वको आशंका बढेको छ ।

हिजबुल्लाहले गाजामा युद्धविराम भएको अवस्थामा मात्र आफ्नो रकेट प्रहार रोक्ने जनाएको छ ।

अमेरिका, कतार र इजिप्टको नेतृत्वमा इजरायल र हमासबीच महिनौँको अप्रत्यक्ष वार्ताका बाबजुद अझै पनि युद्धविराम सम्भव भएको छैन । रासस/एपी

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro