site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
इरानले गर्‍यो नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण
फाइल तस्बिर : एएफपी ।

तेहरान । लामो समयदेखि पश्चिमा आलोचना खेप्दै आएको एयरोस्पेस कार्यक्रमका निम्ति इरानले शनिबार नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

“चाम्रन–१ अनुसन्धान उपग्रहलाई गाएम–१०० रकेटले सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरेको छ,” राष्ट्रिय टेलिभिजनले भनेको छ ।

करिब ६० किलोग्राम (१३२ पाउन्ड) तौल भएको उक्त स्याटेलाइटलाई कक्षीय प्रविधिका निम्ति हार्डवेयर र सफ्टवेयर प्रणालीको परीक्षण गर्न डिजाइन गरिएको जनाइएको छ ।

रक्षा मन्त्रालयसँग सम्बद्ध इरानी विद्युतीय उद्योगले यो उपकरणको डिजाइन बनाएर निर्माण गरेको सरकारी टेलिभिजनले जनाएको छ ।

संयुक्त राज्य अमेरिकालगायत पश्चिमा सरकारहरूले इरानलाई यस्ता प्रक्षेपणविरुद्ध बारम्बार चेतावनी दिँदै आएका छन् । र, यही प्रविधि ब्यालिस्टिक क्षेप्यास्त्रका निम्ति प्रयोग गर्न सकिने बताउँदै आएका छन् ।

इरानले आणविक अस्त्रको खोजी नगरेको र आफ्नो स्याटेलाइट र रकेट प्रक्षेपण नागरिक वा प्रतिरक्षा प्रयोजनका निम्ति मात्र भएको जनाउँदै आएको छ ।

इरानको रिभोल्युसनरी गार्ड कोप्र्सको अन्तरिक्ष हेर्ने संगठनले गाएम–१०० रकेटको निर्माण गरेको हो । यो क्यारियर देशको पहिलो र तीन तहको ठोस–इन्धन उपग्रह प्रक्षेपक हो ।

इरानी सरकारी सञ्चारमाध्यमले जनवरीमा ५०० किलोमिटरभन्दा माथिको कक्षमा पहिलोपटक उपग्रह पठाउनका निम्ति यसको प्रयोग गरिएको जनाएका छन् । 

इरानले वर्षौँदेखि आफ्नो अन्तरिक्ष गतिविधिलाई शान्तिपूर्ण र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावानुसार रहेको जनाउँदै आएको छ ।

गएको फेब्रुअरीमा रुसले इरानी रिमोट सेन्सिङ र इमेजिङ स्याटेलाइटलाई अन्तरिक्षमा पठाएको थियो । त्यति बेला इरानका सञ्चारमन्त्रीले विगत दुई वर्षमा इरानले एक दर्जन स्याटेलाइट प्रक्षेपण गरिसकेको बताएका थिए ।

गार्ड्सले एउटा अनुसन्धान उपग्रह प्रक्षेपण गरेको करिब एक हप्तापछि जनवरीमा इरानले एकैपटक तीन उपग्रहलाई कक्षमा पठाएको जनाएको थियो ।

इस्लामिक गणतन्त्र इरानले विगतमा धेरै उपग्रह प्रक्षेपण विफलताको सामना गर्नुपरेको छ ।

सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले तेहरान र प्रमुख शक्तिराष्ट्रहरूबीच भएको ऐतिहासिक आणविक सम्झौतालाई एकतर्फी रूपमा त्यागेपछि इरानले पश्चिमा प्रतिबन्धको सामना गर्दै आएको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  २२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro