
काठमाडौं । कायममुकायम प्रधानसेनापति रथी अशोकराज सिग्देलले सोमबारबाट नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन् । उनी अब तीन वर्ष नेपाली सेनाको प्रधानसेनापति रहने छन् ।
नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई सोमबार नै प्रधानसेनापति नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका थिए ।
गत साउन १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ बमोजिम साउन २५ गतेदेखि लागु हुनेगरी कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
त्यसपछि, राष्ट्रपति रामचन्द्र पौडेलले साउन १६ गते ज्येष्ठता क्रममा रहेका बलाधिकृत रथी सिग्देललाई साउन २५ गतेदेखि लागु हुनेगरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकेका थिए । २०८१ साउन २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
मन्त्रिपरिषद् बैठकले सिग्देललाई महारथी दर्जामा बढुवा गरी प्रधानसेनापतिमा नियुक्त गर्न गरेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम महारथीको दर्न्यानी चिह्न प्रदान गरी सोमबार नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।
शपथ लिएपछि नवनियुक्त प्रधानसेनापति सिग्देल शीतलनिवास सैनिक मुख्यालय जंगीअड्डा पुगेका थिए । जंगीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
सैनिक परम्पराअनुसार उनले सोमबार नै सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि जंगीअड्डामा कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हालेका थिए ।
२०२३ माघ १९ गते रुपन्देहीको भैरहवामा जन्मेका प्रधानसेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए । सैनिक सेवामा प्रवेश गरेको ३८ वर्षपछि सोमबार उनी नेपाली सेनाको प्रधानसेनापति बनेका हुन् ।
अधिकृत आधार तालिम सम्पन्न गरेपश्चात २०४५ सालमा सहायक सेनानी दर्जामा उनको नियुक्ति देवीदत्त गणमा भएको थियो । सिग्देल आफ्नो सैनिक सेवाको दौरान स्वदेश र विदेशमा विभिन्न तालिम, अध्ययन तथा सेमिनारहरुमा सहभागी भएका छन् ।
उनले सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीबाट कमाण्ड तथा स्टाफ तालिम र नेपाली सैनिक वार कलेज नगरकोटबाट हायर कमाण्ड तथा म्यानेजमेण्ट तालिम सम्पन्न गरेका छन् । भारतबाट रक्षा व्यवस्था कोर्ष र चीनबाट नेसनल डिफेन्स कोर्ष सफलतापूर्वक सम्पन्न गरेका थिए ।
संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यको लागि उनी तत्कालीन यूगोस्लाभिया, ताजकिस्तान र लाइबेरियामा सहभागी भएका थिए ।
आफ्नो ३८ वर्षे लामो सैनिक सेवाको दौरान उनले स्टाफ, शिक्षक, कमाण्ड तथा विभिन्न नियुक्तिहरूमा कार्यरत रही आफ्ना जिम्मेवारी पूरा गरेका थिए ।
उनले वीरदल गुल्म (अनाश्रीत), रणशेर गण, प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, नं. २७ बाहिनी अड्डा, मध्य पृतना तथा उपत्यकाको कमाण्ड सफलतापूर्वक सम्पन्न गरेका छन् ।
कोभिड–१९ महामारीका दौरान उनले ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’मा संयोजकको जिम्मेवारी सम्हालेका थिए ।
उनीसँग युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, संभाररथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव छ ।
नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्ति हुनुपूर्व निमित्त बलाध्यक्ष तथा बलाधिकृतको जिम्मेवारीमा उनी कार्यरत थिए ।
महारथी सिग्देलले त्रिभुवन विश्वविद्यालयका साथै नेशनल डिफेन्स यूनिभर्सिटी चीनबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् । उनी सैनिक दीर्घ सेवा पट्ट र सुप्रबल जनसेवाश्रीलगायत मानपदवी तथा पदकबाट विभूषित छन् ।