site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूएईमा १० हजार नेपाली अवैध, वैध बनाउन दुबईमा ‘हेल्प डेस्क’ स्थापना

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले आफ्नो देशमा करिब १० हजार नेपाली अवैधरूपमा रहेको जानकारी दिएको छ । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीसँगको भेटमा दुबई इमिरेट्सको विदेश मामिलासम्बन्धी महानिर्देशनालयका महानिर्देशक लेफ्टिनेन्ट जनरल मोहम्मद अहमद अल मारीले उक्त जानकारी दिएका हुन् ।

यूएईले आफ्नो मुलुकमा अवैधरूमा बसेका विदेश कामदारलाई आममाफी दिन ‘एम्नेस्टी २०२४’ कार्यक्रम ल्याएपछि राजदूत क्षेत्री र अल मारीबीच बिहीबार भेटवार्ता भएको हो ।

“यूएईमा करिब १० हजार नेपाली अवैधरूपमा रहेको जानकारी हामीले पाएका छौँ,” राजदूत क्षेत्रीले बाह्रखरीसँग भने ।

यूएईले अवैध कामदारलाई वैध बन्नका लागि दुई महिनाको समय दिएको छ । उक्त अवधिमा प्रक्रिया पूरा गरी अवैध कामदारहरू वैध बन्न पाउने छन् । तोकिएको समयमा वैध नहुने कामदार दुई महिनापछि जुनसुकै बेला यूएईमा कारबाहीमा पर्न सक्नेछन् ।

यूएई सरकारले सेप्टेम्बर १ देखि अक्टोबर ३० सम्म दुई महिनाको समय दिएर एम्नेस्टी २०२४ घोषणा गरेको छ ।  
यूएईमा विभिन्न कारणले कामको सिलसिलामा वा भिजिट भिसामा पुगी ‘ओभर स्टे’ (भिसा अवधिभन्दा बढी बसेका) गरी जरिवाना बुझाउन नसकी स्वदेश फर्कन नसकेका कामदारलाई लक्षित गरी ‘एमनेस्टी २०२४’ कार्यक्रम ल्याएको हो । 

अवैध तरिकाले बसेका कामदारले प्रक्रिया पूरा गरी उक्त अवधिमा वैध हुन पाउने छन् । वैध भएपछि उनीहरू यूएईमै बसेर काम गर्न पाउने छन् भने फर्कन चाहनेहरू नेपाल आउन सक्ने छन् ।

राजदूत क्षेत्रीका अनुसार वर्किङ भिसा/भिजिट भिसामा यूएई पुगी रनवे/ओभर स्टे फाइनमा परेका व्यक्तिहरू र यूएईमा बस्न अनुमति पाए पनि अध्यागमन नियम उल्लंघन गरेकाहरूले एम्नेस्टीमार्फत वैध हुन पाउने छन् ।

बिहीबार दुबई इमिरेट्सको विदेश मामिलासम्बन्धी महानिर्देशनालयका महानिर्देशक अल मारीसँग भएको भेटमा ‘एम्नेस्टी २०२४’ कार्यक्रमबारे छलफल भएको थियो ।

Dubaii-1725618217.jpgभेटमा एम्नेस्टी सुविधाबाट ठूलो संख्यामा नेपाली कामदारहरू लाभान्वित हुने र कानूनीरूपमा यूएईमै पुनः श्रम गरी बस्न वा नेपाल फर्कन सक्ने अवसर प्रदान गरेकामा राजदूत क्षेत्रीले यूएई सरकारको प्रशंसा गरेका थिए ।

राजदूत क्षेत्रीले नेपाल र यूएईबीचको सम्बन्धलाई अझ बलियो र सुमधुर बनाउन दुई देशबीच उच्चस्तरमा भ्रमणहरूको आदानप्रदान हुन आवश्यक रहेको बताएका थिए । नेपालको अध्यागमन प्रणालीको विकासमा समेत यूएई सरकारको सहयोगको अपेक्षा गरेको भेटमा राजदूत क्षेत्रीले बताएका थिए ।

महानिर्देशक अलमारीले यूएई सरकार नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजान प्रतिबद्ध रहेको जनाएका थिए । नेपाली दूतावासले सञ्चालन गरेका कामहरूमा सबै प्रकारको सहयोग उपलब्ध गराउने आश्वासन पनि उनले दिएका थिए । अलमारीले नेपाली कामदारहरूको कार्यशैलीको पनि प्रशंसा गरेका थिए ।

यूएईले एम्नेस्टीको घोषणा गरेपछि यूएईको अबुधाबीस्थित नेपाली दूतावासले दुबईमा ‘नेपाल हेल्प डेस्क’ स्थापना गरी काम सुरु गरेको छ । 

“अवैधरूपमा रहेका कामदारलाई एम्नेस्टी सुविधाको प्रयोग गरी कानूनीरूपमा यूएईमै बस्न वा नेपाल फर्कन सहायता प्रदान गर्ने उदेश्यले हेल्प डेस्क स्थापन गरिएको हो,” राजदूत क्षेत्रीले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro