site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

भोजपुर । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् । 

गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेसा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए । मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय धार्नी ऊन बिक्री नभएको उनको भनाइ छ ।

“पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ”, कठेतले भने, “गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ । ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ ।”

विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी सात सयमा बिक्री हुने गरेको थियो । अहिले छिमेकी जिल्ला खोटाङ पुर्याएमा मुस्किलले प्रतिकेजी रु १५० मा बिक्री हुने उनको भनाइ छ । ढुवानीलगायत कारण यसरी बिक्री गरिएको ऊनबाट किसानलाई लाभ नहुने उनले जानकारी दिए । त्यहाँसम्म पुर्याउन नै समस्या रहेको कठेतले बताए । उत्पादित ऊन बिक्री नहुँदा कुहिएर जाने अवस्था आएको छ । 

ऊनबाट बनेको राडीपाखी लुकुनीलगायत बजारमा राम्रो माग भए पनि उत्पादनमा समस्या रहेको उनले बताए । राडीपाखी बुन्ने काम नयाँ पुस्ताको रोजाइमा नपर्दा कच्चा पदार्थका रूपमा रहेको ऊन नै बिक्री हुन नसकेको उनको भनाइ छ ।

किसान कठेतले विगत १५ वर्षअघिबाट व्यावसायिक रूपमा भेडापालन व्यवसाय गर्दै आएको बताए । भेडालाई वर्षमा दुईपटक मुन्डन गरिने उनको भनाइ छ । आफूसँग रहेका ५० वटा भेडालाई मुन्डन गर्दा एकपटकमा सात धार्नीसम्म ऊन उत्पादन हुने उनको भनाइ छ । गत वर्षको ऊन नै बिक्री नभएको कठेतले बताए । ऊनालु चारवटा भेडाको एक धार्नी ऊन उत्पादन हुने उनको भनाइ छ । 

हाल मैयुङ क्षेत्रमा भोजपुर र खोटाङ गरी २० वटा भेडीगोठ रहेको उनले जानकारी दिए । एक भेडीगोठमा न्यूनतम एक सयदेखि अधिकतम पाँच सय वटासम्म भेडा रहेको उनले जानकारी दिए । यहाँको मैयुङ, छिमालुङ, गिद्धे, मेरुङलगायत स्थानमा भेडापालन हुने गरेको छ । रासस

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro