site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चाडपर्वका मुखमा राजमार्गको कन्तबिजोग 
नारायणगढ–बुटवल सडकखण्डको दृश्य । फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । यो वर्षको दसैँ–तिहारमा पनि काठमाडौंबाट बाहिरिने यात्रुका लागि यात्रा कष्टकर हुने भएको छ, सडक कन्तबिजोगले गर्दा ।

मर्मत र स्तरोन्नतिका निम्ति काठमाडौंदेखि चितवन तथा पश्चिमतर्फ बुटवलसम्मका सडक अस्तव्यस्त छन् । विशेष गरी दसैँको मुखमा काठमाडौं छाड्नेको संख्या अत्यधिक हुन्छ । उक्त अवधिमा गत वर्ष करिब २० लाख मानिसले स्थलमार्गबाट काठमाडौं छाडेका थिए ।

मुख्य राजमार्ग कन्तबिजोग भएपछि यो वर्ष पनि चाडपर्व मनाउन घर जाने यात्रुको यात्रा कष्टकर बन्ने निश्चित छ । सरकारले चाडपर्वलक्षित टालटुल गरे पनि त्यो प्रभावकारी छैन ।

Dabur Nepal
NIC Asia

देशको ‘लाइफलाइन’ मानिने राजमार्ग एकैपटक निर्माण ठेक्का दिने र ठेकेदारले वर्षौँसम्म काम नगर्ने परिपाटीले बर्सेनि यात्रुले हैरानी व्यहोर्ने गरेका छन् ।

काठमाडौं भित्रिने र बाहिरिने मुख्य नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्ड स्तरोन्नतिका नाममा बिजोग अवस्था छ । सरकारले पटक–पटक म्याद थप गरे पनि निर्माण कार्य आधा सकिएको छैन ।

चिनियाँ ठेकेदारले कम मूल्यमा ठेक्का लिने र घाटा परेको भन्दै समयमै काम नगरी अड्काउँदा यात्रुले सास्ती भोगिरहेका छन् । बाहिर मात्र होइन, देशकै राजधानीमा पनि चक्रपथ विस्तारका नाममा हरेक दिन यात्रुले सास्ती झेल्दै आएका छन् ।

नारायणगढ–बुटवल सडक
०७५ चैतमा सुरु गरिएको बुटवल–नारायणगढ ११३ किलोमिटर सडकको आधा काम पनि सकिएको छैन । सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेको उक्त सडक निर्माणको ठेक्का चिनियाँ कम्पनीले लिएको छ । तर, ६ वर्षदेखि सडक अलपत्र हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ ।

यो आयोजनामा हालसम्म तीनपटक म्याद थपिएको छ । गएको महिना मात्र एक वर्षका निम्ति म्याद थप गरिएको छ । सरकारले अन्तिमपटक भन्दै साउन १० गते एक वर्ष काम गर्ने समय थप गरिदिएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थपिएको समयमा पनि काम नसकिए निर्माण कम्पनीसँगको ठेक्का तोड्ने बताउँदै आएका छन् । “सडक क्रोनिक हुने अवस्थामा छ, एक वर्षको म्यादभित्र काम नसकिए ठेक्का तोड्छौँ,” उनले भने, “देशकै लाइफलाइन मानिएको सडकमा जनताले धेरै नै दुःख पाएका छन् । बर्खालगत्तै कामको गति तीव्र बनाउन निर्माण कम्पनीलाई भनिएको छ ।”

सरकारका तर्फबाट कुनै समस्या नरहेको र भुक्तानी समेत ठेकेदारले कार्यप्रगतिका आधारमा लिइरहेको मन्त्री दाहालको भनाइ छ । “विदेशी कम्पनीले भन्दा बरु नेपाली निर्माण व्यवसायी भएको भए राम्रो काम गर्थे कि भन्ने बारेमा समेत सोच्न बाध्य भएको छौँ,” उनले भने ।

नारायणगढ–बुटवल सडक विस्तारको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन लिमिटेडले पाएको थियो । चाइना स्टेट कन्स्ट्रक्सन चिनियाँ सरकारी कम्पनी हो ।

कम्पनीले असार लागेपछि विस्तार कार्य रोकेर खाल्डाखुल्डी पुर्ने र मनसुनका कारण अवरुद्ध हुने सडक खुलाउने काम मात्र गर्दै आएको थियो । करिब ६ वर्षदेखि वर्षामा हिलो र हिउँदमा धुलो हुने पहिचान बनाएको यो सडकको काम हालसम्म आधा मात्र सकिएको छ ।

सडक विभागका अनुसार, हालसम्म ५४ प्रतिशत हाराहारीको निर्माण सकिएको छ । तीन जिल्ला – रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) छुने यो सडकखण्डलाई दुई भाग छुट्ट्याएर निर्माण गरिँदै छ ।

यो कुल ११३ किलोमिटरको सडक हो । ७० किलोमिटर चार लेन र २९ किलोमिटर दुवैतर्फ ६–६ मिटर सर्भिस लेनसहितको निर्माण भइरहेको छ । दाउन्नेको १४ किलोमिटर भने तीन लेनको सडक हुनेछ ।

निर्माण थालेपछि कोभिड–१९ देखाएर काम गरिएको थिएन । यस्तै, सरकारले समयमै साइट क्लियर नगरेको, वनले रुख काट्न स्वीकृति दिन ढिलाइ गरेको जस्ता कारण देखाएपछि सरकारले दुई वर्ष म्याद थप गरेको थियो । दुई वर्षमा पनि नसकिएपछि तेस्रोपटक म्याद थपिएको हो ।

भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले ठेकेदार कम्पनीलाई धम्क्याएर, फकाएर भए पनि काम गराइछाडिने बताए । उनले ठेकेदारले अब लगातार काम गरे १५ महिनाभित्र परियोजना सकाउन कुनै समस्या नरहेको जिकिर गरे ।

“सबै कुरा सेटअप छ । वर्षापछि कामलाई गति दिन पनि सक्ने अवस्था हामीले देख्यौँ । ठेकेदार कम्पनीहरूकै आन्तरिक समस्या होला, तर काम अब सक्नुपर्छ भनेर नै दबाब दिइएको छ,” शर्माले भने, “ठेक्का तोडेर जाँदा झनै काम लथालिंग हुने हो कि भन्ने चिन्ता पनि छ ।”

सम्झौतामा २४ प्रतिशत कम रकम कबोल गरी ठेक्का पाएको कम्पनीले पैसा नभएको भन्दै आएको छ । कम्पनीले थप दुई अर्ब रुपैयाँ दाबी गर्दै काम ठप्प पारेपछि सरकारले ठेक्का तोड्ने चेतावनी दिएको थियो ।

ठेकेदार कम्पनीले यो सडकमार्गमा आफूलाई सात अर्ब घाटा भइसकेको र पैसा नभएको भन्दै काम ठप्प पारेको थियो ।

उक्त कम्पनीसँग सम्झौतामा ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ उल्लेख छ । लागतको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी)को ऋण र १५ प्रतिशत सरकारको लगानीमा सडक विस्तार भइरहेको हो । एडीबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको थियो ।

नागढुंगा–मुग्लिन सडक 
स्तरोन्नतिका नाममा नागढुंगा–मुग्लिन सडकखण्ड पनि बिजोग अवस्थामा छ । तीन खण्डमा विभाजित यो राजमार्गको कुल लम्बाइ ९५ किलोमिटर छ । आयोजनाको कुल लागत १२ अर्ब ६२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरी दुई वर्षअघि स्तरोन्नति थालिएको थियो ।

सानाठूला गरी दैनिक २० हजारको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्ने यो सडकखण्ड निर्माणको म्याद आउँदो माघसम्म थपिएको छ ।

सडक मर्मतका नाममा वर्षौँसम्म अलपत्र पार्ने भनेर सांसदहरूले पटक–पटक कुरा उठाए पनि त्यसमा कुनै सुधार भएको छैन ।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले आयोजना गरेको छलफलमा सांसद प्रतिमा गौतमले चाडबाड नजिकिएकाले यात्रुलाई सहज रूपमा सडकमार्गबाट घर पुग्ने वातावरण बनाउनुपर्नेमा सरकारले चासो नदिएको बताइन् ।

“नौबिसे–मुग्लिङ सडकअन्तर्गत पहिलो खण्डमा काम भए पनि अन्य खण्डमा अपेक्षाअनुसार काम भएको देखिँदैन,” उनले भनिन्, “थपिएको म्यादमा पनि काम हुने देखिँदैन ।”

सांसद गौतमले भनेको जस्तै नागढुंगा–मुग्लिन सडकको तीन खण्ड समयमै नसकिने देखिन्छ । आयोजनाअन्तर्गत पहिलो खण्ड नागढुंगा–नौबिसेको म्याद गुज्रँदा ६० प्रतिशतको हाराहारीमा मात्र भौतिक प्रगति भएको छ ।

०७९ जेठमा एक अर्ब ३० करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको आयोजनाको म्याद दुई वर्ष थियो । तर, प्रगति नभएपछि म्याद ०८१ सम्म थपिएको छ ।

सडकको दोस्रो खण्ड नौबिसे–मलेखुको भौतिक प्रगति करिब २२ प्रतिशतको हाराहारीमा मात्र छ । दूरी ४३.५४ किलोमिटर रहेको उक्त खण्डको सम्झौता ०७९ वैशाखमा गरिएको थियो ।

आयोजनाको अन्तिम म्याद ०८२ जेठसम्म छ । तर, कार्यप्रगति निकै सुस्त छ । आयोजनाको ठेक्का रकम पाँच अर्ब ३३ करोड १९ लाख रुपैयाँ छ ।

तेस्रो खण्डअन्र्तगत मलेखु–मुग्लिङतर्फको भौतिक प्रगति १५ प्रतिशतको हाराहारीमा मात्र छ । ३८.८६ किलोमिटर लम्बाइको यो खण्ड निर्माणका निम्ति चार अर्ब ८० करोड ५९ लाखमा ठेक्का सम्झौता गरिएको थियो । ०७९ पुस १५ गते सम्झौता गरिएको आयोजनाको म्याद ०८२ पुससम्म छ ।

नागढुंगा–मुग्लिङखण्डमा ट्राफिक जामले एकैचोटि सबैतिर कालोपत्र गर्न समस्या भएका कारण पनि समय लागेको सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैसीले बताए । “पहिलो खण्डमा राम्रै काम भएको छ,” उनले भने, “नौबिसे–मलेखु र मलेखु–मुग्लिङखण्डमा सोचेअनुरूप प्रगति छैन ।”

चाडपर्वका निम्ति खाल्डाखुल्डी पुर्न ठेकेदार परिचालन गरिसकेको र मनसुन सकिनेबित्तिकै काम थाल्ने योजना प्रमुख ईश्वरबहादुर रिजालले बताए । “बन्दै गरेको राजमार्ग हो, २०औँ हजार गाडी गुड्छन् । मर्मत गर्‍यो भने पानीले उस्तै पारिहाल्छ,” उनले भने, “पानी पर्न कम हुनासाथ हामी खाल्डाखुल्डी पुर्ने काम गर्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu