बैतडी । बैतडीको पाटन नगरपालिका–६ डुङरामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि लुगा सुकाउने क्रममा करेन्ट लागेर ५७ वर्षीया जानकी लुहारको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।
करेन्ट लागेर गम्भीर घाइते लुहारलाई उपचारका लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेको बेला छुट्टाउन गएका अन्य चार जना घाइते भएका छन् । स्थानीय ३८ वर्षीया कलावती ओड, १२ वर्षीया पवित्रा ओड, १० वर्षीया भुवनेश्वरी ओड र २२ वर्षीया सीता लुहार घाइते भएका हुन् ।
घरको भान्सा कोठामा मिटरबक्स राखिएको र सोही मिटरबक्स नजिकैबाट लुगा सुकाउन प्रयोग गरिने ग्याबिन तार तानिएकोमा सोही तारमा करेन्ट प्रवाह भएको प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस