राष्ट्रियताले निथु्रक्क भिजेर
व्यक्तिगत र पारिवारिक
स्वार्थबाट टाढा
सिंगो समाज उत्थानको अठोटमा
आफैँलाई प्रेरणाको स्रोत मानेर
शोषण, दमन, अन्याय, अत्याचार,
विभेद र उत्पीडनविरुद्ध
आन्दोलनको बलिवेदीमा
अग्रभागमा रहेर
युगीन धावा बोले र
प्राण आहुति दिए
हाम्रा पुर्खाहरूले ।
हाम्रै पूर्वजका रगतले
भिजेको छ यहाँको माटो ।
हो, यो त्यही माटो हो
जहाँ म जन्मिएँ,
तिमी जन्मियौ र हामी जन्मियौँ
अनि, जन्मिए हाम्रा रहरका
केपिलाहरू र फुल्न खोजे
वनपाखा र पखेराहरूमा
उदाए सप्तरंगी इन्द्रेणी सपनाहरू
र, डुल्न खोजे बादलको देशतिर
यहाँ हाम्रा हजुरबुवाले
जीवन बलिदान दिएर
गाउँगाउँका पाठशालामा
राष्ट्रियता, स्वाधीनता र
नागरिक अधिकारको
पाठ पढाएका थिए
हजुरआमाले भाषा, संस्कृति,
धर्म र पहिचानको
मौलो गाडेकी थिइन्
दुवै मिलेर ‘बहुजन हिताय’को
बिरुवा रोपेका थिए ।
शनैः शनैः समयचक्र फेरियो
क्रूर शासनले परेड खेल्न थाल्यो
नागरिक अधिकार खोसियो
पहिचानको खातामा
स्वाभिमानको हस्ताक्षर मेटिँदै गएपछि
अपहेलित बन्नुपर्यो
पुर्खाहरूको रगतले सिञ्चित
आफ्नै जन्मभूमिमा
विदेशी हुनुपर्यो ।
आन्दोलित मनले
हजार प्रश्न गरिरहँदा
मौनधारण गर्दै
बलिदानी इतिहासको जगमा
अस्तित्वको दाबी गर्दै
धर्म–संस्कृति, परम्परा
मूल्य–मान्यता र सभ्यता
भाषा–साहित्य जोगाउँदै
जातीय अस्तित्व बचाएर
आज पनि नेपालीत्व जिउँदै छ
आफ्नै भएर पनि
आफ्नो बन्न नसकेको भूमिमा ।
एकपटक समयचक्र
घुमेर आएको छ
यो माटोले फेरि राष्ट्रियता,
वीरता र वफादारी मागिरहेको छ
तर, हजार हृदयहरू अन्यमनस्क छन्
ती प्रश्न गरिरहेछन्– विदेशी बनेर
मूकदर्शक बन्ने वा कर्तव्यपथमा
ओर्लिएर जातीय अस्तित्व जोगाउने ?
यद्यपि, नागरिक अधिकार
पहिचान र अस्तित्व रक्षाका लागि
युवाहरूको साहस बनेर
सुतेका मन र मुर्झाएका आशाहरू
बलैसित उठाएर जुर्मुराउनु छ
पूर्वजले छोडेर गएको विरासत
युगौँसम्म जोगाइराख्न
जीवन आहुति दिएर
फेरि एउटा गौरवशाली
इतिहास रच्नु छ ।
स्वतन्त्रता फिर्ता ल्याउन
सहयोगी हात फैलाउन
तिमीसँगै हुन सकिनँ सखी !
तर, निराश नबन, हतास नहोऊ
थोपाथोपा मिलेर सागर बन्छ
म, तिमी, ऊ, उनी, तिनी
उनीहरू र तिनीहरू मिलेर
महासागर बन्नु छ ।
बल्ल उदाउनेछ
भोलिको सुनौलो बिहान
हाम्रा आफ्नै हुनेछन्
घमाइला दिनहरू
तब जोगिएला कि जुगौँजुग
हाम्रा बाजेबराजुका
रगतले लिपिएको
हामी आफैँ उम्रेको
आफ्नै हुनबाट वञ्चित
यो माटो र प्रिय भूमि !