site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कालापानीसहित नेपाली गाउँलाई समेटर भारतले बनायो ‘भाइब्रेन्ट भिलेज प्रोग्राम’, नेपाल बेखबर
फाइल तस्बिर

काठमाडौं । भारत सरकारले नेपाली भूमिमा रहेका तीन गाउँलाई समेत समेटेर महत्वकांक्षी आयोजना ‘भाइब्रेन्ट भिलेज प्रोग्राम’ (भीभीपी) अघि बढाएको पाइएको छ ।  भारतले अघि बढाएको भीभीपीमा भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा रहेका तीनवटा गाउँ नाभी, कुती र गुन्जी परेका छन् । 

सिमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार भारतले अतिक्रमण गरेको उक्त क्षेत्रमा रहेका गाउँमध्ये सबैभन्दा ठूलो गुन्जी हो ।

“भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको ३७२ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको छ । उक्त क्षेत्रमा रहेका गाउँमध्ये सबैभन्दा ठूलो गुन्जी हो,” श्रेष्ठले बाह्रखरीसँग भने ।

Dabur Nepal
NIC Asia

कालापानी, लिपुलेक र लिम्पियाधुरामा नेपालमा पाँचवटा ठूला गाउँ छन् । तीमध्ये तीनवटा गाउँलाई भारतले भीभीपीमा राखेको छ ।  भारतको गृह मन्त्रालयको विज्ञप्तिअनुसार आफ्नो उत्तरी सीमालाई मजबुत बनाउन ‘भाइब्रेन्ट भिलेज प्रोग्राम’ अघि बढाइएको हो । 

भीभीपीमा भारतको सम्पूर्ण उत्तरी सीमालाई समेटिएको छ । अरुणाचल प्रदेश, सिक्किम, उत्तराखण्ड, हिमाचल प्रदेश र केन्द्रशासित लद्दाखमा भीभीपीलाई अघि बढाइएको छ । 

भीभीपीलाई तीन चरणमा सम्पन्न गर्ने योजना बनाइएको छ । आर्थिक वर्ष २०२२–२३ देखि २०२५–२६ सम्मको चारवर्षको अवधिमा भीभीपीमा ४८ अर्ब भारतीय रुपैयाँ (७६ अर्ब नेपाली रुपैयाँभन्दा बढी) खर्च गर्ने योजना बनाइएको छ । 

भारतको गृह मन्त्रालयका अनुसार उत्तरी सीमामा पर्ने चार राज्य र एक केन्द्र शासित राज्यको १९ जिल्लाका ४५ ब्लकमा पर्ने २ हजार ९६७ गाउँलाई भीभीपीमा समेटिएको छ । यसलाई सन् २०२३ फेब्रुअरी १५ मा भारतको केन्द्र सरकारले अनुमोदन गरेको थियो ।

“तीन चरणमा सम्पन्न हुने भाइब्रेन्ट भिलेज प्रोगामको माध्यमबाट पुरै उत्तरी सीमाका सबै गाउँबाट हुने पलयान रोक्ने, पर्यटनलाई बढावा दिने र सहरको जस्तै सबै सुविधा उपलब्ध गराउने मोदी सरकारको लक्ष्य छ,” एक वर्षअघि भारतको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

भीभीपी अन्तर्गत केन्द्र, प्रदेश, जिल्ला र ब्लक स्तरका प्रशासनमा पञ्चायत र ग्रामसभाको सहभागिता र जिम्मेवारी सुनिश्चित गरिएको छ । शतप्रतिशत कार्यान्वयनका लागि सबै योजनाहरूलाई एकीकृत र समन्वयात्मक रूपमा डिजाइन गरिएको छ ।

भीभीपीमा भारतको उत्तराखण्डका ५१ वटा गाउँ परेका छन् । जसमा अतिक्रमित नेपाली भूमिमा रहेका तीन गाउँ– नाभी, कुती र गुन्जी छन् ।  भारत सरकारले २०२४ जुलाई २१ मा ल्याएको नयाँ बजेटमा भीभीपीको लागि आर्थिक वर्ष २०२४–२५ को लागि १० अर्ब ५० करोड भारतीय रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

प्राथमिकताको आधारमा पहिलो चरणमा ६५२ गाउँ परेका छन् । यीमध्ये ४४५ वटा गाउँ अरुणाचल प्रदेश, ७५ वटा गाउँ हिमाचल प्रदेश, ५१ वटा गाउँ उत्तराखण्डका, ४६ वटा गाउँ सिक्किम र ३५ वटा गाउँ लद्दाखका छन् ।
भारतको गृह मन्त्रालयले २०२४ जुलाई २४ मा राज्यसभामा पेश गरेको कागजातमा भीभीपी अन्तर्गत हालसम्म लक्षित स्थानमा ५ हजार ९५८ क्रियाकलप भएको उल्लेख छ । 

अरुणाचल प्रदेशमा २ हजार २३२, लद्दाखमा १ हजार ५४७, उत्तराखण्डमा १ हजार ७५, हिमाचल प्रदेशमा ६८८ र सिक्किममा ४१६ वटा क्रियाकलाप भएका छन् । 

यस कार्यक्रमको पहिलो चरणमा ४६ ब्लकका ६५२ गाउँका करिब १ लाख ४२ हजार जनसंख्या समेटिएको छ । 

भीभीपी अन्तर्गत ३ तहमा गाउँको विकास कार्य गरिनेछ । भीभीपी अन्तर्गत भारत सरकारले गाउँमा बस्ने प्रत्येक व्यक्तिको सुविधाको ख्याल राख्नेछ र यस कार्यक्रम अन्तर्गत विभिन्न योजनाहरू शतप्रतिशत जनतासम्म पु¥याउनेछ । कार्यक्रम पुरा हुँदा सीमावर्ती गाउँमा आधारभूत सुविधा नभएको एउटा पनि घर नहुने जनाइएको छ । 

पर्यटन, स्थानीय संस्कृति र भाषाको संरक्षण र प्रवद्र्धन गर्दै यी गाउँहरूको विकास गरिने लक्ष्य राखिएको छ । कार्यक्रमको लक्ष्य ती क्षेत्रबाट बसाइँसराइ रोक्ने पनि हो र त्यसका लागि रोजगारीको व्यवस्था गरिनेछ । बसाइँसराइ प्रभावित गाउँमा विगतको अवस्था ल्याउन ५ वर्षको लक्ष्य राखिएको छ । सीमावर्ती गाउँमा आधारभूत पूर्वाधार निर्माण गर्ने यस कार्यक्रमको तेस्रो लक्ष्य रहेको छ ।

भारतले नेपाली तीन गाउँलाई समेटी अगाडि बढाएको ‘भाइब्रेन्ट भिलेज प्रोगाम’का विषयमा भने नेपाल सरकार बेखबर रहेको छ ।  उक्त कार्यक्रम बारे अहिलेसम्म कुनै सूचना प्राप्त नभएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बताएको छ । 

“हामीलाई भारतको भाइब्रेन्ट भिलेज प्रोगाममा नेपाली गाउँहरु समेटिएको विषयमा कुनै जानकारी छैन,” स्रोतले भन्यो ।

नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकको सीमा विवाद समाधान गर्न वार्ताको लागि पटक–पटक आग्रह गरे पनि भारतले बेवास्ता गर्दै आएको छ ।  कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमणका सम्बन्धमा नेपालले पटक पटक भारतलाई कूटनीतिक नोट पनि पठाएको छ । 

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाल भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूमिमा देखाएपछि नेपालले आपत्ति जनाएको थियो । अतिक्रमित नेपाली भूमिमा भारतले सडक निर्माण गरेपछि पनि नेपालले आपत्ति जनाएको थियो । त्यसपछि नेपाल सरकारले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । 

पछिल्लो समय सीमा विवादलाई लिएर नेपाल र भारतबीच सम्बन्ध चिसिदै गएको छ । यही बेला भारतले फेरी नेपाली भूमिमा रहेका गाउँहरुलाई समेटेर भाइब्रेन्ट भिलेज कार्यक्रम अघि बढाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro