site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले–माओवादी झगडामा, कांग्रेस रमिते !

काठमाडौं । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्य भएको ४४ दिन पुगेको छ । यी दुई दल सहयात्री छन्, तर एकै मतमा देखिँदैनन् ।

उनीहरूको बोली धेरै विषयमा एकै किसिमको देखिँदैन । सदनमा सत्ताको नेतृत्व गरेको एमाले र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) आमनेसामने छन् । तर, सत्ता साझेदार दल कांग्रेस रमिते बनेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको नयाँ यात्राको सहमतिपछि माओवादी चिढिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा सत्ता साझेदार एमाले कांग्रेससँग गठबन्धन गर्न पुगेको थियो । 

Dabur Nepal
NIC Asia

गठबन्धन गरिसक्दा पनि ढाँटेको भन्दै माओवादी एमालेसँग रुष्ट छ । प्रतिपक्षमा पुगेपछि माओवादी अध्यक्ष प्रचण्डले ओलीप्रति आक्रोश पोखेका थिए । तर, उनले कांग्रेसप्रति मौनता साँधे । त्यसयताका पार्टीका बैठकमा पनि प्रचण्डले ओली जसरी प्रति खनिएका छैनन् ।

संसद्मा मंगलबार बोल्दै प्रचण्डको बोली प्रधानमन्त्री ओलीप्रति लक्षित देखिएको छ । संसद्मा आक्रामक रुपमा प्रस्तुत भएका प्रचण्डको जवाफ एमालेले मात्रै दियो । एमाले सांसद रघुजी पन्तले प्रचण्डलाई जवाफ फर्काउने प्रयत्न गरेका थिए । गठबन्धन सरकारमाथि लगाएको आरोपप्रति कांग्रेस सांसदले कुनै प्रतिक्रिया जनाएनन् । 

सदनमा बुधबार पनि एमाले र माओवादीबीच भनाभन भयो । एमालेका सांसद योगेश भट्टराईले विशेष समयमा बोल्ने क्रममा संसद्मा दुई दलका सांसदबीच सवाल–जवाफ चल्यो ।
 
योगेशले हिंसा भनेपछि...

एमाले सांसद भट्टराईले आफ्नो धारणा राख्ने क्रममा दश वर्ष हिंसाले देशमा लोडसेडिङ ढिलो अन्त्य भएको धारणा राखे । “मैले कुनै दोष दिएको होइन । यदि यो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युत्मा यो भन्दा ठूलो क्रान्ति हुन्थ्यो,” योगेशले भने । 

उनले पुनः माओवादी हिंसा नभएको भए ०७५ सालमा नभएर ०६५ सालमा नै लोडसेडिङ मुक्त हुने दाबी गरे । भटट्राई बोल्दै गर्दा माओवादी सांसदहरूले उभिएर नियमापत्तिका निम्ति समय मागे । सभामुखले माइक नदिइ उनको धारणा बुझे । माओवादीका सांसद माधव सापकोटाले हिंसा भन्ने शब्द संसद्को रेकर्डबाट हटाउन माग गरे ।
 
त्यसपछि सभामुखले विचारको ढंगबाट छलफल हुने भन्दै बस्न आसन ग्रहण गर्न भने । तर, माओवादी सांसद बसेनन् । सापकोटाले ‘हिंसा’ शब्द संविधानमा नरहेको भन्दै आफ्नो माग दोहोर्‍याए ।

फेरि, बोल्न समय पाएका योगशले हिंसा नै भएको जिकिर दोहोर्‍याए । “माननीयज्यूले हिंसा मान्नुहुन्न । तर, हिंसा हो, हिंसाबाहेक केही होइन । यो हाम्रो परिभाषा हो,” भट्टराईले जिकिर गरे, “उहाँले नमाने पनि केही फरक पर्दैन । यो हाम्रो ‘पोलिटिकल कमिटमेन्ट’ हो ।”

त्यसपछि माओवादी सांसदहरूले बोल्न माग गरिरहे । उनीहरूले माइकबिना आफ्ना कुरा राखे । भट्राईले माओवादी सांसदलाई धम्कीले नडराउने चेतावनी दिए । “धम्कीले कोही पनि डराउँदैन । हिंसा हो । लोकतन्त्रमा बोल्न नदिनु पनि हिंसा होे । यहाँ पनि हिंसा नगर्नुस्,” भट्टराईको भनाइ थियो । 

विवाद यथावत् रहेपछि सभामुखले माओवादी सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिए । “तपाईंहरूले यसप्रकारका शब्द प्रयोग गरेर नेपालको शान्ति प्रक्रिया तलमाथि गर्ने नैतिक धरातल संविधानले दिँदैन,” पौडेलले भने ।
 
माओवादीका सांसहरूले संविधान प्रतिकूल शब्द प्रयोग नगर्न आग्रह गरेपछि सभामुखले ‘हिंसा’ भन्ने शब्द कसरी प्रयोग भएको छ, त्यो शब्द ‘संवैधानिक’ छ कि ‘असंवैधानिक’ छ भन्नेमा बहस गर्न सकिने बताए । उनले भट्टराईले प्रयोग गरेको शब्द संसद्मा छलफल गरेर टुंगिने विषय नभएको भन्दै आफ्नो भनाइ टुंग्याउन फेरि समय दिए । 

भट्टराई बोल्दा पनि माओवादी सांसदहरू बसेनन् । सभामुखले योगेश भट्टराईलाई बस्न आग्रह गर्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिए । उनले ‘हिंसा’ शब्द रेकर्डबाट हटाउन माग गरे ।

“हिंसा भन्ने शब्दको प्रयोगकाबारेमा छानबिन गरेर निर्णय गर्न म सचिवालयलाई निर्देशन गर्दछु,” सभामुखले निर्देशन दिए । 

तर, भट्टराईले सभामुखको निर्देशनप्रति नै प्रश्न उठ्ने अभिव्यक्ति दिए । “सचिवालयले छानबिन गरोस्, सभामुख महोदय । हाम्रो राजनीतिक प्रतिबद्धतामा कसैको पनि छानबिन हुँदैन,” योगेशले प्रश्न तेर्स्याए, “हाम्रो सिद्धान्तमा के छानबिन हुन्छ ? को हो छानबिन गर्ने ?” 

त्यहीबीचमा कांग्रेस सांसद वीरबहादुर बलायरले भने एमाले सांसदलाई साथ दिए । उनको भनाइसँगै एमाले सांसदहरूले पनि टेबल ठोकेका थिए 

फेरि भट्टराईलाई सभामुखले समय दिए । उनले लुटपाट गर्नु, आतंक मच्चाउनु हिंसा हो भन्दै आफ्नो भनाइ टुंग्याए । पुनः माओवादी सांसदहरूले आपत्ति जनाए । सभामुखले छानबिन गर्ने रुलिङ गर्दा किन आपत्ति भन्दै भनाभन गरे । माओवादी सांसदहरूले सभामुख एमालेको हो भनी प्रश्न समेत सोधे । 

त्यसपछि सभामुखले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिए । उनले बोल्न पाऊँभन्दा, माओवादी सांसद लेखनाथ दाहालले प्रश्न गरे,‘ अहिलेसम्म को बोल्या छ ?’ 

पन्तले आफूले दोहोरी नखेलेको जवाफ पनि दिए । “तपाईंसँग मैले दोहोरी खेलेको होइन नि,” पन्तले भने ।

उनले हिंसा भन्ने संसद् असंसदीय नभएको जिकिर गरे । हिंसा असंसदीय सावित गर्न चुनौती दिए । “जनयुद्ध तपाईंहरूले गर्नुभयो । एक छिनलाई त्यो मान्दिउँ । त्यो जनयुद्धमा मृत्यु भएको हिंसा हो कि होइन ?,” पन्तले भने ।
 
त्यसपछि सभामुखले सचिवालयलाई निर्देशन गरेको भन्दै तर्कवितर्क नगर्न आग्रह गरे । तर, माओवादी सांसद सापकोटाले रघुजी पन्तलाई बोल्न दिने हामीलाई किन नदिने ? भन्ने प्रश्न गरे । “हामी प्रधानमन्त्रीको पार्टीको सदस्य नभएकाले हो ?,” सापकोटाले सोधे । 

अनि सभामुखले माओवादीका सांसद रणेन्द्र बरालीलाई बोल्न ७ मिनेटको समय दिए । तर, बरालीले आफू नबोल्ने बताए । त्यसपछि सभामुखले माओवादीका प्रमुख सचेतक पाण्डेलाई नियमापत्तिका लागि एक मिनेटको समय दिए । उनले नियमअनुसार सदन नचलेको भन्दै सोही अनुसार चलाउन माग गरे । 

सभामुखले नियमअनुसार चल्न सांसदहरूलाई आग्रह गरे । र, माओवादी सांसदहरू बसे । सभामुखले बरालीलाई फेरि समय दिएर संसदको कारबाही अघि बढाए । 

सदनमा यति लामो समय विवादमा कांग्रेस रमिते बन्यो । उसले सदनको विवाद टुंग्याउन मध्यमार्गी भूमिका समेत निर्वाह गरेन । 

समितिमा पनि उस्तै 

संसदीय समितिमा पनि सत्तारुढ एक ठाउँमा देखिएको छैन । केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला साढे चार वर्षअघि संसद्मा दर्ता भएको भ्रष्टाचार निवारणसम्बन्धी विधेयकमा सत्तापक्षमा एकमत छैन । भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हटाउनुपर्ने अडानमा कांग्रेस छ । भ्रष्टाचारीलाई संरक्षण गर्ने भएकाले उक्त प्रावधान राख्न नहुने अडान कांग्रेसले राखिरहेको छ ।

एमालेकै प्रस्ताव राष्ट्रियसभाबाट पारित भइसकेकाले उ यो विषयमा बोलेको छैन । अख्तियारको क्षेत्राधिकार विस्तार गरी निजी क्षेत्रमा पस्न दिने नहुने अडानमा कांग्रेस छ । एमालेले भ्रष्टाचार विधेयकका विवाविदत विषयमा प्रष्ट धाराणा राखिसकेको छैन । 

यो विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा अड्किएको छ । 

त्यस्तै, डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम उठाउने विषय लेखा समितिमा विवादित बनिरहेको छ । गएको शुक्रबारको समिति बैठकमा सत्ता साझेदार कांग्रेसले पनि निर्णयमा साथ नदिँदा लेखा समिति सभापति ऋषिकेश पोखरेलले आफूले प्रस्ताव गरेको ६ वटा निर्णय गराउन सकेनन् ।

एमालेका सांसद समेत रहेका समिति सभापति पोखरेल र माओवादीका सांसदबीच भनाभन भएको थियो । कांग्रेसका सांसद अर्जुननरसिंह केसीले समन्वयकारी प्रस्ताव ल्याउन खोजे पनि निर्णय भने भएन । त्यस्तै, प्रतिपक्षी माओवादीले लेखा समितिको सभापति मागिरहेको छ । समिति बैठकमा एमाले र माओवादीबीच सभापतिका विषयमा पनि चर्काचर्की भएको थियो । 

कांग्रेस भने आफू सरकारको नेतृत्वमा नरहेको र प्रतिपक्ष हुँ भन्न नमिल्ने अवस्थामा रहेकाले स्पष्ट भूमिका नदेखिएको स्वीकार गर्छ । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे निर्णय प्रक्रियामा मात्र कांग्रेसको भूमिका भेटिने बताउँछन् । “कांग्रेस सरकारको नेतृत्वमा र प्रतिपक्षमा नहुँदा भूमिका कमजोर भएको हो कि भन्ने प्रश्न उठेका छन् । तर वास्तविकता त्यस्तो होइन,” उनले बाह्रखरीसँग भने, “हाम्रो भूमिका महत्वपूर्ण निर्णय प्रक्रियामा हुन्छ । किनभने कांग्रेसको सहभागिताविना महत्वपूर्ण निर्णय हुन सक्दैनन् ।”

कांग्रेसमा भूमिका देखाउनकै लागि अनावश्यक विषयमा बोल्ने र द्वन्द्व सिर्जना गर्ने अभ्यास विगतदेखि नै नरहेको उनको भनाइ छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro