site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा महिला डाक्टरको बलात्कार–हत्या प्रकरण के हो ?

एजेन्सी । केही दिनयता सामाजिक सञ्जालमा भारतको पश्चिम बंगालमा बलात्कार पछि हत्या गरिएकी एक महिला डाक्टरलाई न्याय माग गरिएका पोष्टहरु छ्यापछ्याप्ती  देखिन्छन् । 

भारतमा मात्र होइन नेपालमा पनि ती डाक्टरका लागि न्याय माग्दै विरोध प्रदर्शन भएका छन् । १९ अगष्टमा माइतीघर मण्डलामा ती डाक्टरको सम्झनामा मैनबत्ती बालियो । त्यसो भए यो प्रकरण के हो ? हामीले विभिन्न भारतीय सञ्चार माध्यमहरुले प्रकाशित गरेका समाचारका आधारमा यो सामग्री तयार पारेका छौं ।

घटना के हो ?

Dabur Nepal
NIC Asia

९ अगष्टको रात भारतको पश्चिम बंगालस्थित आरजी कर मेडिकल कलेजमा ‘नाइट ड्युटी’ गरिरहेकी एक महिला डाक्टरले होटलबाट खाना मगाएर खान गएकी थिइन् । ३६ घण्टाको लामो सिफ्ट सकेर खान खान गएकी उनी त्यसपछि कहिल्यै फर्किइनन् ।

अस्पतालभित्रै खाना खाइसकेर उनी आराम गर्न भनेर सेमिनार हलमा गइन् । तर  पछिल्लो बिहान साढे सात बजे विभत्स अवस्थामा उनको शव फेला परेको थियो ।

विरोध किन भइरहेको हो ?

यो घटनाको विरोध हुनुमा धेरै कारण छन् । तिमध्ये पहिलो कारण हो अस्पताल प्रशासन । सेमिनार हलमा ३१ वर्षे महिला डाक्टरको शव फेला परेपछि अस्पताल प्रशासनले मृतक महिला डाक्टरका आमाबुबालाई फोन गरेको थियो । 

अस्पताल प्रशासनले अभिभावकलाई  महिला डाक्टर बिरामी परेको सुनाएको थियो । डाक्टरका अभिभावक अस्पताल पुगेपछि अस्पताल प्रशासनले कुरा फेरेर महिला डाक्टरले आत्महत्या गरेको सुनाएको थियो ।

त्यसपछि महिला डाक्टरको शव पोष्टमार्टका लागि लगियो । तर, प्रहरीले अभिभावकलाई शव हेर्न नदिएको आरोप छ । यता प्रहरीले उजुरी समयमै दर्ता गरे । १० अगष्टको राति करिब पौने १२ बजे मात्र प्रहरीले उजुरी दर्ता गरेको थियो ।

घटनाको दूई दिनपछि घटनास्थल तोडफोड गरेर त्यहाँ निर्माण कार्य सुरु गरिएपछि थप शंका बढ्दै गयो । 

घटनास्थलबाट प्रमाण मेटाउन खोजिएको भन्दै मृतक डाक्टरका सहकर्मीहरु आन्दोलित भएका छन् । डाक्टर र विद्यार्थी आन्दोलित भएपछि कलेजका प्रिन्सिपल सन्दिप घोषले राजीनामा दिए । राजीनामा दिनु अगाडि उनले पत्रकार सम्मेलन गरेर पीडित महिलाको नाम र तस्बिर सार्वजनिक गरिदिए । नेपालमा जस्तै भारतमा पनि बलात्कार पीडित महिलाको नाम र तस्बिर सार्वजनिक गर्न पाइँदैन ।

यहीबीचमा यो विषय रिटमार्फत कलकत्ता उच्च अदालतमा पुगेको छ । कलकत्ता उच्च अदालतले यो घटनाको अनुसन्धानको जिम्मा सीबीआई(केन्द्रीय अनुसन्धान ब्युरो)लाई दिएको छ ।

मृतकको पोष्टमार्टम रिपोर्टमा आँखा, मुखसहित शरीरका विभिन्न भागबाट रगत बगेको पाइएको उल्लेख भएको भारतीय सञ्चारमाध्यममा जनाइएको छ ।

बायाँ खुट्टा, घाँटी, हात, ओठ र नाकमा पनि चोट लागेको देखिन्छ । टाउकोको टेम्पोरल हड्डी र कम्मर तथा खुट्टा जोड्ने हड्डी भाँचिएको पोष्टमार्टम रिपोर्टमा देखिन्छ । यतिमात्र होइन मृतक महिला डाक्टरको शरीरबाट विर्य समेत फेला परेको जनाइएको छ ।

पोष्टमार्टम रिपोर्टले महिला डाक्टरको मृत्यु ९ अगष्ट बिहान ३ बजेदेखि ६ बजेको बीचमा भएको पाइएको छ ।

महिला डाक्टरको पहिला हत्या गरिएको र त्यसपछि बलात्कार गरिएको बताउँछ प्रहरी । डाक्टरमाथि अमानवीय र क्रुर तवरको अपराध भएको पोष्टमार्टम रिपोर्टले देखाएपछि भारतभरका स्वास्थ्यकर्मी र विद्यार्थीहरु आन्दोलित छन् ।

१४ र १५ अगष्टको रातमा ‘रिक्लेम द नाइट’ भन्दै महिला, विद्यार्थी र डाक्टरले अस्पताल परिसरमा र्‍याली निकालेका छन् । तर, यो र्‍यालीका क्रममा ७ हजारको संख्यामा आएको एउटा ठूलो भीडले अस्पतालमा ढुंगामुढा गरेको थियो ।

अस्पतालमै हमला भएपछि बंगालमा आन्दोलन झन् चर्किएको छ । बंगालसँगै भारतभरका अस्पतालमा स्वास्थ्यकर्मीहरु आकस्मिक बाहेकका सेवा ठप्प पारे ।

प्रहरीले यही बीचमा घटनामा सामेल रहेको भन्दै सञ्जय रोय नाम गरेका एक पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अस्पतालमा घटना घटाइसकेपछि सञ्जय आफ्नो घरमा आएर निदाएर बिहान उठेर रगत लागेको लुगा सफा गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति प्रहरीका सिभियल भोलियन्टियर हुन् । उनी प्रहरीलाई सूचना दिने व्यक्ति हुन् ।

यो घटनाले पश्चिम बंगालमा राजनीतिक रुप लिएको छ । पश्चिम बंगालकी मूख्यमन्त्री ममता बनर्जी नै मृतक महिला डाक्टरका लागि न्याय माग्दै सडक आन्दोलनमा उत्रिएकी छन् । यता तृणमुल कांग्रेस र बिजेपी पनि सडक आन्दोलनमा उत्रिएका छन् । यी दलहरुले एक अर्कामाथि विभिन्न आरोपप्रत्यारोप लगाइ रहेका छन् ।

पोष्टमार्टम रिपोर्टलाई आधार बनाउँदै स्वास्थ्यकर्मीहरु यो बलात्कार–हत्या घटनामा एक भन्दा बढी व्यक्ति सामेल भएको हुनसक्ने बताइरहेका छन् ।

घटनाले अस्वाभाविक रुप लिएपछि यो विषयलाई सर्वोच्च अदालतले आफै जानकारीमा लियो । सर्वोच्च अदालतले मंगलबार यस विषयमा सुनुवाई गरेको छ । प्रधानन्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको इजलासले यो घटनामा प्रहरी, अस्पताल प्रशासन र पश्चिम बंगाल सरकारले लापरवाही गरेको बताएको छ । यस बाहेक सर्वोच्च अदालतले पीडितको नाम र तस्बिर  सार्वजनिक गरिएकोमा पनि चिन्ता चिन्ता व्यक्त गरेको छ ।

बंगाल प्रहरीले पनि पीडितको पहिचान र तस्बिर सामाजिक सञ्जालबाट हटाउन आग्रह गरेको छ ।

सर्वोच्च अदालतले प्रहरी, अस्पताल र बंगाल प्रशासनलाई गरेका प्रश्न 

सर्वोच्च अदालतले आरजी कर अस्पतालका प्रिन्सिपलको आचरणमाथि छानबिन भइरहेको बेला उनलाई तत्कालै अर्को कलेजमा कसरी नियुक्ति गरियो भन्ने प्रश्न सोधेको छ । मेडिकल कलेजमा हमला गर्नेगरी आएको भिड रोक्न नसकेको भन्दै अदालतले प्रहरीमाथि पनि प्रश्न गरेको छ ।

जाहेरी दर्ता गर्न किन ढिलाइ गरेको भन्दै सर्वोच्च अदालते पश्चिम बंगाल सरकारलाई प्रश्न गरेको छ । घटनास्थल सुरक्षित राख्न नसकेको भन्दै अदालतले प्रहरी र पश्चिम बंगाल सरकारको आलोचना पनि गरेको छ । 

सर्वोच्च अदालतले सीबीआईलाई बलात्कार–हत्या प्रकरणको अनुसन्धानको प्रगति रिपोर्ट पेश गर्न र पश्चिम बंगाल सरकारलाई अस्पतालमा भिडले गरेको आक्रमणको विषयमा अनुसन्धान गरेर २२ अष्टभित्र रिपोर्ट पेश गर्न भनेको छ । त्यस्तै अस्पतालमा आक्रमण गर्नेलाई पक्राउ गरेर उनीहरुविरुद्ध मुद्दा चलाउन पनि सर्वोच्च अदालतले निर्देशन दिएको छ ।

यससँगै सर्वोच्च अदालतले स्वास्थ्यकर्मीको सुरक्षामाथि प्रोटोकल तयार पार्न भनेर १० सदस्यीय कार्यदल गठन गर्न निर्देशन दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro