site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले किन दिन लाग्यो नेपाली सेनालाई चारवटा जहाज तथा हेलिकोप्टर ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले नेपाली सेनालाई दुईवटा जहाज (स्काई ट्रक) र दुईवटा वेल हेलिकोप्टर दिने सूचना दिएर फर्के । उनी गत साता नेपाल भ्रमणमा आएका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा ती जहाज र हेलिकोप्टर विपद् प्रतिकार्यका लागि अनुदान सहयोगस्वरुप नेपाली सेनालाई उपलब्ध गराउने बताएका थिए ।
 
वर्मा फर्केपछि अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणासँगको भेटमा उनले नेपालको विपद् प्रतिकार्य र हवाई क्षमतालाई सुदृढ बनाउन अमेरिका प्रतिवद्ध रहेको उल्लेख गरिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘फरेन मिलिटरी फाइनान्स’ अन्तर्गत हवाई क्षमता सुदृढ गर्न नेपाललाई १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ३८ करोड रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने जनाएको थियो । अमेरिकाले के कति जहाज तथा हेलिकोप्टर उपलब्ध गराउने भन्ने उल्लेख गरेको थिएन ।

परराष्ट्रमन्त्री राणाले नेपालको विपद् व्यवस्थापन प्रयासमा सहयोग पुर्‍याउन दुईवटा स्काई ट्रक (जहाज) र दुईवटा वेल हेलिकोप्टर ‘उपहार निम्ति’ उप–विदेशमन्त्री वर्मा र विदेश मन्त्रालयलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएपछि अमेरिकी सैन्य सहायता स्पष्ट भएको थियो ।

“विगतमा नेपाल र अमेरिकाबीच बैठकहरु हुँदा भएका प्रतिवद्धता अनुसार अमेरिकाले जहाज र हेलिकोप्टर दिन लागेको हो,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बाह्रखरीसँग भने, “पहिला प्रतिवद्धता मात्र जनाएको थियो, अब अमेरिकाले दिने निर्णय गरेको हो । अब ल्याउने प्रक्रिया बाँकी छ ।” 

उप–विदेशमन्त्री वर्माले नेपाललाई उपलब्ध गराउने भनेको जहाज तथा हेलिकोप्टरको जरो सन् २००२ मा जोडिन्छ, जतिबेला माओवादी सशस्त्र संघर्ष देशमा चर्किएको थियो ।

माओवादी सशस्त्र संघर्ष चर्किएपछि सन् २००२ मा माओवादी दबाउन अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक दिने प्रतिबद्धता जनाएको थियो ।  सन् २००२ मा गरेको प्रतिवद्धता पूरा नगर्दै अमेरिकाले सन् २०१५ मा नेपालाई थप दुईवटा स्काई ट्रक उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प गएपछि अमेरिकाले पहिले गरेको प्रतिबद्धतामा दुई जहाज थप गरी ४ वटा स्काई ट्रक नेपाली सेनालाई उपलब्ध गर्ने प्रतिबद्धता जनाएको थियो ।  माओवादी शान्ति प्रक्रियामा आएपछि विपद् प्रतिकार्य निम्ति स्काई ट्रक दिने प्रतिवद्धता अमेरिकाले गरेको थियो । 

सन् २०१९ को जनवरीमा अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका तत्कालीन कमाण्डर एड्मीरल फिलिप एस. डेभिड्सनले नेपाल भ्रमण गरेका थिए । त्यही बेला नेपालले १७ बर्ष पुरानो प्रतिबद्धता सम्झाएको थियो । त्यसपछि उनले प्रक्रिया अघि बढाउन मद्दत गरेका थिए ।

प्रक्रिया अघि बढेपछि सन् २०१९ मा अमेरिकाले नेपाली सेनालाई दुई वटा स्काई ट्रक उपलब्ध गराएको थियो । 

सन् २०१९ को डिसेम्बरमा नेपाली सेनाले अमेरिकी अनुदान सहयोगमा २ वटा कार्गो जहाज (स्काई ट्रक) प्राप्त गरेको थियो । ती दुई स्काई ट्रकको मुल्य २ करोड २४ लाख ७२ हजार ५ सय ७५ अमेरिकी डलर थियो ।

सन् २०१९ मा नेपाली सेनाले प्राप्त गरेको दुईवटा एम २८ स्काई ट्रक पोल्याण्डमा पोल्स्की जाकेल्डी लोटनिक्ज कम्पनी (पिजेएल) ले निर्माण गरेको थियो ।

अमेरिकाले सन् २००२ र २०१५ मा प्रतिवद्धता गरेका चारवटा स्काई ट्रकमध्ये नेपाली सेनाले हालसम्म दुईवटा मात्र प्राप्त गरेको छ । दुईवटा प्राप्त गरेको छैन ।  प्राप्त हुन बाँकी दुईवटा स्काई ट्रक र थप दुईवटा वेल हेलिकोप्टर दिने निर्णय अमेरिकाले गरेको गत साता नेपाल भ्रमणमा रहेका बेला वर्माले जानकारी गराएका हुन् ।

नेपाली सेनाका प्रवक्ता केसीका अनुसार, हाल सेनासँग १८ वटा जहाज तथा हेलिकोप्टर छन् । तीमध्ये ८ वटा मात्र चालु अवस्थामा छन् । बाँकी १० वटा जहाज तथा हेलिकोप्टर ग्राउन्डेड छन् ।  ग्राउन्डेडमध्ये ५ वटा साधारण मर्मत गरे हुने खालका छन् । बाँकी ५ वटाको भने सामान्य मर्मतबाट नहुने खालका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro