site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी
रमेश खरेल । फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीको डीआईजीबाट सेवानिवृत्त रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइएको छ । खरेलविरुद्ध आइतबार युवराज पौडेल ‘सफल’ले उजुरी दिएका हुन् ।

खरेलले गएको साउन २९ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियारमै उजुरी दिएका थिए । उनले त्यो विषय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

एन्टी करप्सन नेटवर्कका निर्देशक समेत रहेका खरेलसँग सेवामा रहँदा सुनको सुराकीका नाममा बुझेको अकुत सम्पत्ति रहेको उजुरीकर्ता सफलले जिकिर गरेका छन् । त्यो सम्पत्ति छानबिनको मागसहित उनले अख्तियारमा उजुरी दिएका हुन् ।

अख्तियारमा दिएको उजुरी निवेदनमा उनले भनेका छन्, “नक्कली सुराकी खडा गरी लिइएको सुराकी कमिसन रकमबारे छानबिन गरी आवश्यक कारबाही गरिपाऊँ ।”

पूर्वडीआईजी खरेलले आफ्नै श्रीमतीलाई नक्कली सुराकी बनाएर पैसा बुझेको सफलको दाबी छ ।

“कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेबापत निश्चित रकम प्रोत्साहनबापत दिने व्यवस्था गरेता पनि निज रमेश खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी विभिन्न जिल्लामा हुँदा लाखौँ रुपैयाँ सुराकी रकम कमिसन लिएको कुरा बताएका थिए,” सफलले उजुरीमा भनेका छन्, “सही सुराकीलाई नदिईकन नक्कली सुराकी खडा गरी सुराकी कमिसन रकम लिने दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टचारमा संलग्न रमेश खरेललाई तत्काल प्रक्राउ गरी निजले राज्यकोषबाट लिएको रकम कति हो, सो राज्यकोषमा दाखिला गर्न लगाई निजलाई भ्रष्टाचार ऐनबमोजिम कडा कारबाही गर्न माग गर्दछु ।”

सफलले प्रहरीका अरू अधिकारीले पनि सुन तस्करीमा आफन्तलाई नै नक्कली सुराकी बनाएर पैसा बुझेको भन्दै ०४६ सालपछिका उक्त कमिसनका विषयमा अनुसन्धान गर्न माग गरेका छन् ।

“सुराकी कमिसनको नाममा हुँदै नभएको नक्कली सुराकी गरी हालसम्म अर्बौँ रुपैयाँ घोटाला भई राज्यकोषमा घाटा लाग्न गएकोले २०४६ सालपछि विभिन्न प्रकरणमा वितरण गरिएका एवम् सुराकी कमिसनबापत भुक्तानी गरिएका रकम एवम् रकम प्राप्त गर्नेहरूको विस्तृत विवरणको सक्कल फाइल झिकाई नक्कली सुराकी बनेर निजहरूले लिएका रकमहरू अविलम्ब राष्ट्रिय ढुकुटीमा ल्याई निजहरूलाई नक्कली सुराकी खडा गरी सुराकी कमिसन लिएको नाममा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न/गराउन एक सचेत, इमानदार, स्वाभिमानी र देशभक्त नागरिकको तर्फबाट प्रस्तुत उजुरी पेस गरेको हुनाले यस उजुरीउपर आवश्यक अनुसन्धान गरी दोषी देखिएकाहरूलाई कारबाही गर्न माग गर्दछु,” उनले उजुरीमा भनेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro