site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफ्रिकामा जनवरीयता १८ हजारभन्दा बढी मानिसमा मंकीपक्स पुष्टि
तस्बिर : रोयटर्स ।

नैरोबी । एकै हप्तामा एक हजार २०० जनामा एमपक्स (मंकीपक्स) पुष्टि भएसँगै सन् २०२४ जनवरीयता अफ्रिकामा कुल १८ हजार ७३७ जनामा उक्त भाइरसको संक्रमण फेला परेको अफ्रिकी युनियन स्वास्थ्य एजेन्सीले शनिबार जनाएको छ ।

स्वास्थ्य विभागको तथ्यांकानुसार, भाइरसको तीन भेरियन्ट छन्, तीमध्ये एउटा अत्यधिक घातक, अधिक संक्रामक ‘क्लेड–१ बी’ हो । पछिल्लो समय बढिरहेको एमपक्स संक्रमणलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले  बुधबार अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।

हालसम्म १२ अफ्रिकी सदस्य राष्ट्रबाट तीन हजार १०१ घटना पुष्टि हुनुका साथै संक्रमणका कारण ५४१ जनाको मृत्यु भएको रोग नियन्त्रण र रोकथामका निम्ति अफ्रिका केन्द्र (सीडीसी)ले विज्ञप्तिमार्फत जनाएको छ ।

संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश कंगोमा सन् २०२३ सेप्टेम्बरमा पहिलोपटक भाइरसको नयाँ ‘क्लेड–१ बी’ भेरियन्ट पत्ता लागेको थियो । त्यहाँ एक हप्तामा एक हजार पाँचजनामा संक्रमण पुष्टि भएकामा २४ जनाको मृत्यु भएको थियो ।

लगभग १० करोड मानिस बसोबास गर्ने कंगोका सबै प्रान्तमा संक्रमणका घटना दर्ता गरिएको छ ।

यस्तै, छिमेकी बुरुन्डीमा एमपक्सको १७३ ‘केस रिपोर्ट’ गरिएको छ ।

अफ्रिकाभन्दा बाहिर स्वीडेन र पाकिस्तानमा पनि यो हप्ता एमपक्स संक्रमण फेला परेको छ । यसै सन्दर्भमा डब्ल्यूएचओको आपत्कालीन समितिले सम्बन्धित निकायसँग खोप उत्पादन बढाउन आह्वान गरेको छ ।

एमपक्स एउटा भाइरल रोग हो । व्यक्तिहरूबीचको नजिकको सम्पर्कबाट एमपक्स फैलन सक्छ । शारीरिक सम्पर्क, स्पर्श, एकार्काको नजिक सास फेर्दा यो रोग सर्ने सम्भावना हुन्छ ।

यसका लक्षणमा ज्वरो, मांसपेशी दुख्ने र छालामा ठूला फोकाजस्ता घाउहरू आउने हुन्छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro