site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारद्वारा सिफारिस राजदूतविरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिको आह्वान

काठमाडौं । सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुकका १८ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । 

मंगलबार संसद् भवन बानेश्वरमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारबाट भारत, अमेरिका, बेलायत, चीन लगायतका देशका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको हो । 

Argakhachi Cement Island Ad

जसमा शंकरप्रसाद शर्मा (भारत), श्रीकान्त रिजाल (अस्ट्रेलिया), नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्राध्यापक डा. कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), प्राध्यापक धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलंका), सनिल नेपाल (स्पेन), सहिल रुपाखेती (जर्मनी), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका)का लागि राजदूतमा सिफारिस गरेको थियो । त्यस्तै, चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा. शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), जंगबहादुर चौहान (रुसी महासंघ), रमेशचन्द्र पौडेल (कतार), प्रा.डा.कृष्णप्रसाद ओली (चीन), सुम्निमा तुलाधर (डेनमार्क), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया), प्रकाशमणि पोखरेल (पोर्चुगल), रिता धिताल (पाकिस्तान)लाई राजदूतमा सिफारिस गरेको थियो । 

उनीहरूको सुनुवाइ गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय भएको समिति सभापति पशुपति शमशेर जबराले बताए । सुनुवाइका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित सार्वजनिक उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने निर्णय भएको सभापति जबराले बताए ।

उनले भने, "समितिले जुन राजदूतहरूको नाम प्रस्तावित भएको छ, उनीहरूको नाम आएपछि छलफल र निर्णय गर्ने भन्नेकुरा भएको छ । सबै कुरा मान्यज्यूहरूलाई वितरण गरिएको छ । यो कुरा पूरा भएपछि पर्सि बैठक बसेर टुंगोमा पुर्‍याउनेछौँ ।"

मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्