site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतीय विदेश सचिवको राजनीतिक दौडधुप, सुरक्षामा मुख्य चासो
SkywellSkywell

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका छन् । उनले नेपालमा ३२ घण्टा बिताए । यस अवधिमा कूटनीतिक व्यक्तिको राजनीतिक भेट चाहिँ ‘म्याराथुन’ शैलीमा थियो ।

त्यसो त, उनी ‘द्विपक्षीय भ्रमण’ नभई ‘परिचयात्मक भ्रमण’ गर्ने उद्देश्यसहित नेपाल आएका थिए । यसैकारण भारतीय विदेश सचिवको नेपालमा भ्रमणमा दुई देशबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक बसेन ।

भारतीय विदेश सचिवको जिम्मेवारी पाएको महिना दिन बित्न नपाउँदै नेपाल आएका कारण उनको यस भ्रमणलाई ‘परिचयात्मक’ बनाइएको थियो । विदेश सचिव भएपछि उनी पहिला भुटान गए, त्यसपछि नेपाल आएका हुन् ।

Dabur Nepal
NIC Asia

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिएको ‘छिमेकी पहिलो’ नीतिअनुसार नेपाल आएको दाबी उनले गरेका छन् । “यो भ्रमण नियमित उच्चस्तरीय भारत–नेपाल द्विपक्षीय आदान–प्रदानको परम्परा अनुरूप छ र यसले भारतको छिमेकी पहिलो नीतिप्रतिको प्रतिबद्धतालाई जोड दिएको छ,” मिश्री काठमाडौं आएलगत्तै भारतीय दूतावासले समाजिक सञ्जाल एक्समा लेखेको थियो ।

विदेश सचिव मिश्रीको यो भ्रमण शुद्ध राजनीतिक थियो भन्ने उनले भेटेका पात्र र प्राथमिकताले देखाउँछ । उनले ३२ घण्टामा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । 

विदेश सचिव मिश्रीले राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई भने छुट्टै भेटेनन् । 

परराष्ट्र सचिव सेवा लम्सालले उनको सम्मानमा आइतबार साँझ आयोजना गरेको रात्रि भोजमा भारतीय विदेश सचिव मिश्रीले ती दलका नेताहरूसँग कुराकानी गरेका थिए । 

रात्रि भोजमा मधेसकेन्द्रित दलका नेताहरू महन्थ ठाकुर, सीके राउत, राजेन्द्र महतो, अनिल झा, हृदयेश त्रिपाठी, राजकिशोर यादव उपस्थित थिए ।

नेपाल आएपछि भारतीय विदेश सचिव मिश्रीले पहिला राष्ट्रपति पौडेलसँग भेटेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरे । भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । 

विदेश सचिव मिश्रीले आइतबार नेपाली कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका थिए ।

ओली, देउवा र प्रचण्डसँग उनले के कुरा गरे बाहिर आएको छैन । काठमाडौंस्थित भारतीय दूतावासले भने द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रलाई गति दिने तरिका र उपायका विषयमा छलफल भएको जनाएको छ । 

सोमबार उनले पूर्वप्रधानमन्त्री माधव नेपाललाई भेटे । सोमबार बिहान उनले उपप्रधान तथा सहरी विकासमन्त्री सिंहसँग भेटवार्ता गरेका थिए ।

“भेटमा सहरी विकास, काठमाडौं उपत्यकाका नदी–नालाको स्वच्छता र सफाइ, फोहोरमैला व्यवस्थापनलगायतका विषयमा सहकार्यबारे सकारात्मक छलफल भयो,” भेटपछि मन्त्री सिंहले बताए ।

सोमबार बिहान विदेश सचिव मिश्रीले उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा आर्थिक तथा विकास सहायता, चालु आयोजनाहरूको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

भारतीय विदेश सचिव मिश्रीले सोमबार गृहमन्त्री लेखकसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । गृहमन्त्रीसँग उनले मुख्यतया सुरुक्षाका विषयमा केन्द्रित भई कुराकानी गरेका थिए । सीमा सुरक्षादेखि नेपालमा रहेका भारतीय नागरिक र लगानीकर्ताको सुरक्षाका विषयमा उनले विशेष चासो राखेका थिए । 

भारतले नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन चाहेको भेटमा उनले बताएका थिए ।

“उहाँ (मिश्री)ले नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन भारत सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो,” गृहमन्त्रीको सचिवालयले जनायो । 

भेटवार्तामा भारतीय विदेश सचिव मिश्रीले सीमा व्यवस्थापन, सीमापार हुने अपराध तथा दुवै मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने स्पष्ट पारेका थिए ।

नेपाल र भारतबीच सांस्कृतिकलगायत धेरै समानता रहेको उल्लेख गर्दै भारतीय विदेश सचिव मिश्रीले आगामी दिनहरूमा पनि यो सम्बन्ध अझै प्रगाढ हुने उल्लेख गरेका थिए । 

“सो अवसरमा गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो,” गृहमन्त्रीको सचिवालयले जनायो । गृहमन्त्री लेखकले नेपालमा भारत सरकारबाट भएको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति हुने जनाएका थिए ।

सीमा क्षेत्रमा देखिने गरेको अपराध र लागुऔषध अवैध कारोबार नियन्त्रण गर्न आपसी समन्वय र सहकार्य बढाउनुपर्ने विषयमा गृहमन्त्री लेखकले विशेष जोड दिएका थिए । 

विदेश सचिव मिश्रीले सोमबार नै परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरू लगायतका विविध विषयमा छलफल भएको थियो ।

वार्ताका क्रममा मन्त्री राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाइ रुटको उपलब्धताका लागि सचिव मिश्रीमार्फत भारतसँग कुरा उठाएकी थिइन् । भारत फर्केपछि सम्बन्धित अधिकारीहरूसँग यस विषयमा कुराकानी गर्ने आश्वासन विदेश सचिवले दिएका थिए ।

भेटका क्रममा मन्त्री राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएकी थिइन् ।

भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउनेबारे मन्त्री राणाले उठाएकी थिइन् । जवाफमा विदेश सचिव मिश्रीले पञ्चेश्वरका धेरैजसो समस्या समाधान भइसकेको र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गर्ने जनाएका थिए । 

त्यसैगरी, मन्त्री राणाले टनकपुर बाँधको नहरमा पानी छाड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिश्रीमार्फत भारत सरकारसँग कुरा उठाएकी थिइन् । 

शिष्टाचार भेटका क्रममा मन्त्री राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गरेकी थिइन् । 

विदेश सचिव मिश्रीलै भ्रमणको अन्तमा मात्र आफ्नो नेपाल समकक्षी परराष्ट्र सचिव सेवा लम्सालसँग भेट गरेका थिए । 

परराष्ट्रमन्त्रीलाई भारत भ्रमणको निम्तो, प्रधानमन्त्रीलाई छैन

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । 

भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको निमन्त्रणा उनले परराष्ट्र मन्त्री राणालाई हस्तान्तरण गरेका हुन् । परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न भारत जुनसुकै समय तयार रहेको उनले भेटमा बताएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । 

जवाफमा परराष्ट्रमन्त्री राणाले उपयुक्त समयमा आफू भारत भ्रमणमा आउने बताएकी थिइन् । 

भारतीय विदेश सचिव मिश्रीले राजनीति भेटवार्तामा उच्चस्तरीय भ्रमण हुनुपर्ने बताए । तर, नेपालका प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिएनन् । 

भारतका प्रधानमन्त्री मोदीले निमन्त्रणा नपठाएका कारण उनले ओलीलाई भारतमा निमन्त्रणा नगरेका हुन् । प्रधानमन्त्री ओलीले भने विदेश सचिव मिश्रीमार्फत भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu