‘बाटोसँग जोडिएको, बसोबासका लागि अति उत्तम । उँचो ठाउँमा रहेको, हजुरले खोजेजस्तै । बिजुली पानीको तार/धारा जोडिएको । सहर छ्याङ्ङ देखिने । पूर्व मोहडाको । चारकुना मिलेको । चट्ट रुमालजस्तो । सुन्दर, अति सुन्दर । मनमोहक । आहा !’
शम्भुलाई जग्गा चाहिएको । उसैले ‘जाऔँ’ भन्यो । फुर्सदमै थिएँ । उसैसँग आएको म । जग्गाको बारेमा खासै जानकारी छैन मलाई ।
शम्भुले घुमीघुमी हेर्यो । म भने जग्गा देखाउने मान्छेको कवितामय वर्णनमै मक्ख परिरहेँ ।
चिया खान बसेका बेला मैले सोधेँ, ‘जग्गाको किनबेचमा लाग्नुभएको धेरै भयो ?’
उसले सोझो उत्तर दिएन । पहिले आफ्नो जन्मथलो बतायो । अनि, दाजुभाइको संख्या भन्यो । ससुराली गाउँको वर्णनतिर लाग्यो । अनि, मेरो बारेमा पनि तिनै कुरा सोधखोज गर्यो ।
हामी विस्तारै अनौपचारिक हुँदै आयौँ ।
अनि, मैले सोधेँ, ‘पहिले के काम गर्नुहुन्थ्यो ?’
‘खास काम भन्ने केही थिएन, साधनामा थिएँ । घरखर्च चलाउन पनि धौधौ थियो । अब अहिले ठिकठिकै छ ।’
मैले छाडिनँ । फेरि सोधेँ, ‘पहिले के काम गर्नुहुन्थ्यो नि ?’
‘सानैदेखि कविता रच्थेँ । कविता रचेरै घरबार गरियो । तर, खर्च चलाउन सधैँ धौधौ । अनि, यता लागियो । कवितामा लागु हुने शब्द र कला राम्रै खपत हुने रहेछ यता । अनि, कविता लेख्न छाडेजस्तै भयो । छाडियो नै भनौँ ।’
शम्भु समालोचना गरी टोपल्छ, मौका छोपी हाल्यो । भन्यो, ‘कविता मर्दैन । पुँजीवादमा हरेक गतिला चिजका अनेक भेरिएन्ट देखापर्छन् । कविताको लेटेस्ट भेरिएन्ट पनि त्यस्तै हो ।’