site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तराईमा किन दिउँसोभन्दा राति धेरै वर्षा हुन्छ ? 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । मनसुन सिजनमा सामान्यतया दिउँसोभन्दा राति धेरै वर्षा हुन्छ । पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा दिउँसोभन्दा राति झन् धेरै वर्षा हुन्छ । 

तराईमा पानी पर्न वायुमण्डलको तल्लो भागमा मनसुनी वायु सक्रिय हुनुपर्छ । रातको समयमा कम तापक्रम हुने भएकाले तल्लो भागमा रहेको बादल चिसो हुने र पानी पर्ने मौसमविद्हरूको भनाइ छ । 

घाम एकदमै लागेको समय जमिन तातेर ‘लोकल क्लाउड’ जम्मा हुन्छ, र स्थानीय वायु विकास भई त्यो राति बढी सक्रिय भएर पानी पर्ने गरेको मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।  

“यस्तो अवस्थामा मनसुनी वायु र जमिन तातेर बनेको जलवाष्पबाट बनेको स्थानीय वायु दुईतिरबाट ठोक्किएर दिउँसो पनि पानी पर्ने सम्भावना हुन्छ,” उनले भने, “तर सधैँ अचानक स्थानीय वायु विकास नहुने भएकाले तराईमा दिउँसो तुलनात्मक रूपमा राति र साँझको तुलनामा कम वर्षा हुन्छ ।”  

पहाडी भू–भागमा भने बादल माथि जाने क्रममा पहाडमा ठोक्किएर वर्षा हुन्छ । बादल माथि जाँदा उचाइ धेरै भएकाले चिसिएर वर्षा बढी हुन्छ ।

मौसमविद् गोविन्द झा समग्रमा मनसुन सिजनमा दिउँसोभन्दा राति धेरै पानी पर्ने र तराईमा झन् धेरै राति वर्षा हुने प्रष्ट पार्छन् । “दिउँसो सूर्यको हिटले जमिन तात्छ । यसले प्रेसर डिफरेन्स हुन्छ । मनसुनी वायु सक्रिय भएका बेला यसले पनि वर्षा गराउन ठूलो भूमिका खेल्छ,” उनी भन्छन्, “मनसुन सक्रिय नभए पनि मनसुनी रेखा नेपालबाट नजिकै छ । बंगालबाट आउने र अन्यबाट पनि जलवाष्पयुक्त वायुलाई सपोर्ट हुन्छ, त्यसैले दिउँसोभन्दा राति धेरै वर्षा हुन्छ ।” 

मनसुन सिजनको विगतको तथ्यांकले यसलाई पुष्टि गर्ने उनको भनाइ छ । 

दिउँसो जमिन तातेर बन्ने बाफ वायुमण्डलमा गएर बादल बन्ने र मनसुनी वायुका कारण मनसुनमा राति बढी वर्षा हुने गरेको मौसमविद् झा बताउँछन् । 

“हुन त मनसुन सिजनमा दिउँसोभन्दा राति धेरै वर्षा हुने हो । तर बंगालको खाडीको जलवाष्पयुक्त वायु र सूर्यको तातोका कारण चुरे पर्वतको रेन्ज र त्यसभन्दा तलको क्षेत्रमा अझ धेरै रातिको समयमा वर्षा हुन्छ,” उनी भन्छन् । 

दिनभर सूर्यको तातोले जमिनमा रहेको पानी वाफ बनेर वायुमण्डलमा जाने र त्यो राति पानी बनेर बर्सिने मौसमविद् सुदर्शन हुमागाईं बताउँछन् । “दिउँसो जमिन तातेर निस्किने बाफ वायुमण्डलमा जान्छ । राति तापक्रम घट्नेक्रममा त्यो बादल चिसिएर राति पानी पर्ने हो,” मौसमविद् हुमागाईं भन्छन् । 

उनका अनुसार बिहानको तुलनामा दिउँसोदेखि नै बढी पानी पर्ने र राति झन् धेरै वर्षा हुन्छ । “जति तापक्रम चिसिँदै जान्छ, त्यति नै बादल चिसिएर वर्षा हुँदै जान्छ,” उनले भने । 

बिहान र दिउँसोभन्दा साँझ र राति झन् धेरै वर्षा हुने भए पनि जल तथा मौसम विज्ञान विभागसँग यसको यकिन तथ्यांक भने छैन । केही समय अगाडिसम्म म्यानुअल वर्षा मापन केन्द्र रहेकाले रियल टाइम तथ्यांक नआउने विभागको भनाइ छ । 

“सन् २०१९ बाट स्वचालित जलमापन केन्द्रबाट रियलटाइम डाटा आउने गरेको छ । यसले दिउँसोभन्दा साँझ र राति झन् धेरै पानी पर्ने देखाएको छ,” मौसमविद् हुमागाईं भन्छन्, “तर हामीले दिउँसोभन्दा राति कति प्रतिशत बढी वर्षा हुन्छ भन्ने तथ्यांक भने राख्ने गरेका छैनौँ ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro