site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले संसदीय समितिमै ‘ढाँटे’पछि...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतमा समेत विचाराधीन र संसद्ले कुनै सुनुवाई गर्न नपाएको विषयमा संसदीय समितिमा सिधै ‘ढाँटेका’ छन् ।

प्रधानमन्त्री भएपछि पहिलोपटक संसदीय समितिमा उपस्थित ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्त नियुक्तिका विषयमा संसदीय सुनुवाई भएको ‘गलत दाबी’ प्रस्तुत गरे । 

ओली मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आमन्त्रित थिए ।  छलफलको अजेन्डा थियो, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई शंशोधन गर्न बनेको विधेयक’ । उक्त विधेयक ओली प्रधानमन्त्री हुँदा २०७६ माघमा राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।

सांसदहरू अख्तियारमा अक्षम र राजनीतिक पात्र नियुक्त नगर्न आग्रह गर्दै थिए । त्यसैमा जवाफ फर्काउने क्रममा ओलीले अख्तियारमा राजनीतिक भागबण्डा नभएको र संसदीय सुनुवाइबाट आएको ‘फेक’ तथ्य प्रस्तुत गरे ।

ओली नेतृत्वको संवैधानिक परिषद्ले ०७७ मंसिर ३० मा अख्तियार प्रमुख प्रेमकुमार राईसहित संवैधानिक अंगमा नियुक्तिको सिफारिस गरेको थियो । 

संसद्विहीन अवस्थामा संसदीय सुनुवाईबिनै ०७७ माघ २१ मा राई अख्तियार प्रमुख आयुक्त नियुक्त भएका थिए ।  राई जसरी नै प्रतिनिधिसभा विघटनकै अवस्थामा दुईपटक गरी ५२ जना संवैधानिक पदाधिकारी नियुक्त भएका थिए । तिनीहरू कसैको पनि संसदीय सुनुवाई भएको छैन ।

संसदीय सुनुवाई भएको भए कतिपय पदाधिकारीहरूको नाम अनुमोदन नहुन सक्थ्यो र विवादित बन्न सक्थ्यो ।  किनभने संसदीय समितिले प्रकरणमै संलग्न भएको निस्कर्ष निकालेका व्यक्ति समेत पदाधिकारीमा सिफारिस गरिएका थिए ।

संसदीय सुनुवाई नभएका संवैधानिक पदाधिकारी असल हुन् कि खराब मुलुक चारवर्ष पुग्न लाग्दा समेत बेखवर छ । संवैधानिक अंगमा नियुक्त ती ५२ जना पदाधिकारीहरूको ‘वैधानिकता’मा निरन्तर प्रश्न उठ्दै आएको छ । 

अझ संविधानविपरीत अध्यादेशका आधारमा तिनीहरूको नियुक्ति हुनु र संविधानतः संसदीय सुनुवाईसमेत नभएपछि सर्वाेच्च अदालतमा रिट परेको थियो । तर, नियुक्तिमै संलग्न सर्वाेच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ‘भाग’ पाएपछि रिटलाई सुनुवाईमा पठाउनुको बदला थन्क्याउने खेलमा लागे ।

तर, प्रधानमन्त्री ओलीले संसदीय समितिलाई सिधै ढाट्दा पनि समितिका कुनै सदस्यले प्रतिप्रश्न नगर्नु आफैमा आश्चर्यजनक छ । 

उता सांसदहरू चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो शक्तिशाली संवैधानिक आयोगमा प्रमुखसहित पदाधिकारीहरूमा राजनीतिक नियुक्ति नगरिदिन अनुरोध गरेका थिए ।

समितिमा प्रधानमन्त्रीसँग सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले भागबण्डामा अख्तियार जस्तो ठाउँमा प्रमुखसहित पदाधिकारी नियुक्त गरेकै कारण भ्रष्टाचार नियन्त्रण नभएको र जनतामा पनि आयोगप्रति नै विश्वास उड्दै गएको जिकिर गरेका थिए । 

कांग्रेस सांसद सरिता प्रसाईंले देशलाई सही ट्रयाकमा लैजान राजनीतिक नियुक्ति नगर्न आग्रह गरिन् । 

“अख्तियारमा प्रमुखमा राजनीतिक मान्छे नराखौँ । त्यस्ता मान्छे राख्दा अख्तियारको छानबिनमा जनताले भर गर्न छोडिसके,” प्रसाईंले भनिन्, “प्रधानमन्त्री ओलीज्यू, तपाईं र हाम्रो सभापति शेरबहादुर देउवा अब धेरै लामो समय राजनीति गर्ने होइन । तपाईंहरूले देशलाई ‘ट्रयाक’मा हुलिदिनुस् ।”

त्यस्तै कांग्रेस सांसद हृदयराम थानीले भ्रष्टाचारसम्बन्धी कानुन बनाउँदा अख्तियारमा हुने भागबण्डाबारे हेक्का राख्न सुझाए । 

उनले भने, “अख्तियार प्रस्टै छ, राम्र्रा मान्छे पनि होलान्, बेग्लै हो । तर, राजनीतिक भागबण्डामा गएको छ । अख्तियार भागबण्डामा गएपछि के हुन्छ भन्नेमा प्रधानमन्त्री जानकार हुनुहुन्छ । ऐन बनाउँदा अख्तियारका बारेमा ध्यान दिऔैं ।”

जवाफमा ओलीले आयोगमा कर्मचारी प्रशासनमा खारिएका सक्षम र योग्य व्यक्तिलाई नियुक्ति गरिएको दाबी गरे । उनले राजनीतिक नियुक्ति नगरिएको दलिल प्रस्तुत गर्दै संसदीय सुनुवाईमार्फत आएका व्यक्तिलाई नियुक्त गरिएको बताए । 

“अख्तियारमा राजनीतिक नियुक्ति भएको छैन । ब्युरोक्रेसीबाट खारिएर, माझिएर आएका र ब्यूरोक्रेसीमा स्वच्छ भनेर मानिएका मानिसहरू आएका छन्,” ओलीले भने, “संसदीय सुनुवाईको बाटोबाट ग्रुजिएका छन्, उनीहरू ।”

बैठकमा संसदीय सुनुवाई समितिको औचित्य पुष्टि भएको दाबी ओलीको थियो ।  संसदीय समितिले प्रस्तावित प्रधानन्यायाधीश र प्रस्तावित निर्वाचन आयुक्तलाई अस्वीकार गरेकोतर्फ लक्षित गर्दै समितिको औचित्य नभएको भाष्य गलत भएको बताए । 

“अहिलेको समय मान्छे आफ्नो छान्ने हैन, समक्ष र योग्य परिणाम दिन सक्ने मान्छे छान्ने हो,” ओलीले भने, “म माननीयज्यूलाई सोध्न चाहन्छु कसैलाई सिफारिस नगरेको, ‘आफ्नो मान्छे’ नबोकेको माननीय हुनुहुन्छ कि हुनुहुन्न ? कति हुनुहुन्छ ?”
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro