site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३४ जिल्ला बुधबारसम्म बाढीपहिरोको उच्च जोखिममा, रात्रिकालीन बस नचलाउन आग्रह
वाग्मती नदीमा आएको बाढी ।

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन २३ गतेसम्म देशका ३४ जिल्लामा बाढीपहिरोको उच्च जोखिम रहेको बताएको छ । बाढीपहिरोको सम्भावित जोखिम रहेका ती जिल्लामा आवश्यक सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । 

मंगलबार (आज) र बुधबार (भोलि) भारी वर्षा र अति भारी वर्षा हुनसक्ने र यसले पाँच वटा प्रदेशका ३४ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण प्राधिकरणको छ ।

प्राधिकरणका अनुसार उच्च जोखिममा रहेका जिल्लाहरूमा कोसी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम छन् भने वाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा छन् । 

त्यसैगरी गण्डकी प्रदेशमा म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा उच्च जोखिममा छन् । 

लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम उच्च जोखिममा छन् । सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी उच्च जोखिममा छन् ।

“उक्त जिल्लाहरूमा अति भारी वर्षाका कारण विपद्का घटना बढ्न सक्ने हुनाले निम्न कार्यहरू गर्न गराउनु हुन सम्बन्धित सरोकारवालाहरूलाई यो विशेष सूचना जारी गरिएको छ,” प्राधिकरणले भनेको छ ।  

प्राधिकरणले उच्च जोखिम रहेका जिल्लामा रातको समयमा यात्रा गर्दा आउन सक्ने बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न रात्रिकालीन बस नचलाउन अनुरोध गरेको छ ।

भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न पनि प्राधिकरणले भनेको छ ।

“जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद्सम्बन्धी काम गर्ने साझेदार संस्थाहरूले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहने,” प्राधिकरणले भनेको छ, “भारी वर्षाको अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्ने ।”

भारी वर्षा हुने प्रक्षेपण गरिएका जिल्लाहरूमा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि ती जिल्लाहरूका तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन पनि अनुरोध गरिएको छ । 

“नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दाहरू चनाखो रहने । सुरक्षा निकाय, एम्बुलेन्स लगायतका जरुरी टेलिफोन नम्बरहरू राख्ने र आपत परे तुरुन्तै फोन गर्ने,” प्राधिकरणले भनेको छ ।  

प्राधिकरणले उच्च जोखिममा रहेका जिल्लामा दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान अनुरोध गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro