site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमसीसीअन्तर्गतका तीनवटै सबस्टेसनको ठेक्का लाग्यो

काठमाडौं । एमसीए नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेको छ । योसँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेशन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेसन पनि सोही कम्पनीसँग गत जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेसन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेसनमध्ये एउटा बन्ने एमसीए नेपालले जनाएको छ । नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण हेतुका रूपमा काम गर्नेछ ।

बुधबार एक कार्यक्रमबीच एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Dabur Nepal
NIC Asia

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले यी तीनवटै सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले आयोजना समयमै सम्पन्न गर्नका लागि सशक्त पहल गर्न पनि सम्बन्धित सम्पूर्ण सरोकारवालालाई आह्वान गरे ।

सो समारोहमा अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले भने, “यो प्रगति एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसीए–नेपालले गरेका निरन्तर प्रयासहरूको राम्रो संकेत हो । नेपालको फैलदो ऊर्जा क्षेत्रका लागि यी तीनवटा सबस्टेसन महत्त्वपूर्ण छन् र यिनीहरूले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ ।”

कार्यक्रममा अमेरिकी राजदूत डिन. आर थम्प्सनले भने, “आज नेपाल सरकार, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र एमसीए–नेपालसँग काँधमा काँध मिलाउँदै यो आयोजनाको प्रगति र नेपालको सुन्दर भविष्य निर्माणका लागि यहाँहरू सबैले निर्वाह गर्नुभएको महत्त्वपूर्ण भूमिकाको म प्रशंसा गर्दछु ।” 

उनले थप भने, “समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घर घरमा ऊर्जा पुर्‍याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट हाम्रो साझा सफलताको कथाको महत्वपूर्ण अंग बन्दैछ ।”

एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा तीनैवटा सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्त्वपूर्ण कोसेढुंगा भएको बताए । 

उनले भने, “यस अवसरमा म नेपाल सरकार, हाम्रा महत्त्वपूर्ण सरोकारवाला निकायहरू अर्थ मन्त्रालय, एमसीए–नेपाल सञ्चालक समिति, नेपाल विद्युत् प्राधिकरण तथा एमसीसीलाई निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछु ।”

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित नेपाल–भारत सीमासम्म ३१५ किमी लामो प्रसारणलाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । अहिले १८ किमी लामो सीमापार प्रसारणलाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन कार्य भइरहेको छ । 

एमसीए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै, बाँकी २९७ किमी प्रसारणलाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ । एमसीए–नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro