site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मौद्रिक नीतिमा पूर्ण सन्तुष्ट भएन निजी क्षेत्र, यस्तो छ उद्योगी व्यवसायीको टिप्पणी

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिलाई निजी क्षेत्रले केही विषयबाहेकका क्षेत्रमा सकारात्मक मानेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बजारका लागि सकारात्मक आएको टिप्पणी गरेका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमाथि उनले यस्तो टिप्पणी गरेका हुन् ।

मौद्रिक नीति माग सिर्जना गर्ने, कर्जा विस्तार गर्नेदेखि निर्माण व्यवसायीका लागि सहज वातावरण सिर्जना गर्ने किसिमको देखिएको उनको भनाइ छ । “मौद्रिक नीति ठिक ठिकै देखियो । डिमान्ड क्रिएट गर्ने, कर्जा पनि विस्तार गर्ने, कन्ट्याक्टरहरूलाई पनि कन्स्ट्रक्सनको कुरा, ब्ल्याक लिस्टिङको कुराहरू सहज हिसाबले आएको छ,” अध्यक्ष ढकालले भने ।

सेयर बजारका हकमा संस्थागत सेयर धितो कर्जाका लागि लगाइएको सीमा खारेज गरिएको विषय पनि सकारात्मक भएको उनको भनाइ छ ।

“२० करोडको लिमिट, हामीले उठाएको चालु कर्जाको रिभाइज गर्ने कुराहरूसहित समग्रमा राम्रो देखिन्छ । तर, कतिपय कुराहरू कस्तो सर्कुलर आउँछ भन्नेमा भर पर्छन्, समग्रमा सकारात्मक नै देखिएको छ,” बजारलाई सकारात्मक लिने किसिमको नीति आएको उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कर्मस (एनसीसी)का अध्यक्ष कमलेशकुमार अग्रवालले पनि मौद्रिक नीति सकारात्मक आएको बताएका छन् । तर, ५० लाखभन्दामाथिको कर्जाको जोखिम भार, घरजग्गा क्षेत्रमा मूल्यांकनको सीमा र कर्जा समायोजनका विषयमा भने मौद्रीक नीति सकारात्मक नआएको एनसीसीका अध्यक्ष अग्रवालको भनाइ छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेशकुमार अग्रवालले मौद्रिक नीति केही लचिलो आएको बताए । तर, निर्माण क्षेत्रलाई प्राथमिकता दिएको देखिए पनि उत्पादन क्षेत्रमा भने केही नभएको उनको टिप्पणी छ ।

“समस्या त उत्पादनशील क्षेत्रमा पनि छ । त्यो पनि नकारात्मक दिशामा चलिरहेको छ, उद्योग बन्द भइरहेका छन् । साना उद्योग बन्द भइरहेका छन्, रुपन्देहीमा उद्योग बन्द भइसके,” सीएनआईका अध्यक्ष अग्रवालले भने ।

ब्याजदर, सेयर बजार र निर्माण क्षेत्रको कालोसूचीमा केही सहज देखिए पनि समग्रमा उत्पादनशील क्षेत्र र अन्यतर्फ हेर्दा यो नीतिले पूरै बजार चलायमान नहुनसक्छ भन्न नसकिने उनको भनाइ छ । “बैंकदर सात प्रतिशबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ बाट पाँच प्रतिशत कायम गरिएको छ, यसले व्याजदर घटाउन मदत गर्छ,” उनले भने ।

यस्तै, निर्माण व्यवसायी, ड्राफ्टी/टीटीबाट आयात गर्दाको सहटी सुविधा बढाएर ५० हजार अमेरिकी डलर कायम गरिनु, असल कर्जामा नोक्सानी १ः२० देखि १ः१ झारिनु र चेक अनदारकै आधारमा कालोसूचीमा राखिने व्यवस्था पुनरावलोकन गरिनु सकारात्मक भएको उनको भनाइ छ ।

तर, ५० लाख रुपैयाँभन्दा माथिको कर्जा प्रवाहको जोखिम भार शतप्रतिशत कायम गरिनुपर्ने माग सम्बोधन हुन नसकेको चेम्बर अफ कर्मसका अध्यक्ष अग्रवालको भनाइ छ ।

“घरजग्गा कारोबारलाई थप गति दिन ५० लाखभन्दामाथिको कर्जाको जोखिमभार शतप्रतिशत कायम गरिनुपर्ने र मुल्यांकनको सीमा ८०–२० को रेसियो कायम गरिनुपर्ने माग पुरा हुन सकेन,” उनले भने ।

यस्तै, चालुपुँजी कर्जासम्बन्धी भेरिएन्स एनालिस गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थाको समयावधि थप गरिनुले अल्पकालीन समस्या समाधान गरे पनि दीर्घकालीन समाधान नभएको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro