site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लुम्बिनी केबलकारमा भदौसम्म 'मर्निङ' अफर :  सोमबार बिहान ५०० मा टिकट पाइने

काठमाडौं ।  लुम्बिनी केबलकारले साउन १४ गतेदेखि भदौ मसान्तसम्म सोमबारका दिनहरूमा टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ ।

साउन १४ गतेदेखि भदौ मसान्तसम्मका आठ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट दरमा ५० प्रतिशत छुटसहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केबलकारको साधारण टिकट दर एक हजार रुपैयाँ छ । यो अफरअनुसार पर्यटक र भक्तजनहरूले केबलकारको दुईतर्फी यात्राका लागि ५०० रुपैयाँ मात्र तिर्नुपर्ने छ । "बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागु हुन्छ तर, टिकट लिएकाहरू १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँछन्," कम्पनीका अपरेसन म्यानेजर कायस्थले भने ।

सोबाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ । यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । साउन महिनामा वसन्तपुरको टप स्टेसनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । मर्निङ अफर भारतीय पर्यटकमा पनि लागु हुने र उनीहरूले ५०० रुपैयाँ भारुमा टिकट खरिद गर्न सक्ने छन् ।

लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र १०० वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ । मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न सहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने संख्या बढ्दो क्रममा रहेको म्यानेजर  प्रज्वल घिमिरेले बताए ।

टप स्टेसनमा जिपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, वर पिपल चौपारी, पोखरी लगायतका धार्मिक संरचनाहरू रहेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको दुई प्रतिशत रकम सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्