काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले गृह मन्त्रालयसँग छलफल गर्ने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले आगामी बैठकमा गृहमन्त्री र मन्त्रालयका अन्य अधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो ।
सहकारी ठगी प्रकरणमा जोडिएर देश बाहिर रहेकालाई स्वदेश फर्काउन भइरहेका पहलबारे गृह मन्त्रालयसँग छलफल गर्न लागिएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।
शुक्रबारको बैठकमा समितिले तीनजना पूर्व अर्थमन्त्रीहरूसँग छलफल गरेको थियो । उनीहरूले सहकारीमा देखिएको समस्या र समाधानबारे सुझाव दिएको समितिका संयोजक थापाले बताए ।
संयोजक थापाले सहकारी ठगी प्रकरणका विषयमा कुनै जानकारी भए समितिमा अवगत गराउन पनि आग्रह गरेका छन् ।