site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा अध्यक्षको गुनासो : सञ्चारमाध्यममा सभाका गतिविधि कम प्राथमिकतामा पर्‍यो

धुलिखेल । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सञ्चारमाध्यमले राष्ट्रियसभामा हुने गतिविधिलाई कति प्राथमिकता दिएको छ भन्ने समीक्षा गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रियसभाको गतिविधि सञ्चारमाध्यममा कम प्राथमिकता परेकोमा गुनासो गरे ।

शुक्रबार काभ्रेको धुलिखेलमा सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यसले आम नागरिक राष्ट्रियसभाको गतिविधिमा सुसूचित हुने अवसरबाट बञ्चित हुने धारणा राखे । उनले सभाका गतिविधि जनतासमक्ष लैजान र नागरिकको सूचित हुने अधिकार सुनिश्चित गर्नमा जोड दिए । "राष्ट्रियसभाप्रति मिडियाको चासो वस्तुनिष्ठ भएर सबैले समीक्षा गर्नुपर्ने देख्छु," उनले भने ।

अध्यक्ष दाहालले राष्ट्रियसभामा हालसम्म ६१ विधेयक दर्ता भएको त्यसमध्ये ३१ विधेयक प्रमाणीकरण भएको जानकारी दिए । "१२ वटा विधेयक फिर्ता र २०७९ सालमा प्रतिनिधिसभाको अवधि समाप्त हुँदा राष्ट्रियसभामा दर्ता भएको पाँचवटा विधेयक निष्क्रिय भएका थिए," उनले भने ।

अध्यक्ष दाहालले सरकारी विधेयकको हकमा नेपालमा हालसम्म तीनवटा गैरसरकारी विधेयक ऐन बनेको इतिहास रहेको र ती विधेयक राष्ट्रियसभामै उत्पति भएर ऐन बनेको पनि उल्लेख गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरेले मिडिया देख्दा सांसद डराउनुपर्ने र भाग्नुपर्ने अवस्था उत्पन्न हुन नहुने बताइन् । उनले पत्रकारले उठाएका विषय सांसद र संसदीय प्रक्रिया सुधार गर्ने अवसर हुने उल्लेख गरिन् । साथै, उनले जनताबाट नकारात्मक प्रतिक्रिया आउने क्रम बढेको र यस्ता कुरा किन आउँछ हामी सांसद भएर गलत पो गरिएछ कि भन्ने भान बढ्न थालेको बताइन् ।

"मिडियाको दायित्व यो पेसा मात्र होइन सेवा पनि हो भन्नेतर्फ जानुपर्छ । मिडियाको भूमिका सांसद सरह छ," उनले भनिन्, "सांसदहरू पत्रकार देख्दा भाग्न डराउने र कतिपय सांसदहरू नजिक हुने र कतिपय तर्केर हिँड्ने अवस्था र स्थिति बन्न हुँदैन।"

उनले मिडियाको केन्द्र र प्राथमिकतामा राष्ट्रिय सभा र यसको गतिविधि पर्न नसकेकोमा पनि गुनासो गरिन् । "प्रतिनिधिसभालाई बढी र राष्ट्रियसभालाई कम ध्यान र प्राथमिकता दिएको भन्ने गुनासो छ," उनले भनिन्, "संघीय संसद् भनेको त प्रतिनिधिसभा मात्र होइन होला नि दुवै सदनलाई उत्तिकै प्राथमिकता दिनुपर्छ भन्ने मेरो मान्यता हो ।

उनले सांसदहरूलाई हतोत्साहित मात्र होइन प्रोत्साहित गर्नेगरी जनतालाई केन्द्रविन्दुमा राखेर विषय उठान गरिदिन अनुरोध गरिन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro