काठमाडौं । ६६ वर्षीय पुण्यरत्न शाहीले जीवनका २५ वर्ष विमान र आकाशसँग जोडिएर बिताए । नेपाल वायुसेवा निगमबाट रिटायर्ड भएपछिको जीवन झनै ऊर्जावान् बनेको थियो । उनको नियमित कर्म थियो– योगध्यान, घर परिवारको व्यवस्थापन, आफ्नो स्वास्थ्यको हेरचाह, जागिरमा जिम्मेवार कर्मचारी ।
पाँच वर्षअघि उनी सौर्य एयरलाइन्ससँग जोडिए । सबै कुरामा उत्तिकै सक्रिय थिए । जहाज मर्मतका लागि उनी बुधबार पोखरा जाँदै थिए । छोरा रिजेनले उनलाई मोटरसाइकलमा विमानस्थल छोडिदिएका थिए ।
तर, रिजेन घर नपुग्दै खबर आयो– एयरपोर्टमा धुवाँको मुस्लो देखियो, प्लेन दुर्घटना भयो रे !
सिनियर सिटमेटल इन्जिनियर आफ्ना बुबाले नै चेकजाँच गरेर चढेको जहाजप्रति सुरुमा कत्ति पनि शंका लागेन रिजेनलाई । तर, सोधखोज गर्दा जब आफ्नै बुबा चढेको प्लेन दुर्घटना भएको पुष्टि भयो, रिजेनलाई लाग्यो– 'आफ्नो ज्यानलाई त्यति माया गर्ने बुबालाई जलेर मर्दा कति कष्ट भयो होला ?'
बिहीबार शिक्षण अस्पताल महाराजगञ्जमा बुबाको शव कुरिरहेका रिजेन फेरि एकपटक भक्कानिए, “मेरो बुबा पिल्लर हुनुहुन्थ्यो घरको, एक्लो छोरो म त अब टुहुरो भएँ, वृद्ध आमालाई कसरी सम्हाल्ने ?”
'जहाजको अवस्था ठिक थिएन भने किन त्यति धेरै स्टाफ चढाएको ? आखिर के खराबी थियो प्लेनमा ?’ यस्ता प्रश्नको उत्तर उनले कसैबाट पाएका छैनन्, अहिलेसम्म ।
“मेरो बुबा त फर्केर आउनुहुन्न । तर, दुर्घटनाको सत्यतथ्य पत्ता लगाई मरेर पनि उहाँले न्याय पाउनुपर्छ,” रिजेनले थोरै हिम्मत जुटाएर बोले ।
बुधबार विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारमध्ये धेरैलाई रिजेनको जस्तै घरिघरि झस्का लागिरहन्छ– आखिर मर्मत गर्न लगिएको प्लेनमा किन यति धेरै स्टाफ बोकियो ?
बिहीबार मृतकका आफन्तलाई भेट्न सौर्य एयरका व्यवस्थापक मुकेश खनाल र कम्पनीका जीएम गोपाल भट्टराई शिक्षण अस्पताल पुगेका थिए ।
मृतकका एक वृद्ध आफन्तले व्यवस्थापक खनाललाई सोधे, “बिग्रेको प्लेनमा त्यतिका स्टाफ नबोक्दा हुन्थ्यो होला नि ? ती मरेर गएकाहरू कम्पनीलाई नै काम लाग्थे होलान् नि ?”
ती वृद्धको जिज्ञासापछि व्यवस्थापक खनाल एकछिन आफैँ स्तब्ध बने । र, सम्झिए ज्यान गुमाएका एउटै टेबलमा बस्ने सहकर्मीहरूलाई । फेरि पनि मृतकका परिवारको मन शान्त पार्ने र घटनाको जिम्मेवारी लिने दायित्व त कम्पनीकै हो ।
खनालले जवाफ दिए, “जहाज बिग्रिएको थिएन । नियमित चेकजाँचका लागि लगिँदै थियो । यो नियमित होइन । यस्तो उडानमा स्टाफहरू आवश्यकताअनुसार लैजान पाइन्छ ।”
उनले सिनियर इन्जिनियर र प्राविधिकहरू गुमाउँदा एयरलाइन्सलाई भएको क्षति सुनाए । “अब त हामी तत्काल उडान भर्न सक्ने अवस्थामा पनि छैनौँ,” खनालले भने ।
दुर्घटनामा ज्यान गुमाउनेमा चारजना व्यवस्थापन टिमबाटै छन् । खनालका अनुसार प्राविधिक मनुराज शर्माकी श्रीमती प्रिजा, छोरा अधिराज र यमन नागरिक अरिफ बाहेक सबै सौर्यका स्टाफ थिए । उनीहरूलाई विमान मर्मतका लागि तीन महिनासम्म पनि पोखरा बस्नुपर्ने हुन सक्थ्यो ।
त्यसो त मृतकका परिवार आफन्तमात्र नभई आमनागरिक र सरोकारवालाहरूले पनि मर्मतका निम्ति लगिएको जहाजमा यति धेरै स्टाफ किन लगियो भन्ने कुरालाई शंकाको घेरामा राखेका छन् ।
केएमसी अस्पतालमा उपचाररत घाइते क्याप्टेन मनीषरत्न शाक्यले १०० मिटर उचाइमा पुगेपछि जहाज आफ्नो नियन्त्रणभन्दा बाहिर गएको बताएका छन् ।
सौर्यका एयरलाइन्सले नियमित मर्मत र सम्भारको समय तालिकाअनुसार विमानको विस्तृत मर्मतको अवधि अझै ५० घण्टा बाँकी रहेको बताएको छ ।
तर, शवको पर्खाइमा रहेका मृतकका परिवार एयरलाइन्सको जवाफसँग सन्तुष्ट छैनन् । मृतकका परिवारजनलाई रोजगारी र शिक्षाको व्यवस्था एयरलाइन्सले गरिदिनुपर्ने केही परिवारको माग छ । यसबारे नागरिक उड्ययन प्राधिकरण, मृतकका परिवार र एयरलाइन्स कम्पनीबीच शुक्रबार थप छलफल गर्ने तय भएको छ ।
यता अस्पतालले भने शव परीक्षण कार्य शुक्रबार सकिने जनाएको छ । तर, डीएनए परीक्षण गर्नुपर्ने अवस्था आए दुई हप्तासम्म लाग्न सक्ने अस्पताल निर्देशक डा. दिनेश काफ्ले बताउँछन् ।
बिहीबार दिउँसोसम्म १२ शवको परीक्षण सकिएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डीएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना छ । त्यसपछिको प्रक्रिया सकेर शनिवारबाट आफन्तलाई जिम्मा लगाइने काफ्लेले बताए ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाबारे जाँचबुझ गर्न पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ ।