site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
नेपाली मौलिक कला संस्कृतिको प्रवर्धन गर्दै टिकटक

आजको संसारमा सांस्कृतिक अन्तरघुलन अपरिहार्यजस्तै भएको देखिन्छ । एक अर्काका संस्कृतिहरू मिसिएर सयौं वर्षदेखि चल्दैआएका परम्परा बदलिन थालेका छन् । परिणामस्वरूप मौलिक परम्पराहरू क्षीण हुन्छन् भने आदिवासी जनजातिका विशिष्ट पहिचान हराउन पनि सक्छन् । विभिन्न आदिवासी जनजाति समुदायको सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र नेपालमा यो चिन्ताको विषय हो । सामाजिक राजनीतिक कारणहरूले गर्दा यी जात जातिको भाषा, संस्कृति र आत्मीयताको भावनामा ह्रास आइरहेको छ ।

अर्कातिर आधुनिक प्रविधि र सिर्जनशील नयाँ पुस्ताको आगमनले एउटा नयाँ लहर उठिरहेको छ । आजका 'टिकटक पुस्ता'ले आफ्नो सम्पदालाई अँगालेका छन् र आफ्नो पहिचानको जरामा गर्वसमेत गरिरहेका छन् । छोटा भिडियोहरू सेयर गर्ने लोकप्रिय एप टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूले यस सांस्कृतिक पुनरुत्थानमा विशेषगरी सङ्गीत, नृत्य, खानपान र परम्परागत भेषभुषाका अभिव्यक्त माध्यमहरूमार्फत् महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।

टिकटकको शक्ति यसका स्रष्टाहरूलाई सशक्त बनाउने क्षमतामा निहित छ । आदिवासी समुदायले आफ्नो अद्वितीय संस्कृति र परम्पराहरू विश्वभरका दर्शकहरूसँग बाँड्न यस प्लेटफर्मको प्रयोग गर्दैछन् । यी स्रष्टाहरू आफ्ना जीवन्त सङ्गीत र सम्पदालाई लोप हुन नदिन यससम्बन्धी ज्ञान र सूचना प्रदानसँगै चेतना एवं मनोरञ्जनसमेत प्रदान गर्न लागिपरेका छन् ।

टिकटक र योजस्ता एप्लिकेसनको प्रभाव ठूलो छ । उदाहरणका लागि केहीअघि जनजीब्रोमा झुन्डिएको गीत रोजमान महर्जनको ‘ऐला लुवाया’लाई लिन सकिन्छ । यो नेवारी गीत रिलिज भएको एक महिनामै राष्ट्रिय चर्चाको स्थानमा पुगेको थियो । सबै उमेरका मानिसलाई मन्त्रमुग्ध बनाउने यस गीतको टुक्रामा नेवारी पहिरनमा सजिएर टिकटक बनाउनेको सङ्ख्या लाखौं थियो । यसले के संकेत गर्छ भने मौलिक सङ्गीतको सौन्दर्य र यसलाई व्यापक बनाउने शक्तिशाली प्लेटफर्मको उचित संयोजन हुने हो भने कुनै पनि संस्कृति लोप हुनबाट जोगिन सक्छ ।

टिकटकको कारण अब भाषिक अवरोधहरू पनि टुटिरहेका छन् । ‘लजालु मायालु’ गीत यसको राम्रो उदाहरण हो । गायक उर्जेन दोङ र अन्नु चौधरीले तामाङ र थारु भाषाको सौन्दर्यलाई जोडेर बनाएको यस गीतलाई टिकटकमा लाखौं स्रोता र दर्शकले सुपरहिट बनाएका थिए । त्यसैगरी सन्तोष सुनारको गीत ‘छमक छमक तिम्रो पाउजु’ले नेपालका विभिन्न भाषाभाषीमा कौतुहल जगाएको छ । नेपालको सुदूरपश्चिमबाट सुरु भएको यस गीतले देशभित्रको भाषिक विविधतासमेत उजागर गरेको छ । यसबाहेक परम्परागत मैथिली गीत ‘झिजिया’ले नेपाली चलचित्रमा समेत प्रयोग हुने अवसर पाएको छ जुन एकदम दुर्लभ उदाहरण हो । यसले नेपालको जनसांख्यिक विविधतामा अन्तरसांस्कृतिक समझ र स्वीकृति बढाउने टिकटकको सम्भावना देखाउँछ ।

यी त भए नेपालभित्रका कुरा । यसबाहेक पनि मौलिक नेपाली गीत सङ्गीतको विश्वव्यापी चर्चामा टिकटकको भूमिका महत्त्वपूर्ण रहेका कैयन् उदाहरण छन् । पोहोर साल गायिका एलिना चौहान टिकटकका कारण ज्यादा चर्चामा रहने नेपाली गायिका बनिन् । उनको ‘मिनरल वाटर’ भन्ने गीतले थाइल्यान्डलगायतका देशमा ठूलो चर्चा पाएको थियो । यससँगै पूरानो नेपाली चलचित्र ‘अन्याय’को गीत ‘इसाराले बोलाउनु पर्दैन’ भियतनामजस्ता देशमा चर्चित बनेका थिए । भारतीय बङ्गाली गायक अर्को मुखर्जीले कभर गरेका गीतहरू टिकटकका प्लेटफर्ममा गुञ्जिन थालेपछि महान लोकगायक झलकमान गन्दर्वको परिचय नयाँ पुस्तामा झन् प्रभावकारी ढंगले फैलिन मद्दत गरेको छ ।

नेपालकी प्रथम गायिका भनेर चिनिने मेलावादेवी गुरुङ नेपाली भाषामा रेकर्डेड सुरुका गीतकी सर्जक पनि हुन् । राणाहरूको दरबारमा गीत गाउने मेलावादेवीले भारतको कलकत्तामा रेकर्ड गराउने मौका पाएकी ‘सवारी मेरो रेलैमा’ जस्ता कालजयी गीतहरू टिकटककै मन्चमा लाखौं दर्शक स्रोताले जीवित गराएका छन् । लाखौंको सङ्ख्यामा टिकटक बनेका यी धुनहरूले मौलिक गीत सङ्गीतको मात्र नभई नेपाली गीत सङ्गीतको इतिहासको समेत जगेर्ना गर्न सघाएका छन् ।

यससँगै ‘रिंकेबुङको राँगोलाई’, ‘भैंसी लड्यो है माया’जस्ता ठेट भाका र प्रवासी नेपाली लोकसङ्गीतमा चर्चित गीतहरूले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली भाषीलाई एक सूत्रमा बाँध्न मद्दत गरेका छन् । यसबाट विस्मृतिमा गइसकेका कैयौं स्रष्टाहरूले नयाँ पुस्तामा परिचित हुने र सम्मान पाउने क्रम तीव्र भएको छ ।

टिकटक नेपालमा आदिवासी संस्कृति जोगाउन अप्रत्याशित सहयोगी बनेको छ । सर्जकहरूलाई सशक्त बनाएर र सहकार्यलाई बढावा दिएर यस प्लेटफर्मले मौलिक परम्पराहरू साझा गर्न र आफ्नो संस्कृति सम्पदामा गर्वको भावना बढाउन शक्तिशाली मञ्च प्रदान गर्छ । युवा पुस्ताले आफ्नो जरालाई मलजल गर्न थालेपछि र आफ्नै परम्परा अँगालेपछि नेपालको समृद्ध सांस्कृतिक परिदृश्य पहिलेभन्दा झनै उज्यालो देखिनेछ । यसबाहेक नेपाली संस्कृतिको विश्वव्यापीकरण र विश्वभरका नेपालीहरूमा आफ्नोपनको भावना जागृत गराउने सम्पर्क सेतुको काम टिकटकमा फैलिएका गीतसङ्गीतले गरेका छन् । संस्कृतिको सम्मान र स्रष्टाको पहिचान गराई नयाँ पुस्तालाई आफ्नो मुहानतिर फर्कने उत्साह टिकटकले भरिदिएको छ ।


 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro