काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्न आग्रह गरेको छ । उत्पादन भएका सबै प्रकारका फोहोर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा पुर्याउँदा उक्त स्थान चाँडै भरिने भन्दै कामपाले स्रोतमै फोहोरको वर्गीकरण गर्न भनेको छ । महानगरले कुहिने फोहोर मात्र बञ्चरेडाँडा लानुपर्ने बताएको छ ।
“काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा उत्पादित सबै फोहोर अन्तिम व्यवस्थापन स्थानमा लैजाने हो भने यसको अवधि १५ वर्षमै सकिने अनुमान गर्न सकिन्छ,” कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, “त्यसैले यसको प्रयोग लामो समयसम्म गर्न वर्गीकरण गरिएको फोहोर मात्र लानुपर्छ ।”
स्रोतमै फोहोर वर्गीकरण गर्ने अभ्यास कामपाको ३२ वडामध्ये केही वडामा सुरु भइसकेको छ । कामपाले अन्य वडामा पनि थालनी गर्न आग्रह गरिसकेको छ ।
काठमाडौं उपत्यकाबाट हेरक दिन एक हजार २०० मेट्रिक टन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । विसं २०६८ मा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ ।
“भान्छामा कुहिने र नकुहिने गरी दुई खालका फोहोर निस्कन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो,” विभागका प्रमुख श्रेष्ठले भने, “नकुहिने फोहोर उत्पादक आफैँले बेच्न सक्छन् । कुहिने फोहोर आफैँले पनि मल बनाउन सकिन्छ ।”
तरकारी, बढी भएको खानेकुरा, माछा मासु, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पातलगायत कुहिने फोहोर हुन् ।
प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, नकुहिने फोहोर हुन् । रासस