काठमाडौं । सिर्जनामा जति विविधता भयो, त्यति राम्रो । जति धेरै फरकपन र शैली भयो, त्यति उत्कृष्ट । तर, केही समययता नेपाली चलचित्रको संगीतमा त्यति धेरै विविधता देखिँदैन । उस्तैउस्तै लाग्ने गीतसंगीत कम्पोज भइरहेको छ । सिनेमामा तिनै प्रयोग पनि गरिएकै छ ।
सिनेमाको संगीतमा यस्तो अवस्था रहेको संगीतकार शम्भुजित बास्कोटालाई पनि अनुभूत भइरहेको छ । केही प्रतिभावान् र क्षमतावान् गीतकार हुँदाहुँदै एकैखालका गीतसंगीत आइरहेको उनी बताउँछन् । एकैखालका गीतसंगीतको कम्पोज र प्रयोग पहिलोपटक भने नभएको उनको भनाइ छ ।
पहिलापहिला पनि यस्तो प्रयोग हुने तर अहिले यो प्रवृत्तिकै रूपमा मौलाएको उनी टिप्पणी गर्छन् । “नेपालमा अहिले राम्राराम्रा कम्पोजर र एरेन्जरहरू पनि छन् । उनीहरू स्वतन्त्र भएर गरेका कम्पोजिसन राम्रोसँग चल्यो । दर्शकले मन पनि पराए,” शम्भुजित भन्छन्, “तर, जब कम्पोजर, एरेन्जर अथवा क्रिएटर स्वतन्त्र हुँदैन, त्यसपछि सिर्जनामा ह्रास आउन थाल्छ ।”
चलचित्र प्रोडुसर र निर्देशकको ‘डोमिनेसन’मा पर्दा एकैखालका गीतसंगीत आइरहेको उनको तर्क छ । “कम्पोजरलाई यो वा त्यो गर, यहाँबाट उठाऊ र यस्तै वा त्यो जस्तै गर भन्ने प्रोडुसरको डोमिनेसनका कारण स्वतन्त्र भएर काम गर्न नपाउँदा पनि यो समस्या भइरहेको छ,” उनी भन्छन्, “जब क्रिएटर स्वतन्त्र हुँदैन, त्यसपछि उसको काममा क्वालिटी र भेरिएसन आउँदैन ।”
प्रोडुसरको दबाबमा पर्ने कम्पोरलाई समस्या रहेको उनको बुझाइ छ । स्थापित भइसकेका कम्पोजरलाई भने यस्तो समस्या नहुने उनी सुनाउँछन् । “जो नयाँनयाँ छ, उसलाई चान्स पनि चाहिरहेको हुन्छ । राम्रो प्ल्याटफर्म पनि चाहिरहेको हुन्छ,” उनी अगाडि थप्छन्, “उनीहरू बाध्यताले पनि प्रोडुसरको डोमिनेसनबाट बाहिर निस्किन सक्दैनन् ।”
नयाँलाई आर्थिक समस्याका कारण समेत प्रोडुसरको दबाबबाट निस्किन समय लाग्ने उनी बताउँछन् । प्रोडुसर र निर्देशकमा रहेको अस्वस्थ प्रतिस्पर्धा पनि त्यसको एउटा कारण रहेको उनको ठम्याइ छ । अर्कोले जस्तो गर्यो, त्यस्तै माग गर्दा एकैखालका गीतसंगीत दोहोरिरहेको उनी औँल्याउँछन् ।
“चलचित्रको कथा के हो, गीतको सिचुएसन के हो त्यसबारे कम्पोजर तथा गीतकारलाई राखेर काम गर्न सके हरेक सिनेमामा फरकफरक कम्पोज आउँछ,” शम्भुजित भन्छन्, “तपाईं यस्तो अवस्थामा के गर्नुहुन्छ भनेर पहिला सोध्नुपर्छ । तर, यहाँ त प्रोडुसर तथा निर्देशक आफैँ मलाई यस्तो र यस्तै चाहियो भन्छन् । यो सुरमा, यस्तो ताल र यस्तै लयमा भनेपछि कम्पोजरले त्यस्तै गर्नुपर्यो ।”
आफ्नो समयमा समेत चलचित्रमा एकैखालका गीतसंगीत आउने गरेको स्मरण गर्दै अहिले सीमा नै क्रस गरिसकेको उनी बताउँछन् ।
एरेन्जरमा पनि योजना बनाएर काम गर्ने परिपाटी हुने गरेको उनी प्रस्ट पार्छन् । तर, कम्पोजर र एरेन्जर नै प्रोडुसरको डोमिनेसनमा पर्ने गरेको उनको गुनासो छ । “मलाई लाग्छ, एकपटक क्रान्ति नै हुन्छ । जुन सिनेमामा पनि एकैखालको गीत छ, कुन गीत कुन सिनेमाको हो भनेर चलचित्रको नाम नहेरेसम्म थाहा नहुने अवस्था आयो,” उनी भन्छन्, “क्रिएटरलाई स्पेस भएन । राम्रो काम गर्ने वातावरण भएन । काम गर्ने स्वतन्त्रता भएन ।”
चलचित्रको संगीत अरूभन्दा विशेष र जटिल हुने संगीतकार राजु सिंह बताउँछन् । तर, यसको महत्त्व र गरिमा बुझ्ने संगीतकार र निर्देशक दुवै न्यून संख्यामा रहेको उनको भनाइ छ ।
“चलचित्रमा कथाअनुसारको संगीत हुनुपर्छ । यसका लागि संगीत बुझ्ने निर्देशक नै आवश्यक हुन्छ । अहिले कथासँग चलचित्रको संगीत मेल खाइरहेको छैन,” संगीतकार राजु भन्छन्, “यसमा कम्पोजर र गायकगायिकालाई मात्रै दोष दिएर हुँदैन । निर्देशक र निर्माताले पनि नयाँ परिकल्पना गर्न सक्नुपर्छ । यसका लागि वातावरण बनाइदिनुपर्छ ।”
संगीतको ज्ञान भएको निर्देशक आवश्यक रहेकामा उनी जोड दिन्छन् । तुलसी घिमिरे, शम्भु प्रधान, यादव खरेल, विकास आचार्यमा जस्तो संगीतको ज्ञान निर्देशकमा समेत हुन जरुरी रहेको उनी बताउँछन् ।
चलचित्रमा धेरै कम्प्रमाइज भइरहेको उनको बुझाइ छ । गीतकारले नै गाउने, संगीत भर्ने गर्नु पनि एकै फ्लेवरका गीत हुनुको कारण भएको उनको तर्क छ । “सुरुमा त प्लेब्याक सिङगिङ भनेको के हो बुझ्नुपर्छ । प्लेब्याक सिङगिङ के हो फिल गर्ने संगीतकार हुनुपर्छ । प्लेब्याक सिङगिङ भनेको फिल इन द ब्ल्यान्क्स होइन,” उनी भन्छन्, “अस्वस्थ प्रतिस्पर्धा पनि धेरै भयो । एउटाले चोलोको गीत गायो भने अर्कोले फरियाको गीत बनाइरहेको हुन्छ ।”
निर्देशक र निर्माताले पनि यस्तै गीत चाहियो भनेर दबाब दिँदा एकैखालका आइरहेको उनको बुझाइ छ ।
शम्भुजित, रञ्जीत गजमेर, शक्ति बल्लभको संगीतमा आफ्नै सिग्नेचर रहेको भन्दै उनी अहिलेका संगीतकारमा त्यो अभाव देखिएको टिप्पणी गर्छन् । एउटै व्यक्ति दोहोरिने र प्रोडुसर र निर्देशकको दबाबमा एकैखालको संगीत गर्दागर्दै नयाँ सिर्जनाका निम्ति समय नभएको उनी औँल्याउँछन् ।
आधुनिक वा लोकगीत तयार भए पनि प्रोडुसरको खर्च हुन्छ भनेर चलचित्रमा राख्नका लागि निर्देशक र निर्माताको पछाडि लाग्ने गरेको पाइएको उनी सुनाउँछन् ।
म्युजिक डाइरेक्टरका रूपमा पछिल्लो समय धेरै व्यक्ति नआएको उनी बताउँछन् । पहाडको खोला र झरनाको गीतमा वेस्टर्न नाच नचाइरहेको उनले अनुभव गरेका छन् । “फिल्मी संगीतमा मैले जे गरे पनि हुन्छ भन्ने मनोविज्ञानले पनि काम गरिरहेको छ भन्ने लाग्छ । यो भन्दैमा मैले संगीतकारहरूको आलोचना गरेको होइन,” राजु स्पष्ट पार्छन्, “म जत्रो बाल्टिन लिएर पानी भर्न जान्छु, त्यति मात्रै पानी भर्ने हो ।”
चलचित्र ‘युगदेखि युग’सम्ममा काम गर्दा निर्देशक दीपेन्द्र के खनालले नेपालका टपटप सिंगरको स्वरमा रेकर्ड भइसकेको गीत पनि स्वर म्याच भएन भनेर अरूलाई गाउन लगाएको राजु स्मरण गर्छन् ।
आलोक नेम्वाङले ‘सानो संसार’मा चारपाँचजनालाई गाउन लगाएर पैसा तिरिसकेपछि पनि हटाएर अरूकै स्वरमा रेकर्ड गराएको राजु सुनाउँछन् । “यो खालको संगीतको गम्भीरतालाई बुझ्ने क्षमता निर्देशकमा चाहिन्छ,” उनी भन्छन् ।
अहिले कुन समय कुन चलचित्रको कुन गीत आयो र गयो भन्ने थाहै नहुने उनको टिप्पणी छ । “अहिलेको फिल्मको टप गीतकारको हिट आधुनिक गीत कुन हो भनेर सोध्ने हो भने कसैलाई थाहा छैन,” उनी भन्छन्, “फिल्ममा आउन उसको कति गीत हिट छन्, आधुनिक गीतको संगीतकार भएर कति गीतमा काम गरेको छ, अनुभव चाहिन्छ ।”
गोपाल योञ्जन, नातिकाजीलाई चलचित्रको संगीतमा आउन कति समय लागेको थियो ? भन्दै उनी अगाडि थप्छन्, “अमर गुरुङले दुईतीनवटा चलचित्रमा भन्दा धेरैमा काम गर्नुभएको छैन ।”
अहिले चलचित्रको संगीतलाई सामान्य रूपमा लिइँदा विविधता नआएको उनी स्पष्ट पार्छन् । चलचित्रका कथा, पटकथा र हरेक पात्रसँग भिजेर गर्नुपर्ने भएकाले आधुनिक गीतमा संगीत गरेजस्तो सहज नहुने उनको भनाइ छ ।
“राम्रो म्युजिकल सेन्स भएको निर्देशक आएपछि मात्रै संगीतकार, एरेन्जर, गायकगायिका, स्टुडियोलाई चुनौती हुन्छ,” राजु भन्छन्, “चलचित्रको गीत भनेर कोठे स्टुडियोमा रेकर्ड गरेर हुँदैन । प्लेब्याक सिङगिङ फरक हो । यसको गाम्भीर्यता मनन गर्न आवश्यक छ ।”
एकैखालका गीत आउनुमा धेरै कारण रहेको संगीतकार अर्जुन पोखरेलको बुझाइ छ । एकै व्यक्तिले गरेको काममा उहीखालको संगीत आउनु स्वाभाविक मान्न सकिएला । तर, फरकफरक व्यक्तिले काम गरेका चलचित्रका गीत पनि किन उस्तैउस्तै भए ?
“संगीतकार फेरिए पनि गीतकार र एरेन्जर पुरानै हुँदा एउटै फ्लेवरका गीत आइरहेका हुन् । एरेन्जर फेरिँदा कम्पोज पनि फरक सुनिन सक्थ्यो,” अर्जुन भन्छन्, “एरेन्जर नफेरिँदा म्युजिक इन्स्ट्रुमेन्ट प्ले गर्ने तरिका एउटै हुन्छ । यो हुँदा गीतकार र कम्पोजर फरक हुँदा पनि फ्लेवर उस्तै सुनिन्छ ।”
अर्को कारण, मोन्टाज र फुटेज प्ले हुने गीत बनाइदिनु भनेर निर्देशक र निर्माताले उदाहरण नै दिएर फलानो सिनेमाको जस्तो भन्ने गरेको अर्जुन सुनाउँछन् । यसरी उदाहरण दिँदा संगीतकारको दिमागमा उसले योजना बनाउँदा नै ५० प्रतिशत पुरानै सिनेमाको गीत बसिसक्ने र यसले पनि ठूलो भूमिका खेल्ने उनको बुझाइ छ । “५० प्रतिशत पुरानै गीत आइसक्छ । त्यसमा पनि एरेन्जर एउटै हुँदा धेरै हदसम्म एकैखालको फ्लेवर आउँछ,” उनी प्रस्ट पार्छन् ।
भारतमा आर्ट मुभीमा समेत रिदमिक गीत हुने गरेको उनी बताउँछन् । यो अभ्यास नेपालमा पनि गरिनुपर्नेमा उनी जोड दिन्छन् । मोन्टाज राखेर नै लभ सङ राख्न सकिने उनको धारणा छ ।
“आर्टटाइपको चलचित्र हो, लाउड होइन, सफ्ट म्युजिक चाहियो, मोन्टाज र फुटेजमा खेल्ने हो भनिन्छ,” अर्जुन भन्छन्, “रिदमिक र लभ सङ भन्नेबित्तिकै खिच्न मुस्ताङ नै पुग्नुपर्छ भन्ने सबै एउटै सोचाइमा रहेका कारण धेरै हदसम्म एकैखालको संगीत आइरहेको हो ।”
एकैखालका गीत, कम्पोजिसन र एरेन्जेमेन्टले नेपाली संगीतलाई उचाइ नदिने उनको टिप्पणी छ । संगीतको विकास रिच कम्पोजिसन र धेरैको रोजाइमा पर्ने लाइट म्युजिक दुवै सँगै जाँदा मात्र हुनेमा उनी जोड दिन्छन् ।
“संगीतको विकास हुन यी दुवै पक्षको मिक्स हुन आवश्यक छ । हल्का शब्द र संगीत भएका गीत पनि चाहिन्छ । काव्यिक शब्द र कम्पोजिसनका हिसाबले पनि उच्च नोटेसन हुन आवश्यक छ,” उनी भन्छन्, “संगीतको विकासका लागि म्युजिक एरेन्जेमेन्टमा कर्डस प्रोगेसन र प्रोगामिङ राम्रो हुन आवश्यक छ ।”
मुख्य पक्ष भनेको हरेक चलचित्रमा फरक संगीत गर्ने वातावरण छ/छैन भन्ने विषयले अर्थ राख्ने उनी बताउँछन् । यस्तै गीतसंगीत चाहियो भन्ने परिपाटीले धेरे कुरा बिगारिरहेको उनको भनाइ छ ।
“एकैप्रकारका गीतसंगीत लगातार आइरहँदा पछिल्लो समय चलचित्रका गीत हिट भएका छैनन् । अडियन्सलाई अहिले गीत र चलचित्र दुवै नयाँ लागिरहेको छैन,” उनी भन्छन्, “अडियन्सले अहिले अप्सन खोजिरहेका छन्, तर पाइरहेका छैनन् । अहिले सिनेमाको संगीतले लय समातेको छैन ।” लय नसमातेपछि गन्तव्यमा पुग्ने अपेक्षा नै गर्न नसकिने उनी टिप्पणी गर्छन् ।