site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारतका पूर्वराजदूत रायको लेख– ओलीसँग पुरानो अनुभव सन्तोषजनक छैन 
SkywellSkywell

काठमाडौं । नेपालका लागि भारतीय पूर्व राजदूत रणजीत रायले नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिला काम गर्दाको अनुभव सन्तोषजनक नरहेको बताएका छन् । 

द इकोनोमिक टाइम्स’ को अनलाइन संस्करणमा बुधबार रायको लेख प्रकाशित भएको छ ।  लेखमा उनले नेपालमा भएको पछिल्लो राजनीति गतिविधिका विषयमा उल्लेख गरेका छन् । 

नेपालका हरेक सरकारसँग भारतले सुमधुर सम्बन्ध राख्नुपर्ने सुझाव दिँदै पूर्वराजदूत रायले लेखमा भनेका छन्, “तर, विगतमा प्रधानमन्त्री ओलीसँग काम गर्दाको हाम्रो अनुभव त्यति सन्तोषजनक रहेन । ओलीले नेपालमा आफ्नो स्थानलाई बलियो बनाउन भारतविरोधी राष्ट्रवादलाई प्रभावकारी रूपमा प्रयोग गरेका छन् ।”

Dabur Nepal
NIC Asia

लेखमा उनले २०७२ सालमा जारी भएको नेपालको संविधानले नेपालमा स्थिरता दिन नसकेको जनाएका छन् ।  ठूला दलहरुले समीकरण फेरबदल गरिरहँदा पनि नेपालमा स्थिरता आउन नसकेको तर्क उनको छ ।

प्रतिनिधिसभामा तेस्रो ठूलो दल भएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फाइदा लिएको दाबी उनको छ ।  उनले फाइदा लिन कहिले नेकपा एमाले त कहिले नेपाली कांग्रेससँग गठबन्धन गरेको बताएका छन् । 

कांग्रेस र एमाले मिल्दा माओवादी अप्ठेरो अवस्थामा पुगेको बुझाइ उनको छ ।  तल्लो तहमा राम्रो पकड नभएको माओवादीलाई आगामी निर्वाचन एक्लै लड्न गाह्रो हुने पूर्वराजदूत रायको ठम्याइ छ ।  माओवादीका दोस्रो तहका नेताले आफ्नो भविष्य नदेखेको र उनीहरु एमालेप्रति आकर्षित हुनसक्ने उनले जनाएका छन् । 

घटनाक्रमसँगै एमाले अध्यक्ष ओलीले आफ्नो स्थिति सुदृढ गर्दै आफूलाई नेपालको सबैभन्दा बलियो नेताका रूपमा उभ्याएको उनले लेखमा उल्लेख गरेका छन् ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वृद्ध भएको उल्लेख गर्दै उनले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस विभाजित रहेको जनाएका छन् । 

युवा नेताहरुलाई अवसर नदिँदा कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता शक्तिलाई मैदान उपलब्ध गराउन सक्ने आशंका उनले गरेका छन् ।  बुढापाका शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएर पनि विभाजित छ । 

युवा नेताहरूको लागि अवसरबिना, यसले राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता शक्तिहरूका लागि मैदान गुमाउन सक्छ, जसले सन् २०२२ मा वाचा देखाएको थियो । एमाले र कांग्रेसबीच भएको नयाँ गठबन्धनमाथि पूर्वराजदूत रायको त्यति विश्वास देखिँदैन । 

उनले लेखेका छन्, “गठबन्धन सम्झौता सार्वजनिक नभए पनि ओलीले डेढ वर्षपछि देउवालाई प्रधानमन्त्रीको जिम्मा दिने अपेक्षा गरिएको छ । नेपालका विगतका अनुभवहरूले यस्ता सम्झौताहरू प्रायः भङ्ग हुने गरेको देखाउँछ ।”

ओलीले साना वामपन्थी दललाई स्वीकार गरेमा एमाले संसद्को सबैभन्दा ठूलो दल बन्न सक्ने अनुमान उनको छ ।  अहिले कांग्रेस र एमालेबीच प्रतिनिधिसभामा १० सिटको मात्र भिन्नता रहेको उनले उल्लेख गरेका छन् । 

वर्तमान गठबन्धन भत्केमा र नयाँ गठबन्धन बन्न नसकेमा ठूलो दलले सरकार बनाउन पाउने व्यवस्था संविधानमा रहेको स्मरण लेखमा उनले गरेका छन् ।  पछिल्लो पटक सन् २०१४ मा कांग्रेस र एमाले मिलेर नयाँ संविधान निर्माणका लागि गठबन्धन सरकार बनाएको स्मरण पनि उनले लेखमा गरेका छन् । 

“दुई प्रतिद्वन्द्वी एकै ठाउँमा आउनुको स्पष्ट कारण अहिले संविधानका चित्तबुझ्दो नदेखिएका ती पक्षहरूको समीक्षा र परिमार्जन नै हो,” पूर्वराजदूत रायको तर्क छ । 

विशेष गरी, तल्लो सदनको ४० प्रतिशत निर्वाचित गर्ने समानुपातिक प्रतिनिधित्व प्रणालीले अस्थिरता निम्त्याएको भन्ने बुझाइ ठूला दलमा रहेको उनले जनाएका छन् ।  संविधानमा व्यवस्था गरिएको  धर्मनिरपेक्षताका विषयमा पनि दलहरुले सोचेको हुनसक्ने उनको अनुमान छ । 

नयाँ गठबन्धनसँग संविधान संशोधनका लागि आवश्यक बहुमत भए पनि संविधानका केही कुरा संशोधन गर्दा अरु संशोधनको माग आउनेतर्फ सचेत हुनुपर्ने उनले जनाएका छन् । राजतन्त्र पुनःस्थापन, हिन्दु राष्ट्र पुनःस्थापनाका मागहरु नेपालमा उठिरहेको पनि उनले लेखमा उल्लेख गरेका छन् । 

“राजनीतिक दलहरूले होसियारीपूर्वक हिँड्नु आवश्यक छ, विशेष गरी यदि संविधानको मूल विशेषताहरू पुनः खोलिन लागिएको हो भने,” पूर्वराजदूत रायले भनेका छन् । 

लेखमा ओली पहिलो पटक नेपालको प्रधानमन्त्री हुँदा चीनसँग व्यापार, पारवहन र कनेक्टिभिटी सम्झौता भएको स्मरण उनले गरेका छन् ।  ओलीकै पालामा भारतसँगको सीमा विवाद उछालिएको पनि उनको आरोप छ । 

अहिले ओली नेतृत्वको सरकारले चीनको बेल्ट एण्ड इनिसिएटिभ्स (बीआरआई) परियोजना अगाडि बढाउँवा वा बढाउँदैन भन्ने हेर्न बाँकी रहेको उनले जनाएका छन् ।

यसअघि कांग्रेस नेतृत्वको र माओवादी नेतृत्वको सरकारले बीआरआईमा अनुदान वा सहुलियतपूर्ण ऋणमा जोड दिएको र त्यसमा चिनियाँहरू सहमत हुन नसकेको तर्क पूर्वराजदूत रायको छ । 

लेखमा पूर्वराजदूत रायले नेपालमा सन्तुलनका दृष्टिले सबै वाम गठबन्धनभन्दा नेपाली कांग्रेससहितको गठबन्धन उपयुक्त हुने बताएका छन् ।  सबैभन्दा ठूलो पार्टीका रूपमा कांग्रेसले ओलीको केही निरंकुश आवेग र एकपक्षीय निर्णयमा ब्रेक लगाउन सक्ने उनको बुझाइ छ । 

भारतको दिगो हित भनेको नेपालमा जलविद्युत र कनेक्टिभिटी परियोजनाहरू तीव्रताका साथ अगाडि बढाउनुमा रहेको उनले जनाएका छन् । ६ हजारभन्दा बढी मेगावाटको पञ्चेश्वर आयोजना जस्ता अलपत्र परेका आयोजनालाई अघि बढाउन एकजुट हुन आवश्यक रहेको उनले औल्याएका छन् । 

यसलाई अघि बढाउन वर्तमान सरकार सक्षम रहेको संकेत उनले लेखमा गरेका छन् किनभने अहिले सरकारमा सबैभन्दा ठूला दुई दल रहेका छन् ।  पञ्चेश्वर आयोजनालाई अगाडि बढाउन सकिने उनले दुई वटा आधार पेश गरेका छन् । 

पहिलो, पञ्चेश्वरले पहिले नै ओलीको समर्थन पाइसकेको छ । 

दोस्रो, कांग्रेस सभापति शेरबहादुर देउवा सुदूरपश्चिमका हुन् र यो परियोजना सोही क्षेत्रमा अवस्थित छ ।  “नेपालमा बढ्दो अमेरिका–चीन द्वन्द्वलाई नयाँ सरकारले कसरी व्यवहार गर्छ भनेर भारतले पनि ध्यानपूर्वक अनुगमन गर्नुपर्नेछ,” पूर्वराजदूत रायले लेखेका छन् । 

नयाँ सरकारको सबैभन्दा महत्वपूर्ण एजेन्डा आर्थिक विकासलाई गति दिने हनुपर्ने धारणा उनको छ । 

“यसमा भारतको पूर्ण समर्थन हुनुपर्छ,” उनले भनेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu