site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजीनामा दिन मुख्यमन्त्री सोडारीलाई तीन दलको आग्रह
मुख्यमन्त्री दीर्घबहादुर सोडारी । फाइल तस्बिर ।

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफ्नो पदबाट राजीनामा दिन नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रूपमा आग्रह गरेका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकाले तत्काल पदबाट राजीनामा दिन ती पार्टीका संसदीय दलका नेताले संयुक्त माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा दिँदा नयाँ सरकार गठन र बजेट ल्याउन सहज हुने बताए । उनले भने, “अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित हुँदैन ।”

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई राजीनामा गर्न आग्रह गरे ।

एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन संघमा नयाँ सत्तासमीकरणसँगै यही असार २३ गते फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।

एमाले सरकारबाट बाहिरिएसँगै सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का निम्ति ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ । बजेटमाथिको छलफल प्रदेशसभामा अझै सुरु हुन सकेको छैन ।

नयाँ गठन हुने सरकारले अध्यादेशमार्फत अर्को बजेट ल्याउने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले बताए ।

प्रदेश सरकार गठनका निम्ति २७ सदस्यको बहुमत आवश्यक हुन्छ । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । रासस

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro