site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मौसमविद्लाई प्रश्न– मनसुन फैलिन किन ढिलाइ ? काठमाडौंमा कहिले ?
फाइल तस्बिर ।

काठमाडौं । यो वर्षको मनसुन प्रणाली नेपाल प्रवेश गरेको पाँच दिन भइसकेको छ । यही जुन १० (जेठ २८) मा पूर्वी क्षेत्र (कोसी प्रदेश)मा मनसुन भित्रिएको थियो । तर, अझै अरू प्रदेशमा मनसुनको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन प्रणाली विस्तारै फैलिइरहेको छ । तर, अपेक्षा गरिएजसरी नफैलिएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए । देशभर मनसुन फैलिन अझै केही दिन लाग्ने देखिएको उनले जानकारी दिए ।

“सामान्यतया ६/७ दिनमा देशभर मनसुन फैलिएको हुन्थ्यो,” उनले बाह्रखरीसित भने, “तर, यो ट्रेन्ड परिवर्तन भइरहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्ष पनि देशभर ढिलो मनसुन फैलिएको उनले उल्लेख गरे । मनसुनी हावाको तौरतरिका नै परिवर्तन भइरहेको उनले बताए । “पहिलापहिलाको तुलनामा मनसुन ढिलो फैलिने, रोकिने भइरहेको छ,” उनले भने ।

मनसुन फैलिन किन ढिलाइ ?
अहिले भित्रिएको मनसुन प्रणाली कमजोर रहेको मौसमविद् अर्यालले जानकारी दिए । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (बादल) कमजोर रहेको उनले बताए ।

Global Ime bank

उनका अनुसार, बंगालको खाडीबाट दक्षिणपूर्व भएर पर्याप्त जलवाष्पयुक्त हावा (बादल) नेपालसम्म आइपुग्नुपर्ने हुन्छ । तर, त्योभन्दा पूर्वतिर विकसित मौसमी प्रणालीले त्यसलाई यता आउन असर गरिरहेको छ ।

“बंगालको खाडीभन्दा पूर्वतिर न्यूनचापीय क्षेत्र बनिरहेको छ, त्यसले जलवाष्पयुक्त हावा उता तानिरहेको छ,” उनले भने, “त्यसले गर्दा मनसुनको प्रवेश कमजोर देखिन्छ ।”

मनसुन देशभर फैलिन ढिलाइ हुनुमा उनले अर्को कारण पनि सुनाए । एकातिर, पूर्वी क्षेत्रबाट मजबुत जलवाष्पयुक्त हावा आएको छैन । अर्कोतिर, आएकै हावालाई पनि पश्चिमी वायुले उतैतिर ठेलिरहेको छ । रोकिरहेको छ ।

“नेपालमा पश्चिमी क्षेत्रमा पश्चिमी हावाको प्रभाव छ, त्यसले मनसुनलाई अगाडि बढ्न दिइरहेको छैन, पूर्वतिर धकेलिरहेको छ,” उनले भने ।

भारतमा अहिले उच्चचापीय क्षेत्र रहेको उनले बताए । त्यसले पनि केही असर गरेको उनको भनाइ छ ।

वायुमण्डलको तल्लोदेखि माथिल्लो तहसम्म तीनचार किलोमिटर बाक्लो बादल हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । अहिले एक किलोमिटरजति मात्र बादल भइरहेको उनले जानकारी दिए । त्यसले वर्षा गराउन नसकेको उनले स्पष्ट पारे ।

वाग्मती प्रदेशमा प्रभाव कहिले ?
काठमाडौंसहित वाग्मती प्रदेशमा अझै तीन/चार दिनपछि मात्र मनसुनको प्रभाव देखिने मौसमविद् अर्यालले बताए । काठमाडौं आसपास त्यसअघि नै मनसुन प्रणाली प्रवेश हुन पनि सक्छ । तर, राम्रो प्रभाव देखिन समय लाग्ने उनले जानकारी दिए ।

“वाग्मती प्रदेशमा मनसुनको प्रभाव देखिन तीन/चार दिन लाग्ने देखिन्छ,” उनले भने, “अझ जुन २१/२२ (असार ७/८) तिर मात्र राम्रो प्रभाव पर्ने सम्भावना छ ।”

यसको अर्थ त्यति बेलासम्म काठमाडौंसहित वाग्मती प्रदेशमा पानी नपर्ने हो ? उनी भन्छन्– होइन ।

उनका अनुसार, यो अवधिमा पनि पानी पर्ने सम्भावना छ । मनसुनअनुकूल वातावरण बनिरहेको छ । त्यसमा स्थानीय वायुको ‘सपोर्ट’ भएको अवस्थामा वर्षा हुनसक्छ ।

“हामीले हेर्दा बादल टन्नै देखिन्छ । तर, पानी पर्न सकेन,” उनले भने, “त्यसले जलवाष्पयुक्त हावा टन्नै लेराएन । यस्तो अवस्थामा स्थानीय वायुको सपोर्ट भयो भने पानी पर्छ ।”

त्यसो त काठमाडौंमा शनिबार राति र आइतबार दिउँसो पनि वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । “वर्षाको सम्भावना त छ,” उनले भने, “राति (शनिबार) र भोलि दिउँसो पनि वर्षाको सम्भावना छ । हल्का वर्षाको सम्भावना देखिन्छ ।” तर, त्यो ठूलो मात्रामा नहुने उनले बताए ।

देशको पश्चिम भूभागमा अझै केही दिन मनसुन प्रवेश गर्ने सम्भावना नदेखिएको उनले उल्लेख गरे । “ठ्याक्कै त भन्न सकिँदैन, ट्रेन्ड फेरिइरहेको छ,” उनले भने, “तत्काल सम्भावनाचाहिँ देखिँदैन ।”

नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । पूर्वी भूभाग हुँदै भित्रिएर देशभर फैलिँदै पूर्वी भूभागबाटै मनसुन बाहिरिने गर्छ । जुन, जुलाई, अगस्ट र सेप्टेम्बरलाई मनसुन अवधि मानिन्छ । यो वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो गरी नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  २०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय