काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज चारवटा प्रदेशमा मेघगर्जन र चट्याङको सम्भावना रहेको जनाएको छ । विभागले कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङको सम्भावना रहेको जनाएको हो ।
विभागले हरेक दिन जारी गर्ने बुलेटिनमा चट्याङबाट जोगिन आग्रह गर्ने गर्दै आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि चट्याङको जोखिमबाट बच्न सावधानी अपनाउन अनुरोध गर्दै आएको छ ।
चट्याङबाट जोगिने उपाय
चट्याङबाट जोगिन विभिन्न उपायहरू अपनाउन सकिने प्राधिकरणले जनाएको छ । “चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट हो । यसबाट हाम्रा घरहरूलाई धातुका सामग्री प्रयोग गरी सुरक्षित बनाउन सकिन्छ,” प्राधिकरणले भनेको छ, “तामा, आल्मुनियम तथा जीआईका रडक घरको सबभन्दा अग्लो भागमा राख्ने अनि सोही धातुका रड वा पाता जोडेर जमिनसम्म पुर्याउने र तामाको रडसँग जोडी अर्थिङ गरिए धेरै हदसम्म घरहरू सुरक्षित हुन्छन् ।”
चट्याङबाट सुरक्षित रहन गड्याङगुडुङ गरेका बेला घरबाट बाहिर ननिस्कने र घरबाहिर भएमा तत्काल घरभित्र वा सुरक्षित स्थानमा जानुपर्छ । प्राधिकरणका अनुसार चट्याङबाट जोगिन पक्की घर, बस, भ्यान आदि सुरक्षित स्थान हुन् ।
तर, यस्ता सुरक्षित स्थान पुग्ने अवस्था नभएमा अग्लो र एक्लो रुखको ओत लाग्न नहुने प्राधिकरणले जनाएको छ । रुखदेखि टाढा टुक्रुक्क बस्नुपर्छ । खुला चौरमा परेमा टुक्करुक्क बसी टाउकोलाई दुई घुँडाको बीचमा राखी कान थुन्न प्राधिकरणको सुझाव छ ।
प्राधिकरणका अनुसार घरभित्र रहँदा पनि झ्याल, ढोका बन्द गरी कोठाको बीचमा बस्नुपर्छ । टीभी, वासिङ मेसिन, फ्रिज तथा अरू विद्युतीय सामग्रीका तारहरू प्लगबाट छुटाउनुपर्छ ।
गड्याङगुडुङका बेला पानीका स्रोतमा सिधै नुहाउने, लुगा धुन हुँदैन । टेलिफोनमा कुरा गर्न नहुने प्राधिकरणले जनाएको छ ।
चैतदेखि जेठ महिना चट्याङ अत्यधिक पर्ने समय हो । तर, अरु समयमा पनि पर्ने प्राधिकरणको भनाइ छ । “चट्याङ अपराह्न ३ बजेपछि धेरै पर्ने हुनाले घरबाहिरका काम बिहानको समयमा गरी साँझपख घरभित्रका काम गर्नुपर्छ,” प्राधिकरणले भनेको छ ।
चट्याङ के हो ?
चट्याङ एक प्रकारको विद्युतीय प्रवाह हो । आकासमा विपरीत दिशाका बादलहरू तीव्र गतिमा जुधेपछि ठूलो आवाजका साथ करेन्ट उत्पन्न हुन्छ । र, त्यसबाट आगोको मुस्लोजस्तो झिल्को निस्किन्छ । त्यसलाई बिजुली चम्किएको भन्ने गरिएको प्राधिकरणले जनाएको छ ।
चट्याङ पर्दा अत्यन्तै धेरै करेन्ट उत्पन्न हुन्छ । त्यस्तो करेन्टको मात्र कहिले काहीँ आकाशबाट जमिनतिर केन्द्रित भई प्रभावित हुने बेला यसको सम्सर्गमा आउने कुरामा क्षति पुर्याउने गरेको प्राधिकरणको भनाइ छ ।