
काठमाडौं । नेपालमा मनसुन प्रवेश गर्न अझै केही दिन लाग्ने भएको छ । नेपाल प्रवेश गर्ने मनसुन हाल भारतको उत्तरपूर्वी भू–भाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको छ । यो प्रणाली शनिबार नै सिक्किम आइपुगे पनि त्यहाँभन्दा अगाडि बढेको छैन ।
“सिक्किम आइपुगेको मनसुन त्यहाँभन्दा अगाडि बढ्न सकेको छैन । दुई/तीन दिन लगातार वर्षा भएपछि भारतको मौसम विभागले सिक्किमसम्म मनसुन आएको बताएको थियो,” मौसमविद् मीनकुमार अर्याल भन्छन्, “तर, त्यहाँबाट मनसुन अगाडि बढेको छैन । सिक्किममा मनसुन ब्रेक भएको छ । त्यहाँ मनसुन पुनः सक्रिय भएपछि नेपालतर्फ अगाडि बढ्नेछ ।”
उनका अनुसार आउँदो हप्तासम्म नेपालमा मनसुन प्रवेश गर्ने सम्भावना छ । मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ भएकाले अझै केही समय रहेको उनको भनाइ छ । तर औसत समयभन्दा अगाडि अथवा पछाडि पनि मनसुन भित्रिनसक्छ ।
सन् १९९६ मा मनसुनी प्रणाली मे ३१ मा नेपाल भित्रिएको थियो । त्यो वर्ष जल तथा मौसम विज्ञान विभागले तथ्यांक राख्ने गरेयताकै यो सबैभन्दा चाँडो मनसुन नेपाल भित्रिएको हो ।
सन् १९८२ मा नेपालमा जुन २७ मा नेपालमा मनसुन भित्रिएको थियो । विभागको तथ्यांकअनुसार यो सबैभन्दा ढिलो मनसुन भित्रिएको हो ।
नेपालमा मनसुनका लागि प्रणाली बनिनसकेको मौसमविद् अर्याल बताउँछन् । “मनसुन सुरु हुन त्यसका लागि लागि पर्याप्त प्रणाली बन्नु पर्नेहुन्छ, जुन अहिलेसम्म बनिसकेको छैन,” उनी भन्छन्, “वायुमण्डलको तल्लो सतहमा जलवाष्पयुक्त हावा हुनुपर्छ, अहिले त्यो नै छैन ।” बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट आएको जलवाष्पयुक्त हावाले वायुमण्डलको तत्लो सतह भरिनुपर्छ । जुन वायुमा पानी पार्ने वाष्प हुन्छ । यो नै अहिले आइनसकेको उनको भनाइ छ ।
हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्छ ।