
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई भारतबाट पक्राउ गरेको छ ।
गौचनसहित अन्य हत्यामा पनि बस्नेतको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीले २०७३ पुस ४ गते सोमबार रुपन्देहीको खैरहनीमा एमाले निकट युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न, २०७३ चैत २९ गते काठमाडौंको गौरीघाटस्थित दिव्या पार्टी प्यालेसमा दावा लामालाई गोली हानी घाइते बनाएको र असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न रहेको ठहर गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी पुस्कार कार्कीले यी घटनामा बस्नेतको संलग्नता रहेको बताए । भारतमा रहेर गौचनको हत्याको योजना बनाएको भन्ने निष्कर्षका साथ प्रहरीले उनको खोजी जारी राखेको थियो ।
भारतमा लुकिछिपी बस्दै आएका बस्नेतलाई पक्राउ गरी काठमाडौं ल्याइएको छ । यसअघि गौचनको हत्यामा संलग्न अन्य तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको थियो ।
हत्यामा संलग्न सुटरसहित तीन जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो । गौचनको असोजको २३ गते नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा गोली हानी हत्या भएको थियो ।
काभ्रेका छिरिङ तामाङ, संजय तामाङ र दिलिप लामालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । प्रहरीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको भए पनि चितवनबाट पक्राउ गरेको जानकारी गराएको छ । बस्नेतले नेपालका व्यवसायीलाई धम्क्याएर रकम असुल्दै आएको पनि जनाएको छ ।
बस्नेतको योजनामा लोप्साङ लामा र मनोज पुन लगायचन अन्य १२ जना पनि गौचनको हत्यामा संलग्न रहेको प्रहरीले जनाएको छ ।
समीरमान सिंह बस्नेत पक्राउ परेपछि उक्त समूहको नेतृत्व लोप्साङ लामाले सम्हालेको र आन्तरिक द्वन्द्वका कारण मनोन पुन उक्त समुहबाट अलग्गिएको प्रहरीले आशंका गरेको छ ।