site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीति र गीतसंगीतमा सँगसँगै कोमल ओली : कतै तिता कतै मिठा अनुभूति
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पत्रकारिता हुँदै बाटो राजनीतितर्फ मोडियो । यसलाई उनले क्रमशः आफ्नो कर्म र सेवाको माध्यम बनाइन् । पत्रकारिता र राजनीति त जिन्दगीको केही समय हिँडेपछि भेटिएका दुई विधा भए । योभन्दा पहिला नै उनले चिनेको र भेटेको त गीतसंगीत हो । गायन हो । सञ्चारकर्म र राजनीतिले उनलाई थप फराकिलो बनायो । त्यसले समाज र जिन्दगी बुझ्न अझ मद्दत गर्‍यो । सञ्चारकर्मलाई उनले विश्राम दिइन् । ‘ग्रे कलर’को राजनीतिलाई अघि बढाइन् । राजनीति सेवा हो, आफ्नोभन्दा पनि अरूकै लागि समय दिनुपर्ने । अक्सर हरदिन व्यस्त भइने । तर, जति नै व्यस्त भए पनि उनले गायनलाई भुल्न सकेकी छैनन् । जे कुरा व्यक्तिको नसानसामा दौडिन्छ, त्यसलाई कसरी नजरअन्दाज गर्न सकिन्छ ? प्रसंग हो, कोमल वलीको । र, उनले हिँडेको बाटोको ।

केही दिनअगाडि कोमल र राजु परियारबीचको लाइभ दोहोरी सार्वजनिक भयो । यो कोमलको गीतसंगीतप्रतिको मोहको परिणाम थियो । ‘तुलसीपुरमा म जाँदा...’ बोलको कोमलकै पुरानो लोकगीतको थेगोमा खेलिएको लाभ दोहोरी म्युजिक नेपालले सार्वजनिक गरेपछि यसले धेरैको ध्यान खिच्यो । एकातिर लोकप्रिय गीतको मेलोडी र थेगो, अर्कोतिर राष्ट्रियसभा सदस्य समेत भइसकेकी कोमल अनि लोकदोहोरीका सर्वप्रिय राजुबीचको लाइभ दोहोरीले दोहोरीप्रेमीको ध्यान खिच्नु स्वाभाविक थियो ।

निश्चित मेलोडी र तोकिएको थेगोभित्र रहेर लाइभ सवालजवाफ आफैँमा सहज नहोला, तर यसमै खाईखेली हुर्किएका कोमल र राजुका निम्ति यो त्यति कठिन पनि नहोला । त्यसैले यो लाइभ दोहोरी धेरैले मन पराए । यसलाई युट्युबको भ्युज र कमेन्टले पनि पुष्टि गर्छ । अनि, प्रोडुसर कम्पनीका तर्फबाट ‘तपाईंको ठूलो डिमान्ड आयो, फेरि समय म्यानेज गर्नुपर्‍यो’ भनेर गरिएको आग्रहले पनि यसलाई प्रमाणित गर्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेकपा (एमाले)ले पार्टीका नेताहरूलाई जिल्ला र पालिका तोकेरै कार्ययोजना बनाएर जिम्मेवारी दिएको छ । कोमलको भागमा दाङको बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका परेका छन् । यसकै सिलसिलामा उनी अहिले गृहजिल्ला दाङमै छिन् । जिल्ला, प्रदेश, पालिका र वडाका कार्यक्रमहरूमा निम्ता आउँछ, जानैपर्‍यो । आफ्नै चुनावी क्षेत्र हो । पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलिरहेको छ । सदस्यता नवीकरणको समय छ । संघारमा मिसन–८४ छ । त्यसमा व्यस्त हुनैपर्‍यो । पार्टीले दिएको जिम्मेवारी पूरा गर्नैपर्‍यो । गरिरहेकै छिन् । तर पनि उनले गीत गाउन छोडेकी छैनन् ।

“व्यस्त छु, तर मेरो जीवनसँगै आएको, मेरो रगतमै मिसिएको, मेरो आत्मामै भएको मेरो कला र प्रतिभाको गायनलाई मैले छोडेको छैन । समय व्यवस्थापन गरेर गीत पनि गाइरहेको छु,” कोमल भन्छिन्, “धेरैले मबाट अपेक्षा पनि गर्नुहुन्छ, चिन्ता पनि जाहेर गर्नुहुन्छ । किन गीत गाउन कम गर्नुभएको भनेर सोधिरहनुहुन्छ । यसले पनि मलाई ऊर्जा थपिरहेको हुन्छ, गीतसंगीतमा समय व्यवस्थापन गर्न ।”

Royal Enfield Island Ad

कोमलले भनेजस्तै उनको रगतमै गायन छ । जन्मजात आएको गाउने प्रतिभा छ । त्यसैले त उनी राष्ट्रव्यापी दोहोरीगीत प्रतियोगिताको पाँचपटकसम्मको गोल्ड मेडलिस्ट हुन् । गायनको भोक उनमा मेटिएको छैन । जबजब समय निस्किन्छ वा निकाल्न सकिन्छ, उनी रेकर्डिङमा जान्छिन् ।

पार्टीको प्रतिनिधि परिषद्को बैठक वैशाख ८ देखि १० गतेसम्म काठमाडौंमा थियो । काठमाडौं आएकी कोमलले तीन दिन बसाइ थपिन् । गीत रेकर्ड गराइन्, राजु परियारका साथमा । त्यही लाइभ दोहोरीको अहिले चर्चा छ ।

त्यसअघि, केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन दाङबाट काठमाडौं आएका बेला चिज गुरुङका साथमा दोहोरीगीत रेकर्ड गराइन् । “अहिले म्युजिक नेपालले डिमान्ड भइरहेको छ, फेरि गीत गाउनुपर्‍यो भनिरहेको छ,” उनी भन्छिन्, “अहिले हामी जिल्ला अधिवेशनको तयारीमा छौँ । अधिवेशन सकेपछि काठमाडौं आएर फेरि गीत रेकर्ड गर्ने तयारीमा छु ।”

गीतसंगीतप्रतिको मोहले नै हो, समयको व्यवस्थापन भएको । दिनभर पार्टीका कार्यक्रम र बैठक हुन्छन्, सहभागी हुन्छिन् । जहाँ इच्छा त्यहाँ उपाय ! “एउटा लाइभ दोहोरी त हामीले साँझ ८ बजेपछि रेकर्ड सुरु गरेका थियौँ,” उनी नोस्टाल्जिक भइन् ।

‘पोलिटिक्स इज ग्रे कलर’ भन्ने भनाइ नै छ । त्यो अनुभूत उनले पनि गरिन् । गीतसंगीत भन्नेबित्तिकै संकीर्ण हुने राजनीतिज्ञ पनि देखिन् । “राजनीति ग्रे कलर हो, तर समाजमा त सबै कलर चाहिन्छ । त्यसैले सुसंस्कृत समाज निर्माण गर्न सबैभन्दा छिटो सबैलाई प्रभाव पार्ने माध्यम गीतसंगीत र साहित्य नै हो,” कोमल भन्छिन्, “जुन देशको कला, साहित्य र गीतसंगीत बलियो हुन्छ, त्यो देशको पहिचान पनि बलियो हुन्छ । यो विस्तारै राजनीतिक दलका नेता र नेतृत्वले पनि बुझ्न थालेका छन् ।”

आफू आबद्ध पार्टी एमालेको मूल नेतृत्व नै कला, साहित्य र गीतसंगीतप्रेमी भएकाले पनि सहज भएको उनी बताउँछिन् । अध्यक्ष केपी ओलीले नै गीतसंगीत र समग्र कलाप्रति गहिरो अभिरुचि राख्ने गरेको उनी स्मरण गर्छिन् । सारंगी र हार्मोनियमलाई बडो माया गर्ने ओली बेलाबेलामा कलाकारलाई बोलाएर उनीहरूका कुरा र गीत गाउन लगाएर सुन्ने गरेको कोमल सुनाउँछिन् ।

“म त्यस्तो पार्टी र नेतृत्व पाउने व्यक्ति हुँ, जसले गीतसंगीत र साहित्यलाई गहिरोसँग बुझ्नुहुन्छ । यो पार्टीमा रहेकाले म आफूलाई भाग्यमानी पनि ठान्छु,” उनी भन्छिन्, “अध्यक्षज्यू (केपी ओली) संसद्मा गीतसंगीतको उदाहरण दिएर बोल्नुहुन्छ । कहिले शिशिर योगीको गीत ‘म यो देशमा एउटा मानिस खोजिरहेछु...’ भनेर बोल्नुहुन्छ, कहिले अरुणा लामाको ‘पोहोर साल खुसी फाट्यो...’ गीतको मुखडाबाट आफ्नो सम्बोधन सुरु गर्नुहुन्छ । यो भनेको गीतसंगीतप्रतिको मोह र यो क्षेत्रमा रहेकालाई उत्प्रेरणा हो ।” ओलीको यो अभ्यासले गीतसंगीत र साहित्य समाजको ऐना हो र यसलाई महत्त्व दिनुपर्छ भनेर सन्देश दिइरहेको उनको भनाइ छ ।

त्यसो त विविध पक्ष र प्रवृत्तिको समुच्चय नै समाज हो । भिन्नभिन्न सोच र धारणा भएका व्यक्ति पाइलापाइलामा भेटिन्छन् । कोमलले पनि भेटिन् । सांसद भइसकेपछि पनि गीतसंगीतमा अल्झिने ? गीत गाउने ? गीत रेकर्ड गराउँदै हिँड्ने ? अब यसो नगर्नु भनेर सुझाव दिने राजनीतिज्ञ पनि भेटिन् । उनले यसलाई फरक धारणाका रूपमा बुझिन् । जसले जे सुझाव दिऊन् वा जतिसुकै संकीर्ण सोच पालेर बसून्, कोमलले गीत गाउन छोडिनन् । सविधानसभा सदस्य भएयता उनले तीन दर्जनभन्दा धेरै गीत रेकर्ड गराइन् । विभिन्न कार्यक्रममा गइन्, गीत गाइन् । मनले खाएको र आत्माले रोजेको पो हो त सांगीतिक क्षेत्र, कसैको सुझावले उनलाई किन रोक्थ्यो र ! हेयको दृष्टिकोणले हेरेको अनुभूत गरिन्, तर उनले त्यसलाई बेमतलव गरिरहिन् ।

“मेरै केही सिनियर नेता र नेत्रीहरूले नै अब गीत गाउन नजानु होला है, राम्रो हुँदैन भनेको सम्झना छ,” उनी भन्छिन्, “तर, पछि उहाँहरू नै स्टेजमा गाउन गएको मैले देखेको छु । यसको अर्थ उहाँहरूले गीतसंगीतको महत्त्व बुझ्न थाल्नुभएको हो भन्ने लाग्छ । कलाकारिता बनाएर बन्ने होइन, यो त जन्मजात आउने कुरा हो, जुन सबैमा हुँदैन ।”

गायिका पनि हुनु कोमलका लागि राजनीतिमा ‘प्लस पोइन्ट’ हो । अरू राजनीतिज्ञ जनतामा प्रभाव पार्न कलाकारलाई स्टेजमा बोलाउँछन्, उनले यो समस्या झेल्नु पर्दैन । “म स्टेजमा उभिँदा आधा राजनीतिज्ञ हुँ भने आधा कलाकार हुँ,” कोमल स्वयं भन्छिन्, “यो त राजनीति गर्नेका लागि प्लस पोइन्ट हो नि !”

अहिले आफ्नो प्राथमिकतामा राजनीति भए पनि गीतसंगीत जीवनको अभिन्न अंग भएको उनको भनाइ छ । पार्टीले दिएको जिम्मेवारी र उत्तरदायित्व पूरा गरिरहे पनि सांगीतिक क्षेत्रलाई कहिल्यै नभुल्ने उनी बताउँछिन् । गीत गाउँछिन्, मनले रोजेको र खोजेको क्षेत्र हो । त्यसैले यसलाई सभ्य, भव्य र व्यवस्थित बनाउने चाहना हुनु स्वाभाविक हो, राजनीतिज्ञका हिसाबले दायित्व पनि भयो । सदनमा उनले बेलाबेलामा गीतसंगीतका विषय उठाइन्, कपिराइट र रोयल्टीका विषय संसद्मा राखिन् । तथ्यतथ्यांक प्रस्तुत् गरिन्, तर राज्यले सुन्दैन । सिंहदरबारले प्राथमिकतामा राख्दैन । आफैँले थाल ठटाएर, प्लेकार्ड बोकेर प्रशासकका ढोका ढकढक्याएको सम्झिएर उनले सदनमा सांगीतिक क्षेत्रका समस्या र कानुन निर्माणको औचित्य र आवश्यकताबारे आवाज मुखरित गरिन् । तर, सुन्नुपर्नेजति राज्यले सुनेन । भलै, कानुन निर्माणको चरणमा रहेकाले उनी आशावादी छिन् । आफूले देखेभोगेका समस्या समाधान हुनेमा विश्वस्त छिन् ।

मान्छे हो, बुझ्दै जाने हो । सिक्दै जाने हो । जन्मँदै जानेर/बुझेर कोही आउँदैन । तर, बुझ्नुपर्नेले पनि नबुझेको कोमलले महसुस गरेकी छन् ।

कसरी ?

निर्वाचनमा उनले कलाकारको साथ पाइनन् । कसैले सहयोग गरेको भए त्यो अपवाद हो । “पार्टीको ट्याग लाग्छ भनेर कलाकार साथीहरूले निर्वाचनमा मलाई साथ दिनु भएन । पार्टी होइन, व्यक्ति हेरेर सहयोग गर्न सकिन्छ । कुनै व्यक्ति वा उमेदवार राम्रो छ भने उसलाई सहयोग गर्न सकिन्छ,” उनी भन्छिन्, “भिन्नभिन्न पार्टीका उमेदवार छन् भने पनि एउटै कलाकारले उनीहरूलाई दल होइन, राम्रो व्यक्ति भएका नाताले सहयोग गर्न सक्नुहुन्छ ।”

आफू पत्रकारितामा रहँदा व्यक्ति हेरेर कलाकारका नाताले सहयोेग गर्ने गरेको कोमल स्मरण गर्छिन् । भिन्नभिन्न पार्टीका कार्यक्रममा गएर राम्रो उमेदवारलाई सहयोग गरेको उनको मस्तिष्कमा सम्झना ताजै छ । आफ्नो क्षेत्रको व्यक्ति नीति निर्माण तहमा पुग्नु आफ्नै आवाज संसद् र सरकारमा सशक्त रूपमा उठाइनु हो भनेर कलाकारले बुझ्न सक्नुपर्ने उनको धारणा छ । यो तथ्यलाई मनन गर्नुपर्नेमा कोमल जोड दिन्छिन् ।

त्यसो त अहिले आफू स्टेजमै जाँदा पनि कतिपय कलाकारले फरक नजरले हेर्ने गरेको उनी सुनाउँछिन् । कलाकारभन्दा पनि नेत्री हो भन्ने नजरले हेर्ने र त्यो मनोविज्ञानले काम गरिरहेको उनले बुझेकी छन् । “एकदुईवटा कार्यक्रममा जाँदा उहाँ यो पार्टीको हो भनेर दूरी कायम गर्ने खालको मैले देखेको छु,” कोमल स्पष्ट पार्छिन्, “उहाँहरूले कुरा नबुझेर हो । म राजनीतिमा हुनु भनेको सांगीतिक क्षेत्रका लागि झन् राम्रो हो ।” यो सत्यलाई विस्तारै धेरैले बुझ्नेमा भने उनी ढुक्क छिन् ।

कतिपय सन्दर्भमा जनस्तर र समकालीनले सामान्य रूपमा नलिए पनि नेतृत्वले सहज बनाइदिँदा छुट्टै अनुभूत हुने गरेको कोमललाई स्मरण छ । 

जस्तै ?

एमाले र माओवादी एकीकरणको प्रयास भइरहेको थियो । पार्टी संसदीय दलको दोस्रो बैठक थियो । केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो । उनले रोस्ट्रमबाट कोमलको गीतका केही शब्द सापटी लिँदै भने– अबचाहिँ खोइ केजाति जान पाम... पाम... पाम... भनिरहनु पर्दैन । “अध्यक्षज्यूले पोइल भन्ने शब्द त प्रयोग गर्नु भएन, तर मनोवैज्ञानिक रूपमा हामीलाई एकै ठाउँमा बस्ने वातावरण बनाउन मेरो पोइल जान पाम... पाम... पाम... भन्ने गीतको शब्द लिएर बोल्नुभएको थियो,” उनी भन्छिन्, “यस्ता सम्बोधन र गीतसंगीतप्रति शीर्ष नेतृत्वले चासो र प्रभाव बुझ्दा सांगीतिक क्षेत्रप्रतिको मोह र लगाव झन् बढेर आउँछ ।”

कोमलले अहिले सांगीतिक क्षेत्रलाई कति समय दिइरहेकी छिन् र त्यसको कारण के हो त्यो प्रस्ट भइसकेको छ । ‘ग्रे कलर’को राजनीतिमा जति रंगिए पनि उनमा रहेको कलाको रङ धमिलिएको छैन । त्यसैले त उनी कुराकानीको पोयो बिट मार्दै भन्छिन्, “म जिल्ला अधिवेशन सकेर केही दिनमा काठमाडौं फर्किएर एउटा गीत रेकर्ड गर्दै छु, जेम्स प्रधानले तयार पार्नुभएको गीत धेरैले मन पराउनुहुनेछ भन्ने लागिरहेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro