site stats
बाह्रखरी :: Baahrakhari
खेल
यूएई एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा छनोट

काठमाडौं । फाइनलमा घरेलु टोली ओमानविरुद्ध ५५ रनको जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (यूएई) एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा छनोट भएको छ ।

आइतबार ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा यूएईले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टिमले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १४९ रनमात्र बनाउन सक्यो ।

Argakhachi Cement Island Ad

ओमानका प्रतीक अथावालेले ४९ रन बनाए पनि टिमको हार टार्न सकेनन् । खालिद कैलले ३०, फयाज बटले २३, कप्तान जिसान मक्सुदले १४ रफिउल्लाहले ११ रन थपे ।

ओमानलाई सस्तैमा रोक्न यूएईका जुनैद सिद्दिकीले तीन विकेट लिए । मोहम्मद फारुक र अयान अफजल खानले समान दुई विकेट लिदा बसिल हमेदले एक विकेट हात पारे ।

त्यसअघि कप्तान मुहम्मद वसिमले शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो । 

यूएईका वसिमले ५४ बलमा ६ चौका र सात छक्कासहित १०० रन बनाएका थिए । आसिफ खानले ३८ र अलिशान सरफुले ३४ रन थपे ।

ओमानका बिलाल खानले दुई विकेट लिदा सकिल अहमेद र जिसान मक्सुदले एक-एक विकेट हात पारे ।

पाँच टेस्ट राष्ट्र र एक एसोसिएट गरि कुल ६ टिमले प्रतिस्पर्धा गर्ने एसिया कपको आगामी संस्करण ट्वान्टी-२० संरचनामा हुनेछ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्