site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगानी सम्मेलनको यस्तो छ दुईदिने कार्यतालिका

काठमाडौं । यही वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

लगानी बोर्डको कार्यालयले दिएको जानकारीअनुसार, पहिलो दिन उद्घाटनसत्रसँगै दुई विशेष सत्र सञ्चालन गरिनेछ । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुई सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीन समानान्तरसत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीन समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ ।

दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ ।

यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी र नेपालको निर्यात प्रवर्द्धनका निम्ति कृषि प्रशोधनमा आधारित आपूर्ति शृंखलाबारे छलफल हुनेछ । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यावसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ ।

‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन काठमाडौंस्थित सोल्टी होटेलमा आयोजना गर्ने गरी स्थान तय भइसकेको छ । सम्मेलनका निम्ति १५० हाराहारी आयोजना ‘सोकेस’मा लैजाने तयारी छ । लगानी बोर्डले १२५ आयोनजा ‘सोकेस’मा लैजाने तयारी गरिरहेकामा अहिले निजी क्षेत्र, प्रदेश र स्थानीय तहका समेत केही आयोजना थपिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

“निजी क्षेत्र, प्रदेश र स्थानीय तहबाट समेत सोकेसका लागि प्रस्ताव गरिएका आयोजना समेत गरेर १५० हाराहारी पुगेका छन् । निजी क्षेत्र र स्थानीय तहका आयोजनाबारे जानकारी दिने छुट्टै कक्ष र उहाँहरूकै जनशक्ति खटाइनेछ,” प्रवक्ता उपाध्यायले भने, “कुन प्रदर्शनीकक्षमा कस्ता आयोजना राख्ने, त्यसको व्यवस्थापन कसरी गर्ने र लगानीकर्तालाई आयोजनाबारे अधितम जानकारी कसरी दिन सकिन्छ भनेर पूर्वतयारी चलिरहेको छ ।” लगानी सम्मेलनस्थलमा २२ देखि २५ कक्ष रहने गरी तयारी भइरहेको उनको भनाइ छ ।

सम्मेलनका निम्ति अब १२ दिन मात्र बाँकी छ । सम्मेलनस्थलको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा स्वयंसेवक परिचालन, विदेशी लगानीकर्तालाई विभिन्न आयोजनाबारे जानकारी दिनका लागि कक्ष व्यवस्थापनलगायत कामको पूर्वतयारी तीव्र बनाइएको उपाध्यायले जानकारी दिए ।

आइतबार बेलुकासम्ममा ३१ देशका २६० भन्दा बढी अतिथि सम्मेलनमा आउने निर्क्योल भइसकेको बोर्डले जनाएको छ ।

लगानी सम्मेलनका क्रममा तीन परियोजनाको विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट–पीडीए) गर्ने तयारी भइरहेको र अहिले विकासकर्ता कम्पनीसँग त्यसबारे वार्ता चलिरहेको प्रवक्ता उपाध्यायले बताए ।

सम्मेलनका क्रममा नेपाल–चीनमैत्री औद्योगिक पार्क, अपर मर्स्याङ्दी–२ जलविद्युत् आयोजना, कोहलपुर तथा वाणगंगा सौर्य ऊर्जा आयोजनाको पीडीए सम्झौता हुँदै छ ।

यस्तै, डावर नेपाल प्राइभेट लिमिटेडसँग आयोजना लगानी सम्झौता (प्रोजेक्ट इन्भेस्टमेन्ट एग्रिमेन्ट–पीआईए)को तयारी छ । लगानी सम्मेलनअघि प्रधानमन्त्रीको अध्यक्षतामा रहने लगानी बोर्डको बैठक बस्ने तयारी भइरहेको पनि बोर्डले जनाएको छ ।

सम्मेलनमार्फत विभिन्न २० आयोजनाका निम्ति लगानीकर्तासँग आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–इओआई) माग गरिँदै छ । यस्तै, अगाडि बढाउन सकिने सम्भावित आयोजनाका रूपमा ‘मार्केट साउन्डिङ प्रोजेक्ट’ ६ वटा, आयोजना पहिचानको प्रारम्भिक चरणका ३३, वित्तीय लगानी जुटाउने अवस्थाका २० लगायत आयोजना सोकेसमा लगिँदै छ । रासस

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro